![बाटोमा पैसा भेट्नु शुभ कि अशुभ ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/paisa-rupiya.jpg)
डिबी शर्मा/जिल्ला ब्युरो
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सातमध्ये ६ वटा प्रदेशमा सत्ता गठबन्धनले ‘क्लिनस्विप’ गरेको छ । बिहीबार सम्पन्न निर्वाचनमा कोशीबाहेक ६ प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । कोशीमा भने अप्रत्यासित नतिजा आएको छ । कोशीमा सत्ता गठबन्धनकै ‘सचेत मतदाता’ (निर्वाचित जनप्रतिनिधि)ले ‘क्रस भोट’ गरेका हुन् । १९ पदका लागि भएको निर्वाचनमा १८ पदमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । एक पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए । कोशी प्रदेशको महिला क्लष्टरमा गठबन्धन (माओवादी) उम्मेदवार चम्पा कार्कीलाई हराउँदै एमालेकी रुकमिणी कोइराला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उहाँ पाँच हजार ८६ मतभारसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी कार्कीले भने चार हजार ९९२ मतभार प्राप्त गर्नुभयो ।
राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनको स्पष्ट मत बढी हुँदा पनि कोशी प्रदेशमा भने नतिजा फरक आयो । कोशीमा भएको दुई सिटको चुनावमा कांग्रेस र माओवादी केन्द्रले एक/एक सिटमा उम्मेदवारी दिएका थिए । गठबन्धनको दल नेकपा एकीकृत समाजवादी र जसपाले पनि यी उम्मेदवारलाई समर्थन गरेको थियो । चुनावमा सत्ता गठबन्धनसँग एमाले र राप्रपाको गठबन्धनले प्रतिस्पर्धा गरेका थियो । जसमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी माओवादीकी कार्की पराजित हुनुभयो । कोशी प्रदेशमा सत्ता गठबन्धनको मतभार एमाले–राप्रपा गठबन्धनभन्दा सात सयभन्दा धेरै थियो । कोशीमा यसअघि भएको चुनावमा पनि सत्ता गठबन्धनका उम्मेदवार एकजना पराजित हुँदा एमालेका उम्मेदवार विजयी भएका थिए । २०७९ मा भएको सो चुनावमा पनि यही सत्ता गठबन्धन र राप्रपा–एमाले गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै एमालेका सोनाम शेर्पा निर्वाचित हुनुभएको थियो ।
कोशीमा एमाले र राप्रपाले तालमेल गरेका थिए । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले तालमेल गरेका थिए । कोशीबाहेक अन्य प्रदेशमा भने एमाले एक्लै चुनाव लडेको थियो । सत्ता गठबन्धन दलहरूले सातै प्रदेशमा तालमेल गरेर उम्मेदवारी दिएका थिए ।
९९.३२ प्रतिशत मतदान
कोशी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदातामध्ये ९३ जनाले नै मतदान गरे । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा २७१ जनाले मतदान गरे । कोशी प्रदेशतर्फ कुल मतदाता ३६६ मा ३६४ जनाले मतदान गरेकोले ९९.४५ प्रतिशत मतदान भएको छ । मधेश प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ १०७ जना मतदाता रहेकोमा १०६ जनाले मतदान र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २६७ मतदाता रहेकोमा २६७ जनाले नै मतदान गरे । मधेश प्रदेशतर्फ कुल मतदाता ३७४ मा ३७३ जनाले मतदान गरेकोले ९९.७३ प्रतिशत मतदान भएको छ ।
बागमती प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ११० जना मतदाता रहेकोमा १०८ जनाले मतदान गरे भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २३७ मतदाता रहेकोमा ३३४ जनाले मतदान गरे । बागमती प्रदेशतर्फ कुल मतदाता ३४७ मा ३४२ जनाले मतदान गरेकोले ९८.५६ प्रतिशत मतदान भएको छ ।
गण्डकी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ६० जना मतदाता रहेकोमा ६० जनाले नै मतदान गरे भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ जनाले मतदान गरे । गण्डकी प्रदेशतर्फ कुल मतदाता २३० मा २२९ जनाले मतदान गरे ।
लुम्बिनी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ८७ जना मतदाता रहेकोमा ८७ जनाले नै मतदान गरे भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २१८ मतदाता रहेकोमा २१६ जनाले मतदान गरे । लुम्बिनी प्रदेशतर्फ कुल मतदाता ३०५ मा ३०३ जनाले मतदान गरे ।
कर्णाली प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ४० जना मतदाता रहेकोमा ४० जनाले नै मतदान गरे । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १५६ मतदाता रहेकोमा १५६ जनाले नै मतदान गरे । कर्णाली प्रदेशतर्फ कुल मतदाता १९६ मा १९६ जनाले नै मतदान गरे ।
सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५२ जना मतदाता रहेकोमा ५२ जनाले नै मतदान गरे भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७६ मतदाता रहेकोमा १७३ जनाले मतदान गरे । सुदूरपश्चिम प्रदेशतर्फ कुल मतदाता २२८ मा २२५ जनाले मतदान गरे ।
सातै प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५४९ जना मतदाता रहेकोमा ५४६ जनाले मतदान गरे । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १४९७ जना मतदाता रहेकोमा १४८६ जनाले मतदान गरे । सबै प्रदेशतर्फ कुल मतदाता २०४६ मा २०३२ जनाले मतदान गरेकाले ९९.३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
कोशीमा सिटौलाको संघर्षपूर्ण जित, एमालेलाई एक सिट ‘बोनस’
कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी हुनुभएको छ । सत्ता गठबन्धनबाट ‘मतक्रस’ हुँदा कोइरालाले अनपेक्षित जित हात पार्नुभएको हो । कोशीमा एमालेले राप्रपासँग तालमेल गरेको थियो । उहाँले सत्ता गठबन्धनकी चम्पादेवी कार्कीलाई पराजित गर्नुभयो । कोइरालालाई सत्ता गठबन्धनका तीन सांसदले क्रस भोट दिएका हुन् । ९३ मध्ये उहाँलाई ४९ जनाको मत आएको छ । यस्तै, स्थानीय तहका १३१ जनाले मत हालेका छन् । स्थानीयतर्फका १६ जनाले क्रसभोट गरेका छन् ।
प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । एमालेकी कोइरालाले पाँच हजार ८६ मतभार प्राप्त गर्दा माओवादीकी कार्कीले चार हजार ९२२ मतभार प्राप्त गर्नुभयो ।
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने कोशीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभयो । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बन्नुभएका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलभन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित हुनुभएको हो । सिटौलाले कुल पाँच हजार २९२ र पौडेलले चार हजार ५६२ मतभार पाउनुभयो । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो । सिटौलाले प्रदेश सभातर्फ २३८५ मतभार पाउनुभयो भने पौडेलले २४९१ मतभार पाउनुभयो । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाउनुभयो । सिटौला पछिल्ला दुई (२०७५ र २०७९) निर्वाचनमा लगातार झापा-३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएको थियो ।
लुम्बिनीमा सुवेदी र सापकोटा विजयी
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्य समूहतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी हुनुभएको हो । सुवेदीले पाँच हजार ४३५ मतभार प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले तीन हजार ३९ मतभार प्राप्त गर्नुभयो ।
रोल्पाका सुवेदी पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–२ बाट तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरी चर्चामा आउनुभएको थिया । जनमत पार्टीका बालगोविन्द चौधरीले २५० मतभार प्राप्त गर्नुभयो । महिलातर्फ गुल्मीकी सापकोटाले पाँच हजार ४३५ मतभार प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेकी तुलसाकुमारी केसीले दुई हजार ८६७ मतभार प्राप्त गर्नुभयो । राप्रपाकी उम्मेदवार विजयालक्ष्मी सिंहले २५० मतभार प्राप्त गर्नुभयो । लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभाका दुईजना सदस्यका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
मधेशमा ढुंगाना र चौधरी निर्वाचित
राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित हुनुभएको छ । अन्यमा कांग्रेसका ढुंगाना र महिलामा जसपाकी चौधरी विजयी हुनुभएको हो । कांग्रेस उम्मेदवार ढुंगानाले सात हजार ३७० मतभार पाउनुभयो भने जसपाकी चौधरीले सात हजार ९२९ मतभार ल्याउनुभयो । एमालेका उषादेवी थरुनी र जनमत पार्टीका रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।
गण्डकीमा किरण, पदम र मनरूपा विजयी
राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरूपा शर्मा विजयी हुनुभएको हो । श्रेष्ठले तीन हजार ८०८ मतभार ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले दुई हजार ४७७ मतभार ल्याउनुभयो । अपांगता/अल्पसंख्यकतर्फ कांग्रेसका परियारले तीन हजार ७७९ मतभार ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले दुई हजार ४५८ मतभार ल्याउनुभयो । महिलातर्फ माओवादीकी शर्माले तीन हजार ६६० मतभार ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले दुई हजार ५५३ मतभार ल्याउनुभयो ।
गण्डकीमा मतदाताको कुल मतभार ६ हजार १४० थियो । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष १७० गरी कुल २३० जना मतदाता थिए । केही मत बदर भएको थियो भने केही मतदातामा ‘भोट क्रस’समेत गरेका थिए । गण्डकीमा राष्ट्रिय सभाको रिक्त तीन क्लष्टरका लागि गठबन्धनका तीन, एमालेका तीन र राप्रपाका तीनसहित आठजना उम्मेदवार चुनावी मैदानमा थिए ।
बागमतीका चारै सिटमा गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा सत्ता गठबन्धन चारवटै सिटमा विजयी भएको छ । निर्वाचनबाट नेपाली कांग्रेसका महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत, नेकपा माओवादी केन्द्रका तर्फबाट अपांगतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी हुनुभएको हो । महिलातर्फ विजयी पुडासैनीले ६ हजार ६२२ मतभार र अन्यमा बस्नेतले ६ हजार ५३१ मतभार प्राप्त गर्नुभयो । अपांगतर्फ अधिकारीले ६ हजार ३८३ मतभार र दलित कोटाका रिजालले ६५१२ मतभार प्राप्त गर्नुभयो ।
एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले दुई हजार ५५२ मत, दलिततर्फ, युवराज विकले तीन हजार ५२ मत, अपांगतर्फ त्रिलोचन निर्मल पौडेलले दुई हजार ७३४ मत र अन्यतर्फ विवेक देवकोटाले दुई हजार ३५९ मतभार प्राप्त गर्नुभयो । निर्वाचनमा ६ दलका १५ जनाले प्रतिस्पर्धा गरेका थिए ।
सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनैजना विजयी
राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिममा प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन् । महिला क्लष्टरमा माओवादी केन्द्रकी रेनु चन्दले चार हजार ४५३ मतभार प्राप्त गरेर विजयी हुनुभयो । अपांगतर्फ कांग्रेसका नारायणदत्त भट्टले चार हजार ४१९ मतभार पाएर विजयी हुनुभयो । त्यस्तै, अन्यतर्फ कांग्रेसकै बलदेव बोहराले चार हजार ३४७ मतभार पाएर विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । सुदूरपश्चिममा तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।
कर्णालीमा गठबन्धनका तीनैजना विजयी
कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी हुनुभएको हो ।
प्रदेशसभाका ४० सांसदमध्ये महिलातर्फ गठबन्धनकी मल्लले २९ मत प्राप्त गर्नुभयो भने स्थानीय तहतर्फ ११५ मत प्राप्त गर्नुभयो । एमालेकी उम्मेदवार हुम्लाकी विमला शाहीले प्रदेश सभातर्फ ११ र स्थानीय तहतर्फ ४१ मत प्राप्त गर्नुभयो ।
यस्तै, दलित समूहतर्फ गठबन्धनका उम्मेदवार विकले प्रदेश सभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी एमाले उम्मेदवार दैलेखका हिक्मतबहादुर विकले प्रदेश सभातर्फ ११ र स्थानीय तहतर्फ ३६ मत प्राप्त गर्नुभयो । अन्यतर्फ गठबन्धन दलका उम्मेदवार रोकायले प्रदेश सभातर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी एमाले उम्मेदवार मुगुका डिल्लीप्रसाद भट्टले प्रदेशसभातर्फ १० र स्थानीय तहतर्फ ३६ मत प्राप्त गर्नुभयो ।
स्वतन्त्र तीन मेयरद्वारा मतदान बहिष्कार
गत वर्ष स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित चर्चित तीनजना मेयरले राष्ट्रियसभा निर्वाचनको मतदान बहिष्कार गरेका छन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिष्कार गर्नुभएको हो । तीनैजना मतदान केन्द्रमा जानुभएन । हर्कको मतदान केन्द्र कोशी प्रदेशको विराटनगर, बालेनको मतदान केन्द्र बागमती प्रदेशको हेटौँडा र गोपीको मतदान केन्द्र सुदूरपश्चिमको धनगढीमा थियो । स्थानीय निर्वाचन स्वतन्त्र जितेका तीनैजना दलका उम्मेदवारलाई मतदान गर्न नगएको बुझिएको छ । तीनैजना मेयरले कार्यव्यस्तता देखाउँदै मतदान बहिष्कार गर्नुभएको हो ।
माओवादी बन्यो पहिलो दल, तेस्रोमा खुम्चियो एमाले
बिहीबार भएको निर्वाचनमा उम्मेदवारी दिएका माओवादीका ६ जनामध्ये पाँच उम्मेदवार निर्वाचित भएका छन् । योसँगै राष्ट्रिय सभामा माओवादी पहिलो दल बनेको छ । अब राष्ट्रिय सभामा माओवादीका १७ जना सदस्य हुनेछन् । अहिले राष्ट्रिय सभामा १० सिट मात्रै रहेको कांग्रेस अब १६ सिटसहित दोस्रो भएको छ । यसपालि एमालेलाई भने ठूलो घाटा लागेको छ ।
एमालेका १७ जना राष्ट्रियसभा सदस्य थिए । तीमध्ये आठ जनाको पदावधि यसपटक सकिँदै छ । एमालेले रिक्त रहेका आठमा सात सिट गुमाएसँगै एमालेका अब १० जना सांसद छन् । योसँगै प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको छ । अरू दलहरूको सांसद संख्यामा भने फेरबदल आएको छैन । नेकपा एकीकृत समाजवादीको यसअघि आठ सिट रहेकोमा अहिले पनि आठ सिट नै हुने भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) को यसअघि तीन सिट रहेकोमा यसपालि पनि तीन सिट नै छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाको राष्ट्रिय सभामा एक/एक सिट छ भने राष्ट्रपतिबाट मनोनीत हुने तीनमध्ये एउटा सिट खाली भएको छ ।
राष्ट्रिय सभामा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये हरेक प्रदेशबाट आठ/आठजना निर्वाचित हुन्छन् भने तीनजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन् ।
एमालेले राजनीतिक बेइमानी गर्यो : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा एमालेले राजनीतिक बेइमानी गरेको प्रतिक्रिया दिएको छ । राप्रपाका केन्द्रीय प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले गठबन्धन गरेको दलको उम्मेदवारलाई भोट नदिएर एमालेले कोशी प्रदेशमा राजनीतिक बेइमानी गरेको बताउनुभयो । एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उतारिएका पार्टीका उम्मेदवार पराजित भएपछि राप्रपा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘हामीले इमानदारीपूर्वक मतदान गर्यौँ तर एमालेबाट सहमति अनुरूपको भोट आउन सकेन । एमालेबाट धोका भएको छ ।’
एमालेले राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दिने बेलादेखि नै राप्रपासँग’ राजनीतिक बेइमानी’ संकेत गरेको श्रेष्ठको भनाइ छ । ‘एमालेले सुरुदेखि नै राजनीतिक बेइमानी र धोका दिने संकेत देखाएको थियो,’ उहाँले भन्नुभयो, ‘हामी उम्मेदवारी फिर्ता लिने दिन नै सहमति गर्न चाहन्थ्यौँ । विभिन्न बहाना बनाएर एमालेले माघ ७ गते मात्रै गठबन्धनका लागि सहमति गर्यो । आफ्ना उम्मेदवार जिताउने तर तालमेल गरेको पार्टीको उम्मेदवारलाई हराउनु राजनीतिक बेइमानी हो ।’
कांग्रेसले पटक-पटक अन्तर्घात गर्यो : माओवादी
माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशी प्रदेशमा कांग्रेसले पटक-पटक अन्तर्घात गरेको आरोप लगाउनुभएको छ । बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहनुभएकी चम्पा कार्की पराजित भएपछि नेम्वाङले कांग्रेससँग सहकार्य तोड्ने चेतावनीसमेत दिनुभएको हो । ‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटक-पटक धोका दिएको छ । कांग्रेसकै कारण यसअघि संसद्मा माओवादीले सभामुख गुमायो,’ उहाँले भन्नुभयो, ‘अहिले पनि हाम्रा उम्मेदवार पराजित भए । पार्टी नेतृत्वले केन्द्रमा सहकार्य भए पनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्छौँ ।’
महिलातर्फ एमालेकी रुकमिणी कोइराला हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । - सम्पादक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच