काठमाडौं । हिमालय टाइम्सका कार्टुनिस्ट महेश बस्ताकोटी सम्मानित हुनुभएको छ । कार्टुनिस्ट क्लब नेपालको आयोजनामा नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विश्व कार्टुनिस्ट दिवस २०८१ को अवसरमा उहाँ सम्मानित हुनुभएको हो । क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले आफ्ना आमाबुबाको नाममा स्थापना गर्नुभएको शारदा-गोविन्दमान व्यंग्यचित्र प्रतिभा पुरस्कार २०८१ बाट बस्ताकोटीलाई नगद पुरस्कार दश हजारसहित पुरस्कृत गरिएको थियो ।
पुरस्कारबारे बोल्नुहुँदै अविन श्रेष्ठले तीन दशकभन्दा बढी कार्टुन बनाइसकेपछि आफ्नो मात्रै प्रगतिभन्दा पनि नयाँ प्रतिभालाई हौसला प्रदान गर्न एउटा कार्टुनिस्टले अर्को कार्टुनिस्टलाई कार्टुनकै बारेमा पुरस्कार दिन उचित हुने भएकाले नयाँ पुरस्कार प्रदान गरेको बताउनुभयो । पुराना कार्टुनिस्टलाई भन्दा नयाँ कार्टुनिस्टलाई पुरस्कार प्रदान गर्दा आर्थिक मन्दी, प्रिन्ट मिडियाहरूको ह्रासले गर्दा नयाँ प्रतिभाहरू पलायन हुन थालेकाले नयाँ-नयाँ कार्टुनिस्टलाई प्रदान गरेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं पुराना कार्टुनिस्ट रमेशनाथ पाण्डेले छोटो समयमै नै पढ्न, बुझ्न र हाँस्न सकिने कार्टुन विधा पहिला–पहिला तयार गर्न गाह्रो भए पनि आजभोलि समय र परिस्थिति जटिल भएको बताउनुभयो । पत्रकारितामा कार्टुनको विशेष स्थान हुने भएकाले कार्टुनिस्टहरूको पनि विशेष दायित्व र महत्व हुने बताउनुभयो र सम्पूर्ण नयाँ तथा पुराना कार्टुनिष्टहरूलाई कार्टुनिस्ट दिवसको शुभकामना दिनुभयो ।
नेपाली कार्टुनहरू विदेशीहरूले नबुझ्ने आफ्नो अनुभव सुनाउनुहुँदै अग्रज कार्टुनिस्ट रामकुमार पाण्डेले कार्टुनहरूको अनुसन्धान हुनुपर्ने, बुलेटिन प्रकाशित गरी पुराना कृत्तिहरू संग्रह गर्नुपर्ने तथा अग्रज कार्टुनिष्टहरूको अनुभव आदानप्रदान गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा क्लबका अध्यक्ष वासु क्षितिजले पुरस्कारको छनोट प्रक्रियाबारे प्रष्ट पार्नुहुँदै अग्रजहरूलाई धन्यवादसहित सम्पूर्णमा कार्टुनिस्ट दिवसको शुभकामना दिनुभयो । कार्यक्रममा कार्टुनिस्ट राजेश केसीले नेपाली कार्टुनको इतिहासमा अविन श्रेष्ठको योगदान अतुलनीय रहेको र यो पुरस्कार स्थापनाले उहाँको योगदान अझै बढेको बताउनुभयो । उक्त कार्यक्रममा ललितकलाका कुलपति नारदमणि हार्तम्छालीले पनि पुरस्कृत तथा सम्पूर्ण कार्टुनिस्टहरुलाई शुभकामना दिनुभयो तथा भविष्यमा कार्टुनिस्ट दिवस मनाउनेबारे क्लबसँग छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा रवि मिश्रले पनि शुभकामना दिनुभएको थियो र पुरस्कृत महेश बस्ताकोटीले आफ्नो अनुभव र पुरस्कारबारे खुसी व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच