नयाँदिल्ली । झारखण्ड मुक्तिमोर्चा (झामुमो)का उपाध्यक्ष चम्पाई सोरेनले झारखण्डको मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको छ । राज्यपाल सिपी राधाकृष्णनले शुक्रबार राजभवनमा उहाँलाई पद र गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । हेमन्त सोरेनको राजीनामा र प्रवर्तन निर्देशनालय (इडी)ले उहाँलाई पक्राउ गरेपछि झामुमोका वरिष्ठ नेता चम्पाई सोरेनको नाम सत्तारुढ गठबन्धनका नयाँ नेताका रूपमा प्रस्ताव गरिएको थियो । चम्पाई सोरेनपछि कांग्रेसका नेता आलमगीर आलमले झारखण्डको क्याबिनेटमा मन्त्रीका रूपमा शपथ लिनुभएको थियो ।
शपथ ग्रहण गर्नेमा राष्ट्रिय जनता दलका सत्यानन्द भोक्ता पनि सामेल हुनुहुन्थ्यो । जमिन घोटाला मामिलामा इडीले सोधपुछ गरेपछि हेमन्तलाई पक्राउ गरेको थियो । इडीको सोधपुछलगत्तै हेमन्तले मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।
चम्पाई सोरेनको जन्म १ नोभेम्बर १९५६ मा सरायकेला खर्सवानमा भएको थियो । आदिवासी परिवारमा हुर्कनुभएका चम्पाई सोरेन झारखण्ड मुक्तिमोर्चाका संस्थापक सदस्यहरूमध्ये एक हुनुहुन्छ । सन् १९९५ मा पहिलोपटक विधायक निर्वाचित भएर चम्पाई सोरेन विधानसभामा पुग्नुभएको थियो । सराइकेला खर्सवान सिटबाट विधानसभामा प्रवेश गरेपछि चम्पाई सोरेनले आफ्नो झण्डा निरन्तर फहराइरहनुभएको छ ।
झारखण्डको १२औँ मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएका चम्पाईले १० दिनभित्र बहुमत प्रमाणित गर्नुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच