गुल्मीमा झण्डै छ हजार किशोरीको रक्तअल्पता परीक्षण गरिँदै

हिमालय टाइम्स
Read Time = 3 mins

गुल्मी । गुल्मीमा झण्डै छ हजार किशोरीहरुको रक्तअल्पता परीक्षण गरिने भएको छ । स्वास्थ्य कार्यालय गुल्मीले माघ अन्तिम हप्ताबाट यस जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत करिब पाँच हजार ९०० जना किशोरीहरुको रुक्तअल्पता परीक्षण गर्ने भएको हो ।

जिल्लामा आर्थिक वर्ष २०७७/०७८ देखि १० देखि १९ वर्ष उमेर समुहका किशोरीहरुलाई आइरन र फोलिक एसिड खुवाउँदै आइएको छ । जिल्लाका १२ वटै स्थानीय तहमा रहेका विद्यालयमा अध्ययनरत किशोरीहरुलाई वर्षको दुई पटक १३/१३ हप्ताको फरकमा आइरन र फोलिक एसिड खुवाउँदै आइरहेको स्वास्थ्य कार्यालय गुल्मीका परिवार नियोजन सुपभाइजर गोपाल बहादुर कार्कीले जानकारी दिनुभयो ।

यसरी आइरन र फोलिक एसिड सेवन गरिरहेका किशोरीहरुको रक्तअल्पताको अवस्था के कस्तो रह्यो ? भनेर परिणाम हेर्नका लागि प्रत्येक पालिकाको दुई वटा माध्यमिक विद्यालयमा रक्तअल्पताको परीक्षण गर्न लागिएको हो ।

शुक्रबार तम्घासमा जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र शिक्षा शाखा प्रमुखहरुलाई किशोरीहरुको रक्तअल्पता परीक्षण तथा व्यवस्थापनका लागि अभिमुखीकरण गरिएको हो ।

त्यस अवसरमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले किशोरीहरुको रक्तअल्पता परीक्षणका लागि समन्वय र अनुगमन गरी सहयोग पुर्‍याउने बताउनुभयो । अभिमुखीरण कार्यक्रमको सहजीकरण परिवार नियोजन सुपरभाइजर गोपालबहादुर कार्कीले गर्नुभएको हो ।

वरिष्ठ जनस्वास्थ्य अधिृकत पुष्पा थापाले कार्यक्रमकोअध्यक्षता रहेको थियो । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, जिल्लाका सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?