काठमाडौं । सरकारले प्रस्तावित नागमती बाँध (ड्याम) निर्माणको प्रक्रिया अघि बढाएपछि विज्ञहरूले उक्त परियोजनाको वातावरणीय पक्षबारे गम्भीर प्रश्न उठाएका छन् । वन, जीवजन्तुको बासस्थान, पूर्वाधारले निम्त्याउने सम्भावित जोखिम र सामाजिक पाटोका विभिन्न पक्षको सूक्ष्म अध्ययन नगरी ड्याम निर्माण गर्न हतार गरिएको भन्दै उनीहरूले परियोजना अघि बढाएमा आमरण अनसन बस्नेसमेतको चेतावनी दिएका छन् । दातृ निकायको करिब २५ अर्ब ऋण लगानीमा निर्माण गर्ने भनिएको बाँधले वातावरणका विभिन्न पक्षमा क्षति पुर्याउने उनीहरूको ठहर छ ।
शुक्रबार नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले आयोजना गरेको नागमती ड्याम अवसर र चुनौती विषयक हाकाहाकी बहसमा विज्ञ तथा वातावरणविद्हरूले ड्यामका वातावरणीय साथै अन्य जोखिमबारे गम्भीर चासो र चिन्ता प्रकट गरेका हुन् । ६५ हेक्टर क्षेत्रफल ओगट्ने ९४ मिटर अग्लो नागमती ड्याम शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृतिको चरणमा छ । इआइए वन तथा वातावरण मन्त्रालयले स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ । बहसमा वन मन्त्रालयका पूर्वसचिव एवं वातावरणविद् उदयराज शर्माले भन्नुभयो, ‘निकुञ्ज क्षेत्र मास्ने गरी अघि बढेको यो सबैभन्दा खराब प्रोजेक्ट हो, अहिलेसम्मका प्रक्रियामा गम्भीर त्रुटि छ, हचुवामा यस्ता परियोजना बन्नुहुँदैन ।’ नागमतीको प्राकृतिक वहाब पूर्णरूपमा अवरोध गर्ने गरी ड्याम बनेमा वन मन्त्रालय आफैंले बनाएको कार्यविधि उल्लंघन हुने उहाँको दाबी थियो ।
सरकारले नागमती परियोजना पेलेरै अघि बढाएमा वातावरणविद्हरूले आमरण अनसन बस्नेसमेतको चेतावनी दिएका छन् ।
पूर्वसचिव शर्माले भन्नुभयो, ‘निकुञ्ज तथा संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण गर्ने कार्यविधिले पानीको ३५ प्रतिशत प्राकृतिक बहाव छाड्नुपर्ने भनेको छ तर बाँधले पानीलाई पूर्ण अवरोध गर्ने भएकाले यो सरासर गलत छ ।’ वन मन्त्रालयले हालै सार्वजनिक गरेको कार्यविधि संरक्षित क्षेत्र अतिक्रमण गर्ने योजनासहित बनेको संरक्षणकर्मीकोे आरोप छ । वातारणविद् श्रवण शर्माले ९० मिटर अग्लो बाँधमा पानी भरिनेमा आशंका व्यक्त गर्दै बाँध निर्माणमा प्रयोग हुने सिमेन्टको धुलो र अन्य निर्माण सामग्रीको वातावरणीय असर काठमाडौं उपत्यकाभित्रै पर्ने बताउनुभयो । ८० हजारभन्दा बढी रूख काट्ने गरी निर्माण हुने बाँधले उपत्यकाको पानीको स्रोतमा गम्भीर क्षति पुग्ने उहाँको भनाइ थियो ।
नागमती बाँधले सुक्खा मौसममा बागमती नदीमा पानीको बहाव बढाउने, काठमाडौं उपत्यकामा बढ्दो खानेपानी संकट घटाउने, जमिनमुनिको पानीको पुनःभरण गर्न मद्दत गर्ने दाबी गरिएको छ । नागमती बाँध आयोजनाले वन मन्त्रालयमा पेश गरेको प्रतिवेदनअनुसार बाँधले निकुञ्जको ६५.३०४ हेक्टर र निजी जग्गाको ०.२९५ हेक्टर ओगट्छ ।
बाँधको भुइँ सात मिटर चौडाइ र ९० मिटरभन्दा माथिल्लो भेग पाँच सय ५४ मिटर चौडाइको निर्माण गर्न प्रस्ताव गरिएको छ । हालको प्रस्ताव स्वीकृत भएमा नागमती बाँधले नागमती नदीको मुहान पूर्णरूपमा मासिने दाबी गरिएको छ ।
तर, उक्त ड्याम बनेपछि सुक्खायाममा बागमतीमा प्रतिसेकेण्ड चार सय ५० लिटरका दरले पानी बहाव बढाउन सकिने नागमती आयोजनाका प्राविधिकहरूको जिकिर छ । बागमती सुधार आयोजनाका इञ्जिनियर निश्चल छतकुली भन्नुहुन्छ, ‘विभिन्न देशमा भएका ड्यामको वातावरणीय पक्ष र निर्माणका विभिन्न पक्ष अध्ययन गरेर यो परियोजना अघि बढेको हो । २०७२ को भूकम्पपछि पनि बाँध निर्माणस्थलको भौगर्भिक अध्ययन भएकाले अझै पनि वातावरणीय पक्षमा हुन सक्ने त्रुटि हेरफेर गर्न सकिन्छ ।’
संघीय सांसद विराजभक्त श्रेष्ठ, वातावरणविद् शैलेन्द्र पोखरेल, डा. नरेन्द्रमान श्रेष्ठ, रवि शर्मा, बाबुकृष्ण कार्कीलगायतले वातावरणीय पक्ष र हिन्दू धर्मावलम्बीको धार्मिक सांस्कृतिक पाटोमा ठेस पुग्ने गरी यस्ता परियोजना निर्माण गर्न नहुने बताए । बाबुकृष्ण कार्कीले त उक्त ड्यामको काम अघि बढाएमा आमरण अनसन बस्ने चेतावनी नै दिनुभयो ।
सो अवसरमा नेवापसकी अध्यक्ष रोशिनी अधिकारीले विकास गर्दा वातावरणीय भौगोलिकरूपमा अध्ययन गरी दीर्घकालीन असर नपर्ने गरी आयोजनाको विकास गर्नुपर्नेमा समूहको जोड रहेको बताउनुभयो । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जका वार्डेन गणेश पन्तले इआइए प्रक्रियामा धेरै प्रश्न उठिरहँदा संरक्षित क्षेत्रको मूल मर्म मासिने गरी बाँध निर्माण हुने बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘निकुञ्ज क्षेत्रमा धेरै मानवीय चहलपहल हुनुहुँदैन, क्राउड बढाउने क्षेत्र पनि होइन, यसअघि निर्माण भएको धाप ड्यामको प्रभाव मूल्यांकनका आधारमा नागमतीको प्रक्रिया अघि बढाउनुपर्छ, बरु केही वर्ष कुरौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच