स्याङ्जा । स्याङ्जा जिल्ला आगलागीको चपेटामा परेको छ । जिल्लाका विभिन्न स्थानमा भएका आगलागीमा परी करोडौंको क्षति भएको छ । थुप्रै घर र गोठ जलेका छन् भने विभिन्न ठाउँमा भएको आगलागीबाट सामुदायिक वन सखाप बनेको छ ।
पुतलीबजार ११ करेन्डाँडामा मंगलबार आगलागीबाट ग्याँस सिलिन्डर पड्किन गई एक जना महिला घाइते भएको तथा घाइतेको जिल्ला अस्पताल स्याङ्जामा उपचार भएको पुतलीबजार ११ का वडाध्यक्ष मनोज पौडेलले बताउनुभयो । उहाँका अनुसार सुन्तला उत्पादनका लागि प्रसिद्ध करेन्डाँडा क्षेत्रमा करिब १५०० वटाभन्दा बढी सुन्तलाका रुखहरु समेत आगलागीबाट जलेर नष्ट भएका छन् ।
मंगलबार बिहानबाट सुरु भएको भीषण आगलागी पुतलीबजार र वालिङ नगरपालिकाका दमकलहरुको सहयोगमा नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु मिलेर बस्तीमा जानबाट रोकिएको स्थानीय सञ्चिता नेपालले बताउनुभयो । आगलागीको रापका कारण केहीबेर सिद्धार्थ राजमार्ग समेत अवरुद्ध भएको थियो ।
त्यस्तै चापाकोट नगरपालिकाको वडा नं १ मैदान र वरिडाँडामा आगलागीबाट ५ घर र ६ गोठ जलेर नष्ट भएका छन् । आगलागीको क्षति निरीक्षण गर्न पुग्नुभएका गण्डकी प्रदेशका निवर्तमान सांसद भागवत् प्रकाश मल्लले भन्नुभयो ‘आगलागीबाट घर र गोठ जलेका छन् । घर जलेपछि उक्त घरमा बस्ने मानिसहरुको बिचल्ली भएको छ । पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।’ मल्लले बताउनुभयो ।
त्यस्तै केही दिन पहिले कालीगण्डकी ५ मा आगलागीबाट १ घर ३ वटा गोठ जलेका छन् । फेदीखोला गाउँपालिका वडा नं ४ को राम्चेदेवी सिद्धथानमा मंगलबार राति लागेको आगो बराकुनादेखि राँपुको सुखरा क्षेत्रसम्म पुग्दा ठूलो वन क्षेत्र सखाप भएको स्थानीय पूजा गुरुङले बताउनुभयो । त्यस्तै स्याङ्जाको ऐतिहासिक क्षेत्र नुवाकोट वरिपरिको जङ्गलमा एक हप्तादेखि लगातार आगलागी भइरहेको छ ।
आँधीखोला गाउँपालिका वडा नं ५ को गोगनपानीमा भएको आगलागीमा परी लाखौंको खानेपानीको पाइप जलेको छ । आँधीखोलाको सेतीदोभानमाथिको वनमा आगलागी हुँदा खानेपानीका पाइपहरु जलेका छन् भने वन भएको क्षेत्र खुइला डाँडामा परिणत भएको स्थानीय अशोक पौडेलले बताउनुभएको छ ।
यस्तै गरी मंगलबार नैं स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १ स्थित स्याङ्जा सदरमुकाममा मंगलबार बिहानै एक घरमा आगलागी भई घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । कुँडो पकाउने क्रममा आगो सल्किँदा दुई तले घर पूर्ण रुपमा नष्ट भएको छ ।
जिल्लाका ठूला वन क्षेत्रहरुमा आगलागी हुँदा वन पैदावारहरु नष्ट भएका छन् भने जङ्गली जनावरहरु समेत सङ्कटमा परेका छन् । स्याङ्जाको आकाशमा कालो मुस्लो देखिन थालेको छ भने जताततै तुँवालो जस्तो देखिइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना जारी गरी आगलागीका लागि पूर्व सचेतता अपनाउन अपील गरेको छ भने आगलागी भइसकेपछि प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच