काठमाडौं । चालु आर्थिक वर्षको २०८०/०८१ को पाँच महिना अर्थात् साउन-मंसिरमा शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा रहेको थियो ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा एक अर्ब ५८ करोडले बचतमा रहेको छ । २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले वृद्धि भई २०८० मंसिरमा १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० मंसिरमा १३.६ प्रतिशतले बढेर १३ अर्ब ३१ करोड पुगेको छ ।
पाँच महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० मंसिर १५.६ प्रतिशतले बढेर १५ खर्ब ५६ अर्ब २५ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्थासँग विदेशी विनिमय सञ्चिति २०८० असारमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० मंसिरमा ८.९ प्रतिशतले बढेर दुई खर्ब १० अर्ब ७९ करोड कायम भएको छ । २०८० मंसिरको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ । २०८० मंसिरमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ३२.८, ९८.३ र २७.५ प्रतिशत रहेका छन् । २०८० असार यी अनुपातहरू क्रमशः २८.६, ८३.० र २५.१ प्रतिशत रहेका थिए ।
समीक्षा अवधिमा चालु खाता एक खर्ब ४० अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ । वैदेशिक लगानी तीन अर्ब ९२ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक थियो ।
पाँच महिना ६ खर्ब १३ अर्ब रेमिट्यान्स
रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले बढेर छ खर्ब १३ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २४.५ प्रतिशतले बढेर चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ७३ हजार पाँच सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख चार हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ३६ हजार सात सय ७९ र एक लाख १५ हजार नौ सय ४८ रहेको थियो ।
६ प्रतिशत भन्दा बढीले घट्यो निर्यात
आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटेर ६३ अर्ब २१ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४.६ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ११.३ प्रतिशतले घटेको छ भने भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ र २.३ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, पोलिस्टर धागो, तयारी पोशाकलगायतको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैँचा, रोजिनलगायतको घटेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा कुल वस्तु आयात ३.४ प्रतिशतले घटेर छ खर्ब ४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ र २८.४ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एमएस तार, छड, बार
तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जालगायतको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धानलगायतको आयात घटेको छ ।
आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु व्यापारघाटा ३.१ प्रतिशतले घटेर पाँच खर्ब ७९ अर्ब रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.१ प्रतिशत थियो ।
मूल्यवृद्धि पाँच प्रतिशत नजिक
२०८० मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत रहेको छ ।
२०८० मंसिरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप-समूहमा रहेका वस्तुको मूल्यमा कमी आएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुईपटक घटाएको तथा २०८० कात्तिकको तुलनामा मंसिरमा तरकारी, फलफूल, मरमसला, चिनी जस्ता वस्तुको मूल्यमा कमी आएकोले मुद्रास्फीतिमा कम चाप पर्न गएको बताइएको छ ।
मंसिरमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२, तराई ४.२६, पहाड ५.४२ र हिमालको ७.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ६.५६, ८, ७.३२ र ६.४८ प्रतिशत रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच