सिएनआईद्वारा राप्रपा अध्यक्षसँग छलफल

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)का नवनिर्वाचित पदाधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ । नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले राप्रपा संसदीय कार्यालयमा छलफल गरेको हो ।

अध्यक्ष अग्रवालले सबै राजनीतिक दलले अर्थतन्त्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । निजी क्षेत्रको मनोबल घटेको, अर्थतन्त्र मन्दीमा रहेकाले सबै दलहरूले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै बजेटको प्रभावकारी कार्यान्वयन गराउनुपर्नेमा उहाँको जोड थियो । भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पिपिए खुला गरी निर्माणको वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष अग्रवालले भूतप्रभावी हुने गरी कर लगाउँदा लगानीकर्ता हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताउनुभयो । राप्रपा अध्यक्ष लिङ्देनले निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो नहुने भन्दै जलविद्युत् आयोजनाको पिपिए खुला गरिनुपर्ने माग गर्नुभयो । सो अवसरमा उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी सिएनआई टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग भेटवार्ता गरेको छ । अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायतका विषयमा छलफल गरेको हो । अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । मन्त्रीद्वय भण्डारी र मोदीले निजी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?