![खर्च गर्न नसकेपछि सरकारले घटायो बजेटको आकार](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/Government-reduced-the-size-of-the-budget.jpg)
भ्रष्ट नेता र दास कार्यकर्ताले देशलाई खोक्रो बनाउने काम तीव्र बढेकोमा सम्पूर्ण जनता अहिले निराश र किंकर्तव्यविमूढ छन् । जनता बिलखबन्दमा भएको अवस्थामा जनतामा आशा र भरोसा जगाउन जब राजनीति असफल हुन्छ त्यसबखत बुद्धिजीवी र विद्वान सरकारलाई सहीबाटो अख्तियार गर्न दबाब दिने मुख्य भूभिकामा हुन्छन् । यो विकराल अवस्थामा रहेको भ्रष्टाचार, अनियमितता, विधिविहीनता, कुशासनजस्ता रोगलाई दरो उपचार गर्न सरकारलाई खरो दबाब दिने विशेष रणनीति नेपाली बुद्धिजीवीहरू किन अख्तियार गर्दैनन् ? भ्रष्टाचार अनियमितता, नातावाद र ढुकुटीको दुरुपयोगको विषयमा जबसम्म बुद्धिजीवीहरूले सामूहिक रूपमा सशक्त विरोध गर्दैनन् त्यतिबेलासम्म यो रोगको उपचार सम्भव हुँदैन ।
यो चेतना बुद्धिजीवीसँग पक्कै छ तर किन कार्यान्वयन हुँदैन ? रहस्यमय छ । यसको अर्थ देशका अधिकांश बुद्धिजीवीहरू कतै नक्कली प्रमाणपत्रधारी त छैनन् भनेर कसैले प्रश्न गर्यो भने के हाम्रा बुद्धिजीवीहरू तर्कपूर्ण उत्तर दिने अवस्थामा छन् ? जसले आफ्नो जिम्मेवारी निर्वाह गर्दैन त्यो अयोग्य घोषित हुन्छ । जिम्मेवारी बुद्धिजीवीहरूबाटै निर्वाह हुँदैन भने यो जिम्मेवारी कसले निर्वाह गर्ने ? भनिन्छ देशलाई संकटबाट मुक्ति दिने र समस्याहरूको निकास खोज्ने शक्ति बुद्धिजीवीहरूमा मात्र हुन्छ । त्यो शक्ति यदि देश र जनताको हितमा प्रयोग भएन भने देशका बुद्धिजीवीहरूसँग भएको विज्ञता र विद्वताको के अर्थ ?
विद्वानले, भ्रष्ट नेताहरूले आ-आफ्नो भ्रष्टाचार उद्योग निर्वाध सञ्चालन गर्ने कुत्सित रणनीतिलाई जान्दाजान्दै विभिन्न पार्टीहरूको सदस्यता लिएर पार्टीको विद्वान् बनेका छन् । समस्या कहाँ छ भने बुद्धिजीवी राष्ट्रका बुद्धिजीवी बन्नुपर्नेमा पार्टीका बुद्धिजीवी बने ।
अहिले बुद्धिजीवीहरूले आफूलाई देशको वास्तविक बुद्धिजीवी भएको प्रमाणित गर्न वर्तमान राजनीतिमा व्याप्त भ्रष्टाचार, कुशासन, अनियमितता, नातावाद र कृपावादको सशक्त विरोध गर्न गोलबन्द हुने बेला आएको छ । राजनीतिज्ञहरूमा राष्ट्रिय स्वार्थको ठाउँ यदि व्यक्तिगत स्वार्थले लियो भने भ्रष्टाचार, अनियमितता, परिवारवादजस्ता विकृति फष्टाउँछन् । हालको समस्या भनेकै राजनीतिमा राष्ट्रिय स्वार्थको खडेरी हो । राजनीतिमा मौलाउँदो व्यक्तिगत स्वार्थलाई जबसम्म बुद्धिजीवीहरूबाट सामूहिक रूपमा प्रहार हुँदैन त्यो समयसम्म भ्रष्ट नेताहरूले निःसन्देह व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्छन् ।
जहाँ बुद्धिजीवीहरू एउटै मोर्चामा घेराबन्दी भएर भ्रष्टाचार, कुशासन, अनियमितता र राज्यकोषको लुटको विरुद्धमा खरो उत्रँदैनन् त्यतिबेलासम्म देशले यस्ता विकृतिबाट किमार्थ निकास पाउँदैन । देशका बुद्धिजीवीहरूलाई पार्टी पार्टीका बुद्धिजीवी बनाएर सबै पार्टीका भ्रष्ट नेताहरूले अहिले बुद्धिजीवीहरूको शक्तिलाई क्षीण बनाएका छन् । नेताहरूले बुद्धिजीवीहरूलाई विभिन्न पार्टीमा विभाजित गरेर यस शक्तिलाई कमजोर बनाउने रणनीति भ्रष्टाचार, अनियमितता र नातावादभन्दा खतरनाक विषय हो । यो वास्तवमा पार्टी-पार्टीमा बुद्धिजीवीलाई विभाजित गर्ने भ्रष्ट नेताहरूको रणनीतिक सफलता हो भने देश र जनताको दुर्भाग्यको सूचक हो ।
वर्तमान भ्रष्ट नेताहरू र दास कार्यकर्ताले के बुझेका छन् भने हामीलाई कतैबाट खतरा छ भने बुद्धिजीवी वर्गबाटै छ । तसर्थ उनीहरूले बुद्धिजीवी, कवि, कलाकार, वैज्ञानिकहरूलाई समेत पार्टी-पार्टीमा विभाजित गरेर उनीहरूको शक्तिलाई कम गर्न सबैको छुट्टाछुट्टै संगठन खोलेर विद्वानलाई विभाजित गर्ने र भ्रष्टाचार, कुशासन रूपी उद्योगलाई निरन्तर सञ्चालन गर्ने रणनीति अख्तियार गरेका छन् । हाम्रो दुर्भाग्य सबै पार्टीहरूमा आबद्ध बुद्धिजीवीहरू राजनीतिक नियुक्तिको हरियो घाँसको लोभले कुनै न कुनै पार्टी र कुनै न कुनै नेताको तावेदारी गर्न बाध्य छन् । बुद्धिजीवीहरू यदि लाभ र लोभमा परे भने त्यसले उनीहरूलाई डरपोक र सत्ताको तावेदारी गर्ने लत बसाल्छ ।
अधिकांश बुद्धिजीवी लाभ र लोभका कारण सत्ताबाट झर्छ र खाउँला भन्ने मनस्थितिमा छन् । उनीहरूबाट हुने खरो विरोधबाट वर्तमान भ्रष्ट शासकहरू बचेका छन् । स्थायी प्रतिपक्षका रूपमा स्वतः विरोधमा क्रियाशील हुने बुद्धिजीवीहरूलाई आफ्नो पार्टीको कार्यकर्ता बनाउने रणनीतिका कारण भ्रष्टाचार, कुशासन र परिवारवादजस्ता विकृतिजन्य उद्योग फष्टाएका छन् । बुद्धि पुर्याउन जाने र तावेदारी गर्ने विद्वानबाट सरकारका कमजोरीविरुद्ध बोल्ने र लेख्ने शक्ति हुँदैन ।
विद्वानहरूले, भ्रष्ट नेताहरूले आ-आफ्नो भ्रष्टाचार उद्योग निर्वाध सञ्चालन गर्ने कुत्सित रणनीतिलाई जान्दाजान्दै विभिन्न पार्टीहरूको सदस्यता लिएर पार्टीको विद्वान् बनेका छन् । समस्या कहाँ छ भने बुद्धिजीवीहरू राष्ट्रका बुद्धिजीवी बन्नुपर्नेमा पार्टीका बुद्धिजीवी बने । देशका बुद्धिजीवीहरूले देश र समग्र जनताको उत्थान र हितको विषयमा सोच्छन् । त्यसैले देश र जनताले प्रगति गर्छन् तर हाम्रो दुर्भाग्य हाम्रा बुद्धिजीवीहरू देश र समग्र जनताको उत्थानको विषयमा सोच्दैनन् । उनीहरू त आफ्नो र संलग्न पार्टी र नेताहरूको मात्र हितको विषयमा चिन्तन गर्छन् ।
अहिले बुद्धिजीवीहरूले देशका बुद्धिजीवी नभएर पार्टीका झोले बुद्धिजीवीका रूपमा गलत पहिचान बनाएका छन् । देशमा अहिले पार्टीका डाक्टर, पार्टीका वकिल, पार्टीका न्यायाधीश, पार्टीका प्रोफेसर, पार्टीका शिक्षक, पार्टीका कर्मचारी छन् । अहिले देशको न्यायाधीश, डाक्टर, शिक्षक, प्राध्यापक, वकिल, कर्मचारी नै नभएको अवस्था छ । देशसँग बुद्धिजीवी भएको भए देश सप्रन्थ्यो । आआफ्नो पार्टीका बुद्धिजीवीका कारण पार्टीहरू सप्रेका छन् तर ती सप्रेका पार्टीका नेताहरू सबै बिग्रेका कारण तिनीहरू सबै भ्रष्टाचार, अनियमिततामा फसेका छन् ।
दलाल-तस्करहरूको एजेण्डा बोकेर अवैध आम्दानी गर्ने र विलासी जीवन बिताउने भन्नेबाहेक देश र जनताको हितका विषय कुनै पार्टीको नेताको प्राथमिकता नभएपछि देशमा भ्रष्टाचार, अनियमितता, परिवारवादजस्ता विषयहरूको बिगबिगी स्वाभाविकै हुन्छ । अहिले भएको पनि त्यही हो । बुद्धिजीवीहरू फालाफाल हुँदाहुँदै बुद्धिजीवीहरूलाई विभाजित गर्ने दुई-चारजना नेताहरूको आपराधिक राजनीतिले देश बुद्धिजीवीविहीन बनेको छ । देशको हितमा काम गर्ने बुद्धिजीवीहरूको नितान्त खडेरी छ ।
राजनीतिक पार्टीका हिलेमाछाहरूले धमिल्याएको पानीलाई सुदृढीकरण र शुद्धीकरण गर्ने अन्तिम जिम्मेवारी बुद्धिजीवीहरूकै हो । त्यो भूमिका निर्वाह गर्ने जिम्मेवारीबाट भाग्ने, छल्ने वा चुप बस्ने किमार्थ बुद्धिजीवीको श्रेणीमा पर्दैनन् । हामीले सामाजिक-आर्थिक संरचना र मानसिकतामा परिवर्तन नगरी राजनीतिक पद्धतिलाई हठात परिवर्तन गर्यौं । देश कहिल्यै उपनिवेश भएन तर छिमेकी देशको उपनिवेशी मानसिकताको प्रभाव हामीमा परेको छ । परिवर्तनका लागि भएका आन्दोलनहरूमा मुख्य एजेण्डा गरिबी निवारण गर्ने थियो । तर, सबै राजनीनिक परिवर्तनपछि सरकारको नेतृत्व लिने दलका नेताहरूले पहिल्यैका गरिबी र अभावसँग सम्बन्धित एजेण्डालाई चरम बेवास्ता गर्दा जनताका एजेण्डा प्राथमिकताभन्दा बाहिर परे ।
देशमा भ्रष्टाचार, अराजकता, ढुकुटी दोहन, विधिविहीनता र कुशासन आदिको विपक्षमा आवाज उठाउने जिम्मेवारी प्रतिपक्षको हो । त्यो काम कुनै प्रतिपक्षले इमानदारीपूर्वक गरेन । मिलिजुली शासन, आलोपालो शासन र गठबन्धनको शासनको संस्कृतिका कारण भ्रष्टाचार निवारणभन्दा समयक्रममा भ्रष्टाचारलाई सत्ताधारी दलका नेताहरू र प्रतिपक्षीदलका नेताहरूले संस्थागत बनाए । सरकारमा हुँदा सबै दलका नेताहरूको साझा एजेण्डा भ्रष्टाचार बन्यो । फेरि समानुपातिक निर्वाचन पद्धति समयक्रममा अभिशाप प्रमाणित भयो ।
२००७ सालको क्रान्तिपछि खुलेका विद्यालयहरू र विश्वविद्यालयको संख्यात्मक वृद्धिसँगै देशमा डिग्रीधारी बुद्धिजीवीहरू जुन अनुपातमा बढेका छन् त्यस अनुपातमा देशमा अन्याय, अत्याचार, कुरीति, कुशासन, घोटाला र भ्रष्टाचार पनि असामान्य वृद्धि भएको छ ।
समानुपातिक पद्धतिले कसैको बहुमत नहुने वातावरण बन्ने पूर्वयोजनाका साथ ल्याएको वर्तमान संविधानले गठबन्धन सरकार अपरिहार्य बन्यो । प्रधानमन्त्रीको पद नै तीन-चार पार्टीका नेताहरूको म्युजिकल चेयर बन्ने अवस्थाले हाम्रो दुर्भाग्य निम्तिएको छ । सत्तामा जब कुर्सीको लेनदेन हुन्छ प्राथमिकता भ्रष्टाचारको हुन्छ । मिलिजुली सरकारमा भ्रष्टाचारको विकल्प नभएको तीतो अनुभव जनतासँग छ भने त्यही भ्रष्टाचारको गुलियोमा रमाउने नेताहरूका लागि समानुपातिक पद्धतिबाट बन्ने गठबन्धन सरकार भ्रष्ट नेताहरूका लागि बरदान प्रमाणित भएको छ ।
प्रजातान्त्रिक पद्धतिमा जहाँ प्रतिपक्ष लोभीपापी हुन्छ, भ्रष्टाचारको आसले गठबन्धन र मिलिजुली सरकारको विकल्प हुँदैन त्यो अवस्थामा शासकीय कम्पनीहरूका विरुद्ध सशक्त आवाज उठाउने प्रमुख भूमिका बुद्धिजीवीले निर्वाह गर्दछन् । आमजनता शासकीय अत्याचारविरुद्ध उत्रन नेतृत्व आवश्यक हुन्छ । प्रतिपक्षी शक्तिले सरकारलाई गलत बाटोमा हिँड्न जहाँ खबरदारी गर्न सक्दैन त्यहाँको सरकार स्वच्छाचारी हुन्छ । अहिले नेपालमा सबै पार्टीका सरकारहरू भ्रष्टाचारमा चुर्लुम्म डुब्नुको कारण नै अक्षम प्रतिपक्ष हो । गठबन्धन सरकारमा प्रतिपक्षीहरूको भूमिका शून्य भयो । परिणामस्वरूप भ्रष्टाचार र कुशासनको उर्वर युग प्रारम्भ भयो ।
२००७ सालको क्रान्तिपछि खुलेका विद्यालयहरू र विश्वविद्यालयको संख्यात्मक वृद्धिसँगै देशमा डिग्रीधारी बुद्धिजीवी जुन अनुपातमा बढेका छन् त्यस अनुपातमा देशमा अन्याय, अत्याचार, कुरीति, कुशासन, घोटाला र भ्रष्टाचार असामान्य वृद्धि भएको छ । शासकीय जिम्मेवारीमा रहने सबैले राज्यको कानुन, विधिविधानविपरीत निर्णय गर्ने, अवैध सुविधा लिने, रिश्वत लिने जस्ता सत्ता र शक्तिलाई दुरुपयोग गरेका थुप्रै उदाहरण छन् । डिग्रधारी बुद्धिजीवीहरूले अपेक्षित भूमिका निर्वाह गर्न नसक्दा सत्ताधारीबाट राज्यको ढुकुटीको अपचलन गर्ने, ब्रहृमलुट गर्ने र सीमित सत्ताधारीहरू अस्वाभाविक रूपमा मोटाउने क्रम इतिहासमै चुलिएको छ ।
जब राजनीति असहिष्णु, भ्रष्ट, असत्य बन्छ त्यसबखत बुद्धिजीवीहरूमा सत्य, न्यायकाप्रति निर्भीकतापूर्वक प्रतिवाद गर्ने क्षमता राख्दैनन् र आँट गर्दैनन् भने ती बुद्धिजीवी नभएर पढेलेखेका मूर्ख ठहरिन्छन् । अहिले कतै नेपाली बुद्धिजीवीहरूको अवस्था त्यस्तै भएको त होइन ? फुटाउ र राज गर भन्ने सिद्धान्तलाई बुझ्ने, बुझाउने नै बुझ पचाउँछन् । भ्रष्टहरूको तावेदारी गर्छन्, राजनीतिक नियुक्तिका माध्यमले सुन्दर भविष्य देख्छन् र जनताको भविष्यलाई अन्धकार बनाउनेलाई साथ दिन्छन् भने तिनीहरूलाई कसरी बुद्धिजीवी भन्ने ?
अन्याय, अत्याचार, भ्रष्टाचार, ढुकुटीको लुट र परिवारवादको खरो प्रतिवाद जुन बुद्धिजीवीहरूले गर्दैनन् तिनीहरूले विश्वविद्यालयहरूबाट लिएको कागजको खोष्टोले बुद्धिजीवीमा गनिँदैनन् । बुद्धिजीवी तिनीहरूमात्रै हुन् जसले अन्याय र अत्याचारविरुद्धमा निर्भीकताका साथ खरो उत्रन्छन् । बुद्धिजीवीहरू ती हुन् जो आस र त्रासमा आफ्नो विवेक र ज्ञानको दुरुपयोग गर्दैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच