इलाम-२ को एक स्थानका लागि संघीय संसद् र बझाङ प्रदेशसभा एक स्थानको उपनिर्वाचन हालै सम्पन्न भएर त्यसको परिणामसमेत प्राप्त भइसकेको छ । यी दुवै ठाउँमा नेपाल कम्युनिष्ट पार्टी एमालेले विजय हासिल गरेको छ । वर्तमान सरकारमा प्रतिनिधित्व गरिरहेका दलहरूले यस उपनिर्वाचनमा गठबन्धन गर्न सकेनन् । गठबन्धन गर्न असफल भए पनि सबैभन्दा ठूला दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रका बीचमा चुनावी एकता भयो, दुवै स्थानमा एमालेका उम्मेदवार विजयी हुन पुगे । तर, बझाङ प्रदेशसभामा भने एक्ला-एक्लै चुनावमा सहभागिता थियो र झिनो मततान्तरले मात्र एमालेका उम्मेदवार विजयी हुनुभयो । तुलनात्मक रूपमा माओवादी केन्द्र एमालेको भन्दा निकै पछाडि स्थानमा रहेको छ । गत २०७९ को निर्वाचनमा एमालेको भन्दा करिब चालीस प्रतिशत जतिमा मात्र विजयी भएर प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेको हुनाले पनि हुनसक्छ इलाम दुईको उपनिर्वाचनमा माओवादीले आफ्नो दाबी छोडिदियो र नेकपा एमालेकै उम्मेदवारलाई समर्थन गर्नपुग्यो ।
यस कारण यी दुई स्थानको परिणाम एमालेका पक्षमा आउन निकै सहज भयो । त्यसो त नेकपा एमाले अरूको तुलनामा मजबुत राजनीतिक पार्टी पनि हो । २०७९ सालको निर्वाचनमा यसले प्राप्त गरेको परिणामले यसको पुष्टि गरेको छ । नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीलगायत पाँच पार्टीहरूले चुनावी गठबन्धन गरेको बेलामा समेत एमाले दोस्रो पार्टीका रूपमा स्थापित हुन पुगेको थियो । त्यसमा पनि एमाले नेपाली कांग्रेसभन्दा केही पछाडि र माओवादी केन्द्रभन्दा धेरै स्थान अगाडि परेको थियो । यसै पनि समानुपातिक मत परिणामलाई हेर्ने हो भने एमालेको अग्रस्थान छ । एमालेलाई संगठन केन्द्रित पार्टी मानिन्छ, यो नेपाली कांग्रेसजस्तो मास पार्टी मानिँदैन । त्यस अर्थमा एमालेलाई संगठन राम्रो भएको पार्टीका रूपमा हेर्ने गरिएको हो ।
बझाङको जस्तै गरी इलाममा पनि निर्वाचनमा एमाले र माओवादी दल आफ्नै बलमा उत्रिएका भए परिणाम फरक हुनसक्थ्यो । सरकारमा संलग्न भएर पनि जुन पार्टीहरू चुनावमा छुट्टै उम्मेदवारी दिन पुगे तिनको अवस्था कमजोर देखिन आयो । यसलाई विभिन्न अर्थमा बुझ्न सकिन्छ । पहिलो ती दलहरूले बाहिर आफ्नो पार्टीको उम्मेदवार दिएर पनि भित्री रूपमा एमालेकै उम्मेदवारलाई सघाएको हुनसक्छ । यदि यसो गरेको हो भने तिनले आफ्नो दलका उम्मेदवारहरूप्रति ठूलो विश्वासघात गरेको र धोका दिएको मान्नुपर्ने हुन्छ । तर, निर्वाचनमा प्राप्त मत परणिामका आधारमा त्यस्तो शंका गर्ने ठाउँ देखिँदैन । जस्तो परिणाम आएको देखिएको छ यथार्थ पनि त्यही हो भनेर मान्नुपर्दछ । प्रकट परिणामलाई हेर्दा माधवकुमार नेपाल नेतृत्वको पार्टीको हैसियत खास देखिँदैन । इलामको निर्वाचन परिणामलाई नहुँसँग तुलना गर्दै आक्रामक र तामझामसहित उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको हैसियत उपस्थित हुनुमा मात्रै सीमित भएको छ । इलाममा पहिचानका नाममा उठेका उम्मेदवार भने निकै प्रभावशाली प्रमाणित भएका छन् । खासगरी पहिचानवादीका नाममा धरानका मेयर हर्क साङपाङको समर्थनले इलामको परिणामलाई पृथक रूप दिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको मत हेर्दा उसको उपस्थिति जति कमजोर छ भविष्यमा यसको हालत सुधार हुने अपेक्षा गर्ने ठाउँ रहेको देखिएन । राप्रपाले अरू कुनै दललाई सहयोग गरेको कुरा पनि त्यति विश्वसनीय छैन । राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत हेर्दा पनि यस्तै आँकलन गर्न सकिन्छ । यदि यसो होइन भने रास्वपा एक पटक खहरे खोलो जसरी हृवात्त आएर अब बिस्तारै सुक्न थालेको संकेत मिल्छ । यस निर्वाचनले संकेत गरेको अर्को कुरा हो राजनीतिक विरासतको । राजनीतिमा बाबुबाजेपछि छोरानातिले उनीहरूको राजनीतिक बिँडो थाम्नुपर्ने अवस्था एमालेमा पनि देखिन आयो । यस्तो पहिले पनि देखिएको थियो र अहिले त्यसले निरन्तरता पाएको छ । राजनीतिमा कुनै योगदान नभएका यस्ता मानिसहरू अगाडि आउनु भनेको सम्बन्धित क्षेत्रका अन्य सदस्यहरूलाई निरन्तर रैती बनाई राख्ने मेसोमात्रै हो । पार्टीका नेताहरूले बाबुको, श्रीमान्को वा आफन्तजनको विरासतलाई नै निरन्तरता दिन लागेपछि हिजो देश एउटा राजाको विरासतमा चलेजस्तै अब बहुराजाहरुको विरासत भएको अनुपम उदाहरण स्थापित हुँदैछ ।
नेपाली राजनीतिक इतिहासमा सुवास नेम्वाङको जुन योगदान छ त्यस प्रकारका योगदान न उहाँको छोरामा छ न त भोलिका दिनमा त्यो अपेक्षित हुनसक्छ । यसलाई सरकारमा रहेका पार्टीहरूले खुशीको विषय बनाइरहेका भए पनि लोकतान्त्रिक गणतन्त्रका लागि यो विडम्बनाको विषय हो । इलाममा एमालेले र बझाङमा कांग्रेसले सहानुभूतिको मत जोड्ने निहुँमा यसपटक पनि सामन्ती आचरण प्रकट गरेका छन् । अर्कोतिर उपनिर्वाचन भएका इलाम र बझाङका क्षेत्रहरूमा जित्नका लागि सरकारमा भएका र प्रतिपक्षमा रहेका पार्टीहरूले समेत जीवन मरणको प्रश्न बनाए । यी दुई ठाउँको मतपरिणामले राष्ट्रिय राजनीतिमा त्यति ठूलो तात्विक भिन्नता हुने थिएन । तर ती दलहरूले किन यत्रो ठूलो संघर्ष यी ठाउँहरूमा गर्न पुगे ? के प्रतिष्ठाकै विषय थियो त ? प्रश्न छ । प्रश्न जे भए पनि एमालेका लागि भने इलामको त्यो क्षेत्र प्रतिष्ठाकै विषय भएको मान्नुपर्ने हुन्छ ।
सरकारमा भएका पार्टीहरूले यसका लागि सरकारी संशाधनको समेत उपयोग गरे भने बलियो प्रतिपक्ष नेपाली कांग्रेसको ध्यान पनि त्यहाँ हरदम केन्द्रित भइरहृयो । त्यहाँको जितहारले अर्को पटकको निर्वाचनका लागि आधारभूमि बलियो हुने एउटा अपेक्षा भने ती दलहरूको हुनसक्छ । जे होस् अब यो उपनिर्वाचन समाप्त भइसकेको र परिणामसमेत प्राप्त भइसकेको अवस्थामा यसको यथार्थ समीक्षा गर्नुबाहेक कुनै औचित्य छैन तर जेजस्तो परिणाम आइसकेको भए पनि अबका दिनहरूमा त्यसलाई स्वीकार गरेर र आ-आफ्नो दलको राजनीतिक हैसियतको विश्लेषण गरेर अगाडि बढ्दा सबैको हित हुन जान्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच