हालै सम्पन्न इलाम र बझाङको उपनिर्वाचनको परिणाम एमालेका पक्षमा आएको छ । आफ्ना पक्षमा निर्वाचनको परिणाम आउनु पार्टीहरूका लागि हर्षको कुरो हो । राजनीति गर्नेहरूको लक्ष भनेको निर्वाचनमा विजय हासिल गर्न, सत्ता र शक्तिमा पुग्नकै लागि हो । भन्न त राजनीति समाजसेवा हो भन्ने पनि गरिएको छ तर नेपालको सन्दर्भमा हेर्दा कसैले पनि राजनीतिलाई समाजसेवा गर्ने माध्यम बनाएको देखिएको छैन । समाजसेवा गर्न चाहने नै हो भने राजनीतिबाट अलग्गै बसेर पनि गर्न सकिन्छ । त्यसकारण हाम्रा केही राजनीतिज्ञहरूलाई भ्रष्टाचारको अभियोग लागेर उहाँहरूका विरुद्धमा मुद्दा चलिरहेको अवस्थामा उहाँहरूले पत्रकारहरूसँग राजनीति कमाउनकै लागि गरेको हो जोगी बन्नका लागि राजनीति गरेको होइन भन्नुभएको थियो ।
उहाँहरूको त्यस्तो भनाइ वर्तमान राजनीतिको हरेक तह र तप्कामा रहेका राजनीतिज्ञहरूको गुरुमन्त्र बनिरहेकै छ । तर, त्यो घोषित रूपमा सार्वजनिक बन्ने गरेको चाहिँ छैन र बनाउन मिल्दैन पनि तर अघोषित रूपमै सही सबैको अर्जुनदृष्टि चाहिँ जसरी सकिन्छ सकेसम्म बढी कमाउनेतर्फ नै केन्द्रित छ । त्यही कारणले नै राजनीतिमा चतुर व्यक्तिहरू झुत्तिने गरेका छन् । राजनीति कृषिको फसलजस्तो होइन । कृषि कर्मबाट धेर थोर जे जति भए पनि त्यसको उपज प्राप्त हुन्छ । कहिले केही बढी र कहिले केही कम प्राप्ति भए पनि प्राप्तिको निरन्तरता भने भई नै रहन्छ । तर, राजनीति भनेको त्यस्तो खेती वा व्यवसाय हो जसमा शतप्रतिशत प्राप्ति हुनुपर्छ नत्र एक तहमात्र तल प¥यो भने त्यो पराजित बन्छ ।
यति कठिन भएर पनि राजनीतिको आकर्षण नेताहरूमा कम भएको पाइँदैन । नेकपा एमालेले हालैको उपनिर्वाचनमा विजय हासिल गर्नासाथ अब पुनः त्यसलाई मिसन ८४ को आधारभूमिका रूपमा पार्टीले हेर्ने, केलाउने, विश्लिेषण गर्ने र त्यसलाई भजाउने काम गर्न सुरु गरिसकेको छ । आफू सफल हुन्जेल राजनीतिबाट पलायन हुन कसैलाई पनि मन लाग्दैन । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली रोग र वार्धक्यलाई बिर्सेर पनि हालसम्म पार्टीको नेतृत्व गरिरहनुभएको छ । उहाँले हालै सम्पन्न उपनिर्वाचन जित्नु मिसन ८४ को विजयको सुरुवात हो भन्ने अभिव्यक्ति दिनुभएको छ । राष्ट्रव्यापी आमनिर्वाचनको तुलनामा हालै सम्पन्न उपनिर्वाचन त्यति महत्वको हुनु नपर्ने हो ।
प्रमुख तीन पार्टीहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र जसले जिते पनि त्यो एक वा दुई सिटले हालको संख्यामा तात्विक भिन्नता पार्ने थिएन, तैपनि दलहरू आ-अफ्नो भएभरको साधन, स्रोत र शक्ति प्रयोग गरेर ती निर्वाचन केन्द्रहरूमा त्यहाँको परिणाम आफ्नो पक्षमा पार्न मरिमेटेर लाग्नुभयो तर विजय हात पार्न एमाले सफल भयो । यी दुई स्थानको विजयबाट नेपाली जनता आफ्नो पक्षमा छन् भन्ने सन्देश दिने चाहना दलहरूको हो । तर, राजनीतिमा पहिलो हुनेमात्र विजयी हुने नियम भएकाले एमाले पहिलो हुन पुग्यो र विजयी भयो । को दोस्रो भयो र को तेस्रो भयो भन्ने विषयले त्यति अर्थ राख्दैन । परिणाम एमालेको पक्षमा आए पनि त्यो मत एमालेको एकल भने होइन । त्यसमा एमालेले हेक्का राखेको पाइएको छैन । त्यो कुन-कुन पार्टीको मत हो भन्ने लेखाजोखा एमालेले गर्नु उचित हो ।
वास्तवमा यो परिणाम नेपाली जनता आफ्नो पक्षमा छन् भनेर देखाउने एउटा दृष्टात्त त बन्ला तर अबको साढे तीन वर्षपछि हुने निर्वाचनमा अहिलेको परिणाम दृष्टान्त बन्न सक्ला वा नसक्ला त्यो त्यही बेला देखिने परिणाम हो । किनकि एकछिनको माहौलले निर्वाचनको परिणाम बदलिन सक्छ । कतिपय ठाउँ राजनीतिक पार्टीहरूका आ-आफ्ना आधारभूमिका रूपमा चिनिएका छन् तर धेरैजसो ठाउँहरूमा चुनावका समयको विभिन्न प्रभाव पर्ने गरेको पनि देखिएको छ । पार्टीहरूको प्रचारप्रसारको शैली, जनताका समस्याको समाधान भएको संख्या वा मात्रा, राजनीतिक दलहरूको सक्रियतालगायत वैध माध्यम र बाहिर नदेखिन विभिन्न भित्री कुरासमेत निर्वाचनको परिणामका कारक बन्ने गर्दछन् ।
प्रचारप्रसारका समयमा भन्दा मौन अवधिमा कुनै निश्चित निर्वाचन क्षेत्रका मतदाताहरूलाई प्रभावित बनाउने अनेकौं प्रकारका खेल हुने गर्छन् । यस अर्थमा राजनीतिक दलहरूले २०८४ सालको आमनिर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउने सपना देख्नुलाई स्वाभाविक मानिए तापनि अन्य गर्नैपर्ने काम नगरी खालि आफ्नो अर्जुनदृष्टि त्यस बेलाको निर्वाचनमा मात्र लगाउनुलाई स्वाभाविक मान्न सकिँदैन । विकास निर्माणका काममा सक्रियतापूर्वक संलग्न हुने, जनताका समस्या पहिचान गरी तिनको निराकरणका लागि लाग्ने, जनताका घरदैलामा पुग्ने र उनीहरूका आवश्यकताको परिपूर्तिमा सघाउ पुर्याउनेलगायत काममा लागिपर्ने हो भने राजनीतिक पार्टीहरूले मिसन ८४ को नारा लगाइरहनु नै पर्दैन, जनताका काम गर्ने पार्टी स्वतः विजयी बन्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच