नेपालमै सेक्युरिटी प्रेस स्थापना हुन नसक्दा यसलाई माध्यम बनाएर कमाउने र अर्बाैं रकम चुहावटको माध्यम यसैलाई बनाउँदै आएकाहरूको यस क्षेत्रमा हालिमुहाली रहने गरेको छ । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रेस) को स्थापना स्वदेशमै अनिवार्य मानिँदै आएको भए पनि नेपालले हालसम्म आफ्नो देशमा यस्तो छपाइ केन्द्र स्थापना गर्न सकेको छैन । जसले गर्दा सुरक्षण मुद्रण केन्द्रमै छपाइ गर्नुपर्ने अनेकौं सामग्रीहरू छाप्नका लागि विदेश पठाउनुपर्ने बाध्यता छ । नेपालले हालसम्म पनि यसैगरी विभिन्न सामग्रीको सुरक्षण मुद्रण विदेशमै गर्दै आएको छ । यसो गर्दा वर्षेनी नेपालको करोडौं रकम विदेशिरहेको छ ।
केही वर्ष पहिले नेकपाको सरकार भएका बेला यस्तो सुरक्षण मुद्रण केन्द्र स्थापना गर्ने प्रयत्न भएको थियो । तर, तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सम्बद्ध पक्षसँग ७० करोड कमिसन माग गरेको अडियो बाहिरिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई पदबाट राजीनामा गर्न लगाउनुभएको थियो । बाँस्कोटा नेकपा हुनुपूर्व तत्कालीन एमाले संबद्ध हुनुहुन्थ्यो र हाल पनि एमालेमै हुनुहुन्छ । उहाँ एमालेका अध्यक्ष ओलीका प्रियपात्र समेत मानिनुहुन्छ । यस प्रकरणबाट एउटा सुरक्षण मुद्रण केन्द्रको स्थापना गर्न ठूलो धनराशिको आवश्यकता पर्ने रहेछ भन्ने थाहा हुन्छ । यिनै कारणले नेपालले हालसम्म पनि एउटा सुरक्षण मुद्रण केन्द्र स्थापना गर्न नसकेको हुनसक्छ ।
मन्त्रीको भागको कमिसन नै ७० करोड हुने भएपछि यही अनुपातमा अन्यका भागमा पनि कमिसन छुट्याउनुपर्ने र स्थापनाका लागि लागतको हिसाब गर्दा अर्बाैं चाहिने यथार्थ एकातिर छ भने अर्कातिर नियत नै सफा नभएका हामी नेपालीहरूले यसको गोपनीयता तथा सुरक्षित व्यवस्थानपन कायम गर्नसमेत सक्छौं कि सक्दैनौं भन्ने प्रश्न नउठ्ने होइन । सुरक्षण मुद्रणको उपादेयता विविध कामका लागि हुनसक्छ । पहिले-पहिले विभिन्न तहका परीक्षाका प्रश्नपत्रहरू समेत छपाइका लागि विदेश लगिन्थ्यो । त्यसबेला ती विभिन्न तहका परीक्षाहरूको उच्च मर्यादा थियो । हाल यस्ता प्रश्नपत्रहरू परीक्षा बोर्डहरूले परीक्षाको केही मिनेट पहिले परीक्षा केन्द्रमा विद्युतीय माध्यमबाट पठाउने र त्यहीँ प्रिन्ट गर्ने गरिन्छ ।
कतिपय परीक्षाहरूको मर्यादा हाल पहिले शिक्षकहरूले कार्बन, कागज र डटपेनका भरमा आफ्नै घरमा प्रश्नपत्र बनाएर गर्ने जाँचको जति पनि छैन । पहिलो पटक एसएलसीको प्रश्नपत्र नेपालमै छाप्दा त्यसमा संलग्न कर्मचारीहरूबाट ती प्रश्नपत्रहरू बाहिरिएपछि छानबिन गरी केही कर्मचारी विभागीय कारबाहीमा परेका थिए । हालका दिनमा विद्यार्थीलाई कक्षा चढाउन औपचारिकता पूरा गर्नमात्र यस्ता परीक्षा गरिन्छ । त्यसैले यस क्षेत्रका लागि सुरक्षण मुद्रण केन्द्रको औचित्य समाप्त भइसकेको छ । अहिलेको जस्तो व्यावसायिक बैंक र फाइनान्सहरू नभएको समयमा सरकारले सञ्चालन गर्ने सीमित बैंकहरू मात्र भएका बेला बैंकका चेकबुकहरू पनि सुरक्षित मुद्रण गर्न पठाउने गरिन्थ्यो, हाल विभिन्न बैंकहरूले चेकबुकहरू आ-आफैं कम्युटरका माध्यमबाट तयार पारिरहेका हुन्छन् ।
समयले केही परम्परा र नियमलाई विस्थापन गर्दै लगिरहेको छ तर अझै केही छपाइ सुरक्षण मुद्रणकै माध्यमबाट गरिँदै छ । सरकारका कतिपय दस्ताबेजहरू सुरक्षित मुद्रणकै माध्यमबाट गरिनुपर्दछ । हुलाक टिकटहरूको छपाइ गर्न विदेशी केन्द्रहरूमै पठाउने गरिन्छ । सबैभन्दा बढी सुरक्षित अवस्था कायम राखेर छपाइ गर्नुपर्ने कुरा चाहिँ नोट हो । नोटको छपाइ उच्च सुरक्षित वातावरण कामय गरी विदेश पठाएर गर्ने गरिन्छ । यस्ता सामग्रीहरूको नमुना (डिजाइन) यहाँ तयार पारेर ग्लोबल टेन्डर गरी त्यसको ठेक्का लिने पक्षलाई जिम्मेवारी दिने गरिन्छ । कहिले अष्ट्रेलिया, कहिले युरोपेली मुलुकहरूमा मुद्रण गरिने नेपाली मुद्राहरूमा कुनै प्रकारको कमजोर नपाइनुपर्ने हो तर कहिलेकाहीँ हाम्रा नोटहरूमा केही कमजोरीहरू फेला पर्छन् ।
छपाइमा, कटिङमा, दोहोरो नम्बर प्रिन्ट हुने, एउटै दरका एकै पटक छापेका नोटहरूमध्ये कुनैमा गाढा र कुनैमा फिक्का रङ हुनेजस्ता अनेकौं कमजोरी पाइन्छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको स्थापनाको सम्पूर्ण नियम पु¥याएर आफ्नै देशमा स्थापना गर्ने हो भने यस्ता कमजोरीहरूमा विस्तारै सुधार गर्दै लान सकिने र सुरक्षिण मुद्रण गर्नैपर्ने सामग्रीहरू विदेशमा मुद्रण गर्नुपर्दा त्यसका लागि विदेशिने हाम्रो मुद्रा स्वदेशमै रहन सक्ने अवस्था सिर्जना हुनसक्थ्यो । हालका दिनहरूमा एकातिर हामी छपाइमा विदेशीकै भरपरिरहेका छौं भने अर्कातिर ठूलो परिमाणमा राजस्वको चुहावटसमेत भइरहेको छ । यसकै लागि २० अर्ब राजस्व चुहावट भएको तथ्य सार्वजनिक भएको छ जुन सानो धनराशि होइन ।
चुहावट भइरहेको रकमलाई रोक्न सक्ने हो भने यसबाट अन्य कुनै क्षेत्रका ठूलै खालका विकास योजना सम्पन्न हुन सक्ने सम्भावनालाई कसैले नकार्न सक्ने सम्भावना रहँदैन । साथै बिचौलियाहरूको बिगबिगीलाई रोक्न सकिन्छ । बिचौलियाहरू कहाँबाट कसरी नाजायज आर्थिक लाभ लिन सकिन्छ भनेर सधैं चलखेल गरिरहेका हुन्छन् । तिनले आफ्नो स्वार्थानुकूल हुनेगरी नहुने कामलाई हुने र हुने कामलाई नहुने बनाउँछन् । यस्ता काममा ती अभ्यस्त बन्दै आएका हुन्छन् । त्यसकारण स्वदेशमै सुरक्षण मुद्रण केन्द्रको स्थापना गर्न सक्ने हो भने एकातिर यस्ता समस्या कम गर्न सकिन्छ भने अर्कातिर यसकै लागि विदेशिइरहेको राष्ट्रको खर्बाैं रकम जोगाउन सकिन्छ तर यसका लागि कसैको पनि नियत खराब हुनुहुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच