हुम्लामा हिमपात हुँदा हवाई सेवा अवरुद्ध, किसान खुसी

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हिमाली जिल्ला हुम्लामा लामो समयपछि हिमपात भएको छ । हिमापात हुँदा अन्तरजिल्ला जोड्ने एक मात्रै हवाइ सेवा अवरुद्ध भएको छ । गएरातिदेखि हिमपात हुँदा नेपालगञ्ज र सुर्खेतबाट कुनै पनि जहाजले उडान भर्न नसकेका हुन् ।

झण्डै साढे एक महिनापछि बुधबार रातीदेखि हुम्लामा हिमपात हुँदा यहाँका किसान खुसी भएका छन् । बुधबार दिनभर मौसम सफा भएपनि रातीदेखि जिल्लामा हिमपात भएको हो । उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथ लगायत अधिकांश उच्च क्षेत्रमा बिहिबार विहान हिमपात भइरहेको छ । होचो स्थानमा पानी परिरहेको छ ।

लामो समयदेखि हिमपात नहुँदा खडेरी हुने चिन्तामा रहेका किसानको मुहारमा खुसी छाएको कृषक कर्ण बोहराले बताउनुभयो । यो पटकको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा समेत सहयोग पुगेको बोहराले बताउनुभयो ।

हिउँ नपर्दा चिन्तामा रहेका हुम्लाका किसानको मुहारमा महिनौपछि आएको हिउँले भने खुसी ल्याएको बोहराको भनाई थियो । खेतबारीमा लगाएका बाली सुक्न थालेको समयमा हिमपात र वर्षा हुँदा सहज भएको छ । स्याउ ओखरका बिरुवा मात्र नभएर खडेरीले सुक्न थालेको जेठासी बाली पनि बचेको उहाँको भनाइ छ ।

कात्तिके बाली लगाउन कठिन भइरहेको बेला यो पटक परेको हिमपातले बीउ छर्न, खनजोत गर्न सहज भएको किसान मुक्ति रावतले बताउनुभयो । किसानहरू खडेरी परेको कारण कात्तिके बाली लगाउन नसकिने चिन्तामा थिए । लामो समयपछि हिमपात हुँदा स्थानीय र बालबालिका बिहानैदेखि हिउँमा रमाउन थालेका छन् ।

उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गार लगायतका उच्च भागमा बाक्लो हिउँ परेको लिमी स्वास्थ्य चौकीमा कार्यरत लोग बोहराले बताउनुभयो । हिमपात सुरु भएसँगै लिमीमा चिसो अत्याधिक बढेको बोहराले बताउनुभयो । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?