टुंगियो परिजिताको ‘द भ्वाइस’को फाइनल पुग्ने यात्रा

Read Time = 3 mins

काठमाडौं । अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसको सेमिफाइनलबाट नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला बाहिरिनुभएको छ । उहाँले अमेरिकाको अति उच्च प्रतिस्पर्धा हुने द भ्वाइसको सेमिफाइनलसम्मको यात्रा तय गर्नुभएको थियो तर परिजिता टप आठ प्रतियोगीका बीचको प्रतिस्पर्धामा बटम फोरमा पर्नुभएको थियो ।

त्यसमा पर्ने चारजनामध्येबाट एकजना छनौटमा पर्ने गर्छन् । जम्मा पाँच मिनेटको समय दिएर पुनः भोटिङ खुला गरिन्छ । यसो गर्दा परिजिताले अरू तीनजनाभन्दा बढी मत प्राप्त गर्न सकिक्नु भएन । टप आठको प्रतिस्पर्धाका लागि डिसेम्बर ५ मा हलिउडमा भएको गायन प्रस्तुतिमा परिजिताले गाएको ‘अनस्टवेवल’ बोलको गीतबाट प्रभावित भएर द भ्वाइसका जजहरुले स्ट्ण्डिङ ओवेसन पनि दिएका थिए ।

उहाँलाई जिताउन उहाँको अमेरिकास्थित गृह राज्य मेरिल्याण्डका स्थानीय व्यक्तिहरू, राजनीतिकर्मी तथा समाजसेवीहरूले अभियान नै चलाएका थिए । मेरिल्याण्डका गभर्नर ल्यारी होगनलेसमेत उहाँको प्रशंसा गर्दै जितको शुभकामना दिनुभएको थियो । उहाँको विजयका लागि नेपाली मूलका व्यक्तित्वहरूको नेतृत्वमा भएका सबैजसो संघसंस्थाले परिजिताई भोट गरौं भन्ने अभियान नै चलाएका थिए । सेमिफाइनलसम्म पुगे पनि परिजिताले अमेरिकामा नेपाली प्रतिभाको निकै राम्रो परिचय दिनुभएको छ ।

भ्वाइस जितेर हलिउडमा नेपालको नक्सा चिनाउने उहाँको अठोट तत्कालका लागि पूरा नभए पनि हरेक इपिसोडमा निकै शक्तिशाली प्रस्तुति दिएर उहाँले नेपाल र नेपालीको परिचय भने भरपुर दिनुभएको छ । उहाँ आफ्ना हरेक प्रस्तुतिमा नेपालीपनका साथ प्रस्तुत हुनुभएको थियो । उहाँको परिवार नेपालको झापाबाट अमेरिका बसाइ सरेर गएको हो । उहाँ परिवारकी कान्छी छोरी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?