काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघ १० अर्ब बराबरको ‘इन्भेष्टमेन्ट कम्पनी’ स्थापनाको तयारीमा रहेको बताउनुभएको छ । बुधबार नेपाल घरजग्गा तथा आवास विकास संघको १७औँ साधारणसभामा उहाँले नेपालमा छरिएर रहेको पुँजी एक ठाउँमा संकलन गरी देशभरका उद्यमी व्यवसायीले लगानी गर्नसक्ने गरी १० अर्ब पुँजीको इन्भेष्टमेन्ट कम्पनी दर्ता गर्ने बताउनुभएको हो ।
ढकालले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सअन्तर्गतका व्यवसायी तथा अन्य व्यवसायीसमेत समेटेर कम्पनी स्थापना गरिने जानकारी गराउनुभयो । ठूला मेगा प्रोजेक्ट, ट्रान्समिसन लाइन, ठूलो बस्ती विकास, राजमार्ग, जलविद्युत्, पर्यटनलगायत सानो रकम अभावमा सम्पन्न हुन नसक्ने आयोजनामा लगानी गर्नसक्ने गरी कम्पनी स्थापना गर्ने उहाँको भनाइ थियो । ढकालले भन्नुभयो, ‘कुनै व्यवसायीले सानो रकम दुर्ई लाख लगानी गर्न चाहेमा त्यो रकम पनि स्वीकार गरेर पुँजी संकलन गरिनेछ । लगानी कम्पनीमा महासंघ सदस्यबाहेकका अन्य उद्योगी व्यवसायीले पनि लगानी गर्न सक्नेछन् ।
सर्वसाधारणबाट पैसा जम्मा गरेर आइपिओमा जानेभन्दा पनि ९० प्रतिशत रकम उद्योगी व्यवसायीबाट संकलन गरिनेछ ।’ कम्पनी स्थापनापछि ३५ देखि ४० अर्बका परियोजनामा लगानी गर्न सकिने अवस्था हुने भन्दै उहाँले कम्पनीमा धेरै पैसा हुनेले धेरै लगानी गर्छु भनेर नपाउने पनि बताउनुभयो । ढकालले लगानीका लागि निश्चित सीमा तोकिने र ७७ वटै जिल्लाबाट प्रतिनिधित्व गराइने जानकारी गराउनुभयो । नेपालमा सम्भावना छ भन्ने सन्देश दिने र साना–साना छरिएर रहेको पुँजीलाई एउटा ठाउँमा ल्याएर सम्भावित अवसरलाई सदुपयोग गरौँ भन्ने हिसाबले कम्पनी दर्ता गर्न लागिएको उहाँको भनाइ थियो ।
ढकालले भन्नुभयो, ‘सर्वसाधारणबाट पैसा उठाएर आइपिओमा जाने खालको कम्पनी होइन । १० प्रतिशत सर्वसाधारणलाई दिने बाँकी इक्विटीकै रूपमा पुँजी बनाएर १० अर्बको कम्पनी भयो भने कम्तीमा ३५ देखि ४० अर्बका आयोजनाहरू गर्न सकिन्छ । रुग्ण रहेका उद्योग प्रतिष्ठानहरूमा लगानी गर्न सकिन्छ । अन्य सम्भावित आयोजना समेट्न सकियोस् । हामीले वैदेशिक लगानीमात्रै भनेका छौँ । स्वदेशी पुँजीमा पनि काम हुनसक्छ ।’
नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले राष्ट्र बैंकले घरजग्गा कारोबारमा लिएको कठोर नीतिका कारण घरजग्गा व्यवसाय संकटमा परेको बताउनुभयो । जग्गा हदबन्दी, विदेशीले नेपालको अपार्टमेन्ट खरिद, जग्गा भोगाधिकार, जग्गा कित्ताकाट समस्या, अपार्टमेन्ट बिक्री, करको दायरा वृद्धिलगायतका समस्या समाधान गर्नुपर्ने उहाँको माग थियो । सरकारले समस्या समाधान गरेमात्रै व्यवसायीको आत्मविश्वास बढ्ने र कारोबार चलायमान हुने पनि उहाँले दाबी गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच