वर्तमान गठबन्धन पुराना दुई मित्रहरू केपी शर्मा ओली र माधवकुमार नेपालको घामछायामा परिणत हुँदैछ । वर्तमान सत्ता गठबन्धनको आवश्यकता नभएर आभूषणमात्र हुन पुगेको नेपाल कम्युनिष्ट पार्टी समाजवादीको कुनै भूमिका छैन । तैपनि कुनै पनि हालतमा केपीको सत्ता भरिया नहुन कसम खाएका नेपाल र नेपालको पूरा नाम भन्नु पर्दा मुख कुल्ला नगरी नहुने केपी ओलीका बीचमा सत्ताको चास्नीले लय जोडेको थियो । यो लय दुई महिनाको शिशु अवस्थामा नै छ । शिशु लयको समीक्षा गर्न ओली नेपाल यसबेला निकै आतुर देखिएका छन् । यस्तो समीक्षा कुनै सकारात्मक मनसायबाट प्रेरित छैन ।
नेपाली कांग्रेससँगको सहकार्य तोड्दा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट एकताको सपनाको बिस्कुन सुकाउँदै हुनुहुन्थ्यो । त्यही बिस्कुनको भरपर्दो रक्षक नेपाल कम्युनिष्ट पार्टी एमालेको विशाल पंक्ति देखिएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार प्रमाणित भएको नेकपा एमालेबाट अलग हुनुभएका माधवकुमार नेपालको नेकपा समाजवादी मान या नमान मै तेरा मेहमानको तीतो अनुभव गरिरहेको हुनुपर्छ यतिखेर । यस्तो तीतो अनुभव गर्नुपर्ने मूल कारण भने नेकपा समाजवादी आफैं हो ।
गठबन्धनको संस्कृति सत्तामोह, दलका बीचमा पर्याप्त जनमतको अभाव, संवैधानिक व्यवस्था अनेक कारणले बनिरहेको छ । शक्ति संघर्षका अनेकौं खेलका अभ्यासहरूले गठबन्धन संस्कृति विकास भएका छन् । विचार मिल्दा, मन मिल्दा वा तत्कालीन आवश्यकता पूरा गर्न र सत्ताको सान्दर्भिकता पुष्टि गरिरहने क्रममा गठबन्धन हुने गरेका प्रशस्त उदाहरण छन् । तर, गठबन्धनभित्रका शीर्ष नेताहरू नै यसरी सडकमा पाँडे गालीमा उत्रिएको अपूर्व उदाहरण भने नेपाली राजनीतिको घामछाया खेलअन्तर्गत भर्खर नेपाली माटोमा मिल्न लागेको छ ।
सत्ताको चुरोमा बस्ने नभएर बाहिर बोक्रे आवरण भएको नेकपा समाजवादीका प्रमुख माधवकुमार नेपालका विषयमा आमनागरिकको धारणा त्यति नकारात्मक छैन । एकपटकको होली वाइनको योजनाकार भनेर चर्चित भए पनि उहाँलाई शालीन नेता र अरूभन्दा अदुर्गन्धित नेता भन्ने गरिन्छ । तर, अनेक कसमका विपरीत उहाँ दुईजना मन्त्री र एकजना मुख्यमन्त्रीको ललिपपमा झुत्तिनु भएको दृश्य त्यति पाच्य मानिएको छैन । एमालेको बलियो आड, रास्वपा र जसपाको संख्यापरक उपस्थितिले माओवादी नेतृत्वको सरकारलाई कुनै अर्को टेको आवश्यक छैन । रास्वपा वा जसपा कुनै एक्लै बहिर्गमन गरे पनि सरकार गिर्नेवाला देखिँदैन । यसैकारण माधवकुमार नेपालको घुर्कीको, असन्तुष्टिको र आवेगको कुनै अर्थ देखिँदैन । जसपा र रास्वपा एकसाथ सरकार बाहिर पुगेर उनीहरूले समर्थन फिर्ता लिएमा मात्र दाहाल सरकारले पुनर्विचार गर्नुपर्ने हुन्छ । नेपालको घुर्कीको औचित्य त्यसबेलामात्रै स्थापित हुनेछ ।
समाजवादीका अध्यक्ष नेपाल अहिले पनि एमाले अध्यक्ष केपी ओलीसँग त्रस्त हुनुहुन्छ । ओलीमा सत्ता, शक्ति नेतृत्व हरपक्षमा देखिने सक्रियताले नेपाल आन्तरिक कुण्ठा अनुभव गरिरहनु भएको हुनसक्छ । कटाक्षकारी गुण ओलीमा नै छ । नेपाल कटाक्षगुणमा निकै कमजोर हुनुहुन्छ । उहाँ आफूलाई लागेको कुरा सिधा भन्नुहुन्छ । यही सिधा अभिव्यक्तिअन्तर्गत हालै नेपालले ओली लक्षित टिप्पणी गर्नु भएछ ः हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ । पोल्ने मान्छेहरू पनि छन् यो समाजमा । पोले पोलोस्, त्यस्ता प्रवत्ति बोक्नेहरूलाई धिक्कार छ ।
नेपालको यो भनाइ कता लक्ष्यित छ दोहोर्याउनु आवश्यक छैन । अहिलेको गठबन्धनको मुख्यकारण नै नेपाललाई प्रधानमन्त्रीबाट रोक्नु थियो भन्ने बुझ्न नेपाललाई केही समय लागेको हो कि ? नेपाली कांग्रेसले दुई वर्षको अवधि पूरा गरेपछि प्रचण्डको स्थानमा एक वर्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको थियो । त्यो प्रस्ताव अन्य कारणजस्तै गरी तत्कालीन समीकरण भत्काउने कारण बनेको थियो । आफ्नो पार्टीलाई बहुमत दिने अवस्थालाई लत्याएर पार्टी फुटाउने र अर्को पार्टी गठन गर्ने नेपाललाई रोक्नै पर्ने एमाले नेतृत्वको रणनीति स्वाभाविक थियो त्यसबेला र यसबेला पनि । सरकार गठनलगत्तै समर्थन माग्न र मन्त्री पद प्रस्ताव गर्न ओली नेपालगृहमा जानुका पछाडि प्रधानमन्त्री दाहालको राजनीतिमात्रै प्रतिबिम्बित थियो । सकेसम्म नयाँ गठबन्धनमा पनि माधवजीलाई जोड्न सकेमा अरू गैरकम्युनिष्ट दलहरूको धम्की खेपिरहनु नपर्ने सोच हुनसक्छ दाहालको । दाहालको सोच, बाध्यता जे भए पनि गठबन्धन र एमालेलाई भने माधवकुमार नेपाल सहभागिताको महत्व रहेको छैन । यसैकारण एमाले अध्यक्ष ओलीको कटाक्ष नेपालका लागि सुइरोजस्तो छ । तर उहाँ ओलीले प्रहार गरिरहेका सुइराहरूको वर्षा सहेर नै दुईस्थान मन्त्री र एउटा मुख्यमन्त्रीको लोभमा अड्किरहनु भएको छ ।
नेपालको सोचलाई मज्जासँग उडाउँदै र अस्वीकार गर्दै केपी ओलीले सार्वजनिक रूपमै टिप्पणी गर्नुभएको छ : प्रधानमन्त्री खान नपाएर हर्याक, हर्याक गरिरहनु भएको छ, दम लागेको बिरामीजस्तो । एकजना मान्छे दमको बिरामीले जस्तो हर्याक हर्याक गर्दैछन् । ओलीको यो टिप्पणीको सार नेपालबाहेक अरूले सहने कुरै छैन । उहाँसँग प्रतिक्रियामा जाने साहस पनि छैन । नेपालीमा एउटा उखान छ : इख नभएको छोरा र विष नभएको सर्पको कुनै काम छैन । नेपालमा जति गफ गरे पनि त्यस्तो इख देखिएन । कुण्ठाले मात्रै उहाँको यात्रा चलिरहेको छ । सत्तासुख गजबको हुन्छ । यो सुखानीभूति गराउने चास्नीमा अड्किएको मानिस फोहोरमा लोभिएको झिंगा अतिरिक्त हुनसक्दैन ।
ओली-नेपाल दन्तबझान्लाई हेर्ने हो भने माधवकुमार नेपालजस्तो आत्मसम्मानका लागि पचास वर्षभन्दा बढी संघर्ष गरेको नेतामा समेत आत्मसम्मान कुन चराको नाम भएको छ । ओलीका यी वचन सामान्य लाग्छन्, हलुका ठट्टामात्रै हुन् कि ? पहिलो कुरा त कुनै निर्णायक भूमिका बेगर नेपालले आफ्नो पार्टीलाई सत्तागृह प्रवेश गराउने काम गर्नुभयो त्यसले उहाँमा आत्मसम्मान विलोप भएको देखाउँछ । अर्को उहाँमा सत्तारहीत साथीहरूको समर्थन घट्ने वा पार्टीबाट एक-दुई गरी केस्राहरू झर्दै जाने भय पनि देखिन्छ । अन्यथा दन्तबझान् गर्दै र आत्मसम्मानविहीन भएर सत्ताको चास्नीमा माधव नेपालको पार्टी डुबिरहनुको कुनै औचित्य देखिँदैन । चास्नीमा पखेटा चोवलेर आत्मसम्मानको रक्षा हुनसक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच