रूपन्देही । बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक चौराहामा उच्च क्षमताका हाइमास्ट लाइट जडान गर्ने भएको छ । ६५औँ स्थापना दिवसको अवसर पारेर बुधबार नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको नयाँ बसपार्क र बसपार्क नजिकैको मुख्य सडकमा हाइमास्ट लाइट शिलान्यास तथा बसपार्क सरसफाइ कार्यक्रम शुभारम्भ गर्दै उज्यालो बुटवल कार्यक्रमअन्तर्गत बुटवलका २३ स्थानमा हाइमास्ट लाइट जडान गरिने बताउनुभयो ।
बुटवललाई उज्यालो, हरियाली र सरसफाइयुक्त शहर बनाउने योजनाका साथ मुख्य सडकमा सौन्दर्यीकरण, हरियाली र उच्च क्षमताका बत्ती जडान गर्ने काम अघि बढेको उहाँको भनाइ थियो । बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्ने योजनाअनुसार पर्यटन क्षेत्रमा काम गरिरहेको पनि पाण्डेयले जानकारी गराउनुभयो । बसपार्कलाई सुविधासम्पन्न बनाउन स्नानगृहसहितको शौचालय निर्माण भइरहेको, उच्च क्षमताको वाइफाइ जडान भएको र हाइमास्ट लाइट जडान हुने क्रममा रहेको भन्दै उहाँले छिट्टै नै विश्रामस्थल र सुविधासम्पन्न क्यान्टिन पनि सञ्चालन हुने जानकारी दिनुभयो ।
६५औँ स्थापना दिवस विविध सिर्जनात्मक कार्यक्रम गरी मनाइरहेको उल्लेख गर्दै पाण्डेयले शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरभित्रका विद्यालयबीचमा फुटबल प्रतियोगिता, लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि लोकनृत्य प्रतियोगिता, महिलालाई सीप र उद्यमसँग जोड्न गृहिणी महिला रोजगार कार्यक्रम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गरिरहेको पनि उहाँले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार बुटवलका २३ वटा चोक चौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान हुनेछन् । जसअनुसार योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पुरानो बसपार्क, लक्ष्मीनगर गेट, बिटिआई चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान हुनेछन् ।
बिपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवसिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका सातवटा लाइट जडान हुनेछन् भने नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका चारवटा लाइट जडान हुनेछन् । टेण्डरमार्फत् एक करोड ८१ लाख ७२ हजार रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटांैडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच