काठमाडौं । वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उहाँको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शुक्रबार केही समय नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान नक्सालमा राखेर र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।
करिब पाँच सय नेपाली गीत तथा झण्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिनुभएका उहाँले पछिल्लो समय पक्षघातसम्बन्धी समस्यासमेत झेलिरहनु भएको थियो । गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित हुनुहुन्थ्यो । विसं २००३ मा नरदेवीमा जन्मनुभएका उहाँको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत निकै लोकप्रिय छन् ।
राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गर्नुभएका साहित्यकार वैद्यका विभिन्न कृतिसमेत प्रकाशित छन् । उहाँलाई केही समयअघि गंकी वसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुस्वाँ सायमी सिरपाः’ प्रदान गरिएको थियो । वनस्पति शास्त्रमा एमएससी गर्नुभएका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताउनु भएको थियो । उहाँ २०६१ सालमा सहसचिव पदबाट सेवानिवृत्त हुनुभएको थियो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान नक्सालमा वैद्यको अन्तिम बिदाइमा संगीतकर्मीहरूले उहाँकै सर्वाधिक चर्चितमध्येको ‘सपना भुलाई सारा’ गीत गाएका थिए । संगीतकर्मीहरूले नेपाली सांगीतिक जगत्का मूर्धन्य गायक वैद्यको सम्मानमा उहाँको स्वरमा सजिएको गीत प्रस्तुत गरेका हुन् । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, संगीतकार चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तानलगायत थुप्रै संगीतकर्मीले फूलमाला समर्पण गर्दै वैद्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । नेपाली संगीत र साहित्यकर्मीहरूले उहाँको निधनलाई सांगीतिक र साहित्य क्षेत्रका लागि अपूरणनीय क्षति भनेका छन् ।
वैद्य गायक मात्र होइनन्, उहाँ एक कुशल कवि पनि हुनुहुन्थ्यो । गीति कवितासंग्र्रह ‘समय प्रवाहमा छुटेका पलहरू’ उहाँको पहिलो कृति हो । ‘स्मर्णिम संस्मरण-आत्मवृतान्त’ उहाँको आत्मकथा हो । उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।
अत्यन्तै गहन व्यक्तित्व : संगीतकार बास्कोटा
योगेश वैद्यले समय समयमा दिएको अभिव्यक्ति र गाएका गीत तथा छनोट गरेका संगीतले उहाँ अत्यन्तै गहन व्यक्तित्व भएको विशिष्ट संगीतकार शम्भुजित बास्कोटा बताउनुहुन्छ । ‘उहाँको समय-समयको अभिव्यक्ति र उहाँले गाएको गीत र संगीत छनोटले पनि त्यो कुरा देखाउँछ । उहाँ एउटा अत्यन्तै गहन व्यक्तित्व पनि हुनुहुन्थ्यो’, बास्कोटाले भन्नुभयो । उहाँले देशमा मेलोडियस, आधुनिक र सदाबहार गीतहरू गुन्जिरहोस् भन्ने आशय राख्ने गरेको बताउँदै बास्कोटाले भन्नुभयो, ‘योगेश दाइले धेरै कविता लेख्ने, गीत लेख्ने र संगीतसमेत दिनुहुन्थ्यो । उहाँको घरमा धेरै सृजना त्यतिकै बसेका छन् ।’ तीन दिन अगाडिसम्म आफूले कुरा गरेको बताउँदै आज यो सोच्नै नसक्ने घटना भएको उहाँले बताउनुभयो । ‘उहाँ मखमली आवाजका धनी हो । उहाँ नरहे पनि, उहाँका कृति हामीमाझ सधैँ रहिरहनेछ’, विशिष्ट संगीतकार बास्कोटाले भन्नुभयो ।
कलाले भरिपूर्ण व्यक्ति : अध्यक्ष सापकोटा
संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले योगेश वैद्य एउटा अद्भुत आवाजका धनी भएको बताउनुभयो । त्यो आवाजले आफू जस्ता थुप्रै युवालाई काठमाडौं ल्याएको बताउँदै उहाँले भन्नुभयो, ‘म उहाँको आवाजबाट प्रभावित हो । उहाँको आवाजमा जादु, कला र क्षमता थियो । उहाँको आवाजले धेरैलाई कलामा लाग्न प्रेरित गर्यो । मायामा डुबेकालाई मायामा बहकिन पनि प्रेरित गर्यो । रेडियो नेपाल बनाउने उहाँको आवाज हो ।’ अध्यक्ष सापकोटाले वैद्यलाई अनेक क्षमता भएको व्यक्तिका रूपमा आफूले पाएको बताउँदै भन्नुभयो, ‘संगीतको अनेक क्षमता भएको व्यक्ति हो उहाँ । उहाँमा कलाले भरिपूर्ण व्यक्ति भन्छु म । उहाँलाई हामीले अन्तिम बिदाइ उहाँकै गीत गाएर गरेका छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच