लुम्बिनी । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ । बुटवल-१२ तामनगर प्रगति टोलकी एक सय १० वर्षीया ऐरावती बरईको स्वास्थ्य सोमबार परीक्षण गरेर कार्यक्रमको सुरुआत गरिएको छ । बरईकोे घरमै पुगेर नगरप्रमुख खेलराज पाण्डेयले फलफूल र स्वास्थ्यवर्द्धक सामग्री दिएर अभियानको सुरुआत गर्नुभयो । ज्येष्ठ नागरिक बरईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनेगरी योजना बनाएको र कार्यान्वयन गर्दै लग्ने बताउनुभयो । चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवद्र्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमितरूपमा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्याउन थालेको बताउनुभयो ।
नगर प्रवक्ता शिव रानाले घरघरमा पुग्ने स्वास्थ्य परीक्षण कार्यक्रमको लाभ लिन आग्रह गर्नुभयो । उहाँले आगामी वर्ष पनि यस्ता अभियान नियमितरूपमा सञ्चालन हुने जानकारी दिनुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा पाठकले घरदैलोमा पुग्ने यस्तो सुविधाले नागरिकलाई सहज हुने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रबाट बुटवल उपमहानगरपालिकालाई सक्दो सहयोग गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्याल, औषधि व्यवसायी सङ्घका खड्गबहादुर बस्नेत, निजी अस्पतालहरूको एशोसिएसनका रामप्रसाद खरेललगायतले बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित बाआमासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने जानकारी दिनुभयो ।
उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा पाठक, स्त्रीरोग विशेषज्ञ डा राजेन्द्र बस्याल, फिजिसियन डा हरि पन्थीलगायत विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिसमेत निःशुल्क दिइने उहाँले बताउनुभयो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच