पछिल्लो राष्ट्रिय जनगणना अनुसार देशमा ०.९२ प्रतिशतको दरले जनसंख्या बढिरहेको छ । जनसंख्या वृद्धिसँगसँगै शहरीकरण बढिरहेको छ र शहरमा बस्ने जनसंख्या पनि बढिरहेको छ । हालै राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपालको ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण’ नामक प्रतिवेदन अनुसार शहरमा बस्ने जनसंख्या दश वर्षको अवधिमा २२.३१ प्रतिशतबाट बढेर २७.०७ प्रतिशत पुगेकोे छ भने गाउँमा बस्ने जनसंख्या भने ३८.५० प्रतिशतबाट घटेर ३३.१९ प्रतिशतमा सीमित हुनपुगेको छ । यसैगरी शहरोन्मुख जनसंख्या चाहिँ थोरै संख्यामा बढेर ३९.१९ प्रतिशतबाट ३९.७५ प्रतिशत पुगेको छ ।
शहरमा बस्ने जनसंख्या बढेसँगै देशको संघीय राजधानी काठमाडौंमा जनचाप अत्यधिक बढेको छ । राष्ट्रिय जनगणना अनुसार उपत्यकाका तीन शहर काठमाडौं, भक्तपुर र ललितपुरको कूल जनसंख्या ३० लाख २५ हजार रहेको छ भने यहाँको औसत जनघनत्व ३ हजार ४०० प्रतिवर्गकिलोमिटर रहेको छ । यद्यपि अनौपचारिक तथ्यांक अनुसार देशभरिबाट आएर यहाँ अस्थायी रूपमा बसिरहेको जनसंख्यासहित यहाँको कूल जनसंख्या झण्डै ६० लाख पुगेको अनुमान छ । गाउँका आर्थिक दृष्टिले सक्रिय धेरै युवा शिक्षा र रोजगारीको खोजीमा संघीय राजधानी शहर पसेका छन् भने अरू धेरै विदेश भासिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या निकै बढेको छ । दैनिक दुई हजारको हाराहारीमा नेपाली युवा वैदेशिक रोजगारीका लागि गइरहेका छन् ।
वैदेशिक रोजगारीका कारण केही हदसम्म औसत नेपालीको आम्दानी र क्रयशक्ति बढेको छ । आम्दानी बढेसँगै गाउँ छोडेर शहर पस्ने र शहरमै बस्ने प्रवृत्ति पनि बढेको छ । राज्यले प्रदान गर्ने सेवासुविधा सहजै उपभोग गर्ने, सन्तानको शिक्षादीक्षा, उज्ज्वल भविष्यका लागि भन्दै शहर पस्ने र शहरमै बस्ने प्रवृत्ति पछिल्लो समय हृवात्तै बढेको छ । त्यसैले शहरीकरणले तीव्रता लिएको छ भने गाउँ रित्तिने क्रम बढेको छ । गाउँमा बुढाबुढीमात्रै बाँकी छन् । जसले गर्दा काम गर्ने मान्छेको अभावमा उब्जाउ जमिन बाँझै पर्न थालेको छ र उत्पादन घट्न थालेको छ । गाउँकै मान्छेमा पनि शहरबाट आएको खाद्यान्न किनेर खाने बानी परेको छ ।
ट्राफिक व्यवस्थापनका अनेक उपाय अपनाउँदा पनि जामको समस्या हल हुन सकेको छैन । बढ्दो जनसंख्या, बढ्दो सवारीसाधन र सीमित सडक सञ्जालले गर्दा उपत्यकामा यातायात प्रणालीमा सुधार र ट्राफिक व्यवस्थापन निकै ठूलो चुनौती बनेको छ ।
उता शहरमा उत्पादन, आपूर्ति र उपभोगबीच सन्तुलन नहुँदा महँगी अकासिएको छ । तैपनि सुविधाभोगी मान्छेहरू शहर पस्न छोडेका छैनन् र शहर पसेका मान्छेहरूले शहर छोड्न सकेका छैनन् । यहीँ संघर्ष गर्न राजी छन् तर गाउँ फर्कने इच्छा छैन । त्यसैले शहरमा जनघनत्व निकै बढेको छ । मान्छेको भिडसँगसँगै मान्छेकै सुविधाका लागि चल्ने यातायातका साधनहरूको चापले गर्दा यातायात प्रणाली अत्यन्तै अस्तव्यस्त हुन थालेको छ । आर्थिक सर्वेक्षण २०७९/०८० मा उल्लेख भए अनुसार देशभरका सबै प्रकारका सवारीसाधनको संख्या ५२ लाख ६० हजार पुगेको छ ।
यसमध्ये काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनको संख्या १५ लाखभन्दा बढिरहेको छ तर सडकको लम्बाइ २ हजार १ सय किलोमिटरको हाराहारीमा मात्रै छ । यति थोरै सडकमा गुड्ने १५ लाखभन्दा बढी सवारीसाधनमध्ये १३ लाखभन्दा बढी दुईपांग्रे सवारीसाधन छन् । थोरै सडक सञ्जाल र धेरै सवारीसाधनले गर्दा उपत्यकामा ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गएको सत्य नै हो । सडकमा हुने दुर्घटनाबाट हुने मानवीय क्षति पनि वर्षेनी बढिरहेको छ । साथै थोरै सडक सञ्जाल र धेरै सवारीसाधनले गर्दा उपत्यकामा बिहान तथा बेलुका कार्यालय समयमा ट्राफिक जाम पनि निकै ठूलो समस्याको रूपमा देखिएको छ ।
ट्राफिक व्यवस्थापनका अनेक उपाय अपनाउँदा पनि जामको समस्या हल हुन सकेको छैन । बढ्दो जनसंख्या, बढ्दो सवारीसाधन र सीमित सडक सञ्जालले गर्दा उपत्यकामा यातायात प्रणालीमा सुधार र ट्राफिक व्यवस्थापन निकै ठूलो चुनौती बनेको छ । जाइकाले सन् २०१७ मा काठमाडौं उपत्यकाको शहरी यातायात सुधारको विषयमा गरेको एक अध्ययन प्रतिवेदन अनुसार नेपालका २८ प्रतिशत मान्छेले सार्वजनिक सवारीसाधनको प्रयोग गर्छन् भने ४१ प्रतिशतले पैदलयात्रा गर्छन् । अनि ३१ प्रतिशत मान्छेले मोटरसाइकल, कारजस्ता निजी सवारीसाधन प्रयोग गर्छन् । यसरी ठूला सार्वजनिक सवारीसाधनभन्दा साना निजी सवारीसाधन बढी प्रयोग हुने भएकाले ट्राफिक व्यवस्थापनमा चुनौती बढेको विज्ञहरूको विश्लेषण छ ।
यस्तै बेलामा उपत्यकाको यातायात प्रणाली सुधार गर्ने र ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले अटोरिक्सा, ईरिक्सा र ठेलामा रोक लगाउने निर्णय गरेको जनाइएको छ । यो रोक गरिबको रोजीरोटीको साधन र गरिबले प्रयोग गर्ने अटो रिक्सा, ईरिक्सा र ठेलामाथि मात्रै किन ? यी साधनले मात्रै काठमाडौंको यातायात प्रणालीमा समस्या खडा गरेका हुन् र ? लाखौंको संख्यामा रहेका कार र मोटरसाइकलले समस्या खडा गरेका छैनन् र ? नयाँ कार र मोटरसाइकल आयात र बिक्री-वितरणमा किन रोक लगाउन सकिएन ? किनभने यीमाथि रोक लगाउने हिम्मत सरोकारवाला निकायमा छैन । गरिब र निमुखालाई दमन गरेजस्तो सम्भ्रान्तहरूमाथि नियन्त्रण अथवा नियम लाद्न सजिलो पनि छैन ।
अटोरिक्सा, ईरिक्सा र ठेला केही गरिबका पेट पाल्ने साधन हुन् । त्यसैले यी सवारी साधनमा लगाइएको रोकले गरिब श्रमिकको पेटमा लात हान्ने काम मात्रै गर्नेछ । रिक्सा, ठेला, कार, मोटरसाइकल सबै गुड्ने र चढ्ने साधन हुन् । फरक यत्ति हो कार र मोटरसाइकल सम्भ्रान्तहरूले चढ्ने वस्तु हुन् भने रिक्सा र ठेला चाहिँ तिनै कार र मोटरसाइकल चढ्ने सम्भ्रान्तहरूका घरघरमा आवश्यक मालसामान पु¥याउने साधन हुन् । कार र मोटरसाइकल सम्भ्रान्तहरूले आफ्नो सुख र सुविधाका लागि चढ्ने वस्तु हुन् भने रिक्सा र ठेला चाहिँ गरिबहरूले आफ्नो पेट पाल्न अरूकै सुख-सुविधाका लागि चलाउने वस्तु हुन् । गरिबका रोजीरोटीका साधन हुन् रिक्सा र ठेला ।
चिल्ला कार र मोटरसाइकल शहरको शोभा र खस्रा रिक्सा र ठेला चाहिँ शहरको शोभामा लाग्ने दाग होइनन् । त्यसैले कार र मोटरसाइकल जति चलाए पनि हुन्छ तर रिक्सा र ठेला चलाउन पाइँदैन भन्नु न्यायोचित होइन । शहरमा जनसंख्या सँगसँगै बढेका कार र मोटरसाइकलले जतिसुकै र जस्तोसुकै समस्या सिर्जना गरे पनि तिनलाई कुनै बहानामा रोक लगाउन नसक्ने सरकारले गरिबको रोजीरोटी नै खोसिने गरी रिक्सा, ईरिक्सा र ठेलामा रोक लगाउनु न्यायोचित हुँदै होइन ।
जसरी पनि सम्पन्न भएका सम्भ्रान्तमात्रै बस्ने हो शहरमा र सम्भ्रान्तहरूको दैनिकीमा असर पार्ने र शहरका सौन्दयमा दाग लाग्ने गरिबहरूको उपस्थिति शहरमा हुनु नै हुँदैन भन्ने सोच हो भने त्यो पनि गलत छ र निन्दनीय छ ।
यातायात प्रणालीलाई सुधार गर्ने भन्दै अटो रिक्सा, ईरिक्सा र ठेलामाथि रोक लगाउने निर्णय पक्षपाती छ । लाखौंको संख्यामा चल्ने कार र मोटरसाइकलका कारण सिर्जना भएको ट्राफिक व्यवस्थापनको समस्याको दोष दुई चार सय वा हजारको संख्यामा रहेका रिक्सा, ईरिक्सा र ठेलामाथि थोपरेर तिनलाई रोक लगाउने पक्षपाती र अविवेकी निर्णयले गरिबको नागरिक हकलाई कुण्ठित बनाउने निश्चित छ ।
सडकमा हिँड्ने गरिब र सडकमा गुड्ने गरिबका साधनमाथि प्रतिबन्ध लगाए सडक सिनित्त हुन्छ र शहर सुन्दर बन्छ भनेरै होला शहरमा सबैभन्दा पहिला सडकमा व्यापार गर्ने गरिब व्यापारीलाई हटाउने काम भयो । मगन्तेरहित शहर बनाउने भन्दै सडकमा मागेर बस्ने गरिबलाई पनि हटाइयो । अब गरिबले दैनिक कमाइ गर्ने रिक्सा र ठेलामाथि पनि प्रतिबन्ध लगाइँदैछ । शहरलाई सुन्दर बनाउने सपनाले गरिबका सपनामाथि कुठाराघात हुँदैछ । शहर सम्भ्रान्तहरूको मात्रै होइन, गरिबहरूको पनि हो । गरिबले पनि शहरमा बनिबुतो गरेर खान र बाँच्न पाउनुपर्छ ।
जहाँ र जताबाट पनि गरिबलाई शहरबाट विस्थापित गर्ने घटनाहरूले शहरमा त ठूला नेताहरू बस्ने हो, नेताका आसपासेहरू बस्ने हो, राजनीतिक दलका लम्पट कार्यकर्ता बस्ने हो, राजनीतिक दलका झोलेहरू बस्ने हो, भ्रष्ट कर्मचारीहरू बस्ने हो, लुच्चा व्यापारीहरू बस्ने हो र तस्करी, माफिया, डन र गुन्डाहरू बस्ने हो भन्ने आशंकालाई पुष्टि गर्न खोजिरहेको छ । चिल्ला कार चढ्ने, उस्तै चिल्ला मोटरसाइकल चढ्ने, महँगा लुगा लगाउने र जिउमा महँगा अत्तर छर्केर हिँडनेहरू मात्रै शहरका सौन्दर्य हुन्, जो ठूल्ठूला सपिङमलमा सपिङ गर्छन् । क्युएफएक्स हलमा गएर सिनेमा हेर्छन् । ठूल्ठूला रेष्टुरेन्टमा गएर खान्छन् । गरिबलाई शहरमा ठाउँ छैन भन्ने सोच हो भने यो सरासर गलत छ र निन्दनीय छ ।
जसरी पनि सम्पन्न भएका सम्भ्रान्तहरू मात्रै बस्ने हो शहरमा र सम्भ्रान्तहरूको दैनिकीमा असर पार्ने र शहरका सौन्दयमा दाग लाग्ने गरिबहरूको उपस्थिति शहरमा हुनु नै हुँदैन भन्ने सोच हो भने त्यो पनि गलत छ र निन्दनीय छ । गरिबीले चाउरिएका, फाटेको लुगा लगाउने, दिनभरि मिहिनेत गरेर पसिना बगाउने र त्यही पसिना गनाउने किसान र मजदुरहरू सकेसम्म शहरमा बस्नै हुँदैन । शहरको सौन्दर्यमा दाग लाग्छ र सम्भ्रान्तहरूको दैनिकीमा बाधा पुग्छ भन्ने सोच नै आफैंमा दरिद्र छ ।
यस्तो दरिद्र सोचले शहरको सुख, सुविधा र सम्पन्नता दिगो हुन सक्दैन । मगन्तेरहित शहर भनेर पहिल्यै घोषणा गरिएकै हो । अब गरिबरहित शहर अथवा सम्भ्रान्तहरूको शहर भनेर घोषणा गर्ने सपना हो भने छिट्टै गरिबहरूको गाउँको पनि घोषणा गरियोस् । जहाँ शहरका सम्भ्रान्तहरू जस्तो दिनदिनै कुकर्म गरेर महासम्भ्रान्त अर्थात् महासामन्त बन्ने सपना नदेखी दुःखसुख बाँडीचुँडी मिलेर बाँच्न पाइयोस् । शहरको सुखभन्दा गाउँको दुःख नै प्रिय छ गरिब जनतालाई, जहाँ दुःखको महसुस नै हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच