जलवायु परिवर्तनको जोखिम दक्षिण एसियाली देशहरूमा उच्च रहेको विज्ञहरुको दाबी

कार्बन उत्सर्जनका हिसाबले भारत र चीनको चेपुवामा नेपाल

हिमालय टाइम्स
Read Time = 5 mins

लन्डन । जलवायु परिवर्तनसम्बन्धी अनुसन्धाता तथा विज्ञहरूले विश्वका अन्य देशहरूको तुलनामा दक्षिण एसियाली देशहरू जलवायु परिवर्तनको उच्च जोखिममा रहेको औँल्याएका छन् ।

बेलायतबाट सञ्चालित साउथ एसिया टाइम न्यूजपोर्टलको पाँचौँ वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित ‘क्लाइमेट चेन्ज एन्ड साउथ एसिया रिजनल च्यालेन्ज इन अ ग्लोबल क्राइसिस’ विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले जलवायु अनुकूलताका लागि चाँडै नै सोच्नुपर्ने अवस्था आइसकेको बताएका हुन् ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.महेश्वर ढकालले जलवायु परिवर्तनलाई १९९२ सम्म वातावरणीय रूपमा बुझ्ने गरिए पनि अब कूटनीतिक, राजनीतिक, आर्थिक समस्याको रूपमा बुझ्न थालिएको बताउनु भयो। भारत र चीनले गर्ने कार्बन उत्सर्जनका कारण दक्षिण एसिया नै प्रभावित भएको बताउँदै उहाँले भन्नुभयो,‘दक्षिण एसियामा कार्बन उत्सर्जनका हिसाबले भारत र चीनको चेपुवामा नेपाल छ । भारत र चीनमा आर्थिक विकास तीव्र गतिमा भइरहेकाले उत्सर्जनबाट नेपाल बच्न सक्दैन । उत्सर्जन घटाउन पहल गर्नै पर्छ ।’

उहाँले जलवायु अनुकुलतका साथै नेपालले पानी, खाद्य सुरक्षा, गरिबी, जनसङ्ख्या बुद्धिलगायतका कोणबाट सोच्नुपर्ने समेत बताउनु भयो । ।

हाल इटालीको मिलानोमा बसेर अनुसन्धान गरिरहनुभएकी जलवायु सम्बन्धी अनुसन्धानकर्ता डा शोभा पौडेलले राष्ट्रिय नीतिहरू अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा केन्द्रित रहने गरेको उल्लेख गर्दै कोप सम्मेलनले निर्धारण गरेका मुद्दालाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो। शून्य कार्बन उत्सर्जन, जलवायु मैत्री लगानी लगायतका उपायबाट प्रभावित समुदायको अवस्था बुझ्नुपर्ने औँल्याउनु भयो । उहाँले नेपालको कृषि प्रणालीमा जल वायु परिवर्तनको असरका बारेमा थप अध्ययन गर्नुपर्ने बताउँदै सरकारले किसानलाई जलवायुमैत्री खेती गर्न प्रेरित गर्नेखालको नीति ल्याउनु पर्ने बताउनु भयो ।।

बीबीसी विश्व सेवाका विश्व वातावरण संवाददाता नवीन सिंह खड्काले पुरै दक्षिण एसिया जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउनु भयो । एसियामा मान्छेको जीवन र रोजगारी साथै भौगोलिक हिसाबले फरक फरक समस्या देखिएको उहाँले भन्नुभयो । ‘मरुभूमिमा र हिमालको समस्या फरक छ । सगरमाथा बेसक्याम्पमा पानी धेरै पर्नु त्यसको असर हो । दक्षिण एसियामा सुरक्षित कुनै ठाउँ छैनन् । २०३० सम्म ३० प्रतिशत कार्बन उत्सर्जन घटाउनुपर्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो। संसार मै तेस्रो सबै भन्दा धेरै कार्बन उत्सर्जन गर्ने मुलुक चिन र तेस्रो बढी उत्सर्जन गर्ने भारतको बीचमा रहेकाले नेपाल उच्च जोखिममा रहेको उहाँले बताउनु भयो ।

बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले दक्षिण एसियाको गरिबी निवारण र आर्थिक विकासमा धेरै काम गर्नुपर्ने औँल्याउँदै उच्च सहरीकरण र गरिबीको समस्या घटाउनुपर्ने र ऊर्जा, आर्थिक, वातावरणबिचमा सामञ्जस्ययता हुनुपर्ने बताउनु भयो ।

उक्त अवसरमा कार्यक्रममा नेपाली दूतावास बेलायतकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्य, नेपाल पत्रकार महासङ्घ बेलायत शाखाका अध्यक्ष ध्रुव राज अर्याल, उपाध्यक्ष दिनेश परियार लगायतले शुभकामना दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?