सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई प्रदेश सभामा बहुमत

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाबाट बहुमत पाउनुभएकाे छ । बिहिवार मुख्यमन्त्री सोडारीले प्रदेश सभाका २८ प्रदेश सभा सदस्यको विश्वासको मत पाउनुभएकाे हाे ।

नेकपा एकीकृत समाजवादीका दलका नेता रहेका सोडारीलाई उहाँको दलका चार प्रदेश सभा सदस्यहरूसहित एमालेका ११, माओवादीका १०, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन् । नेपाली काँग्रेसका १९, राप्रपा एक र नागरिक उन्मुक्तिका ५ जना प्रदेश सभा सदस्यहरूले मतदानमा भाग लिएका छैनन् । मुख्यमन्त्री सोडारीको विपक्षमा मत परेको छैन ।

तेस्रो अधिवेशनको १०औँ बैठक नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले अवरोध पारेका थिए । उनीहरूले मुख्यमन्त्री नियुक्तीमा प्रदेश प्रमुखको व्ययभार असंवैधानिक भएको आरोप छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । यसरी नियुक्त हुनुभएका मुख्यमन्त्रीले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ । सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र प्रदेश सभा सदस्यलगायतको समर्थनमा मुख्यमन्त्री बन्नुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?