काठमाडौं । दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनामा प्रमुख दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला भएको निष्कर्षसहित जाँचबुझ आयोगले शुक्रबार सरकारलाई प्रतिवेदन बुझाएपछि उहाँ नैतिक संकटमा पर्नुभएको छ । गत पुस १३ गते कोरियन भाषा परीक्षामा सहभागी हुन नपाएर आन्दोलित बनेका युवाहरूको भिडमा झण्डावाल गाडी हल्लाउँदै पुग्नुभएका मन्त्री ज्वालाको असंयमित कार्यले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी दुःखद घटना घटेको आयोगको निष्कर्षले उहाँलाई गम्भीर नैतिक र राजनीतिक संकटमा पारेको हो । युवाहरूको आक्रोशित भिडलाई थप उत्तेजित बनाउन घटनास्थलमा मन्त्री ज्वाला पुगेपछि परिस्थिति असहज भएको भिडियोसमेत सार्वजनिक भएको थियो ।
ज्वालाले आफ्नो गाडीमा आगजनी हुने क्रममा आफू घटनास्थलमा उपस्थित नरहेको सञ्चार माध्यममा बताउनुभएको थियो । उहाँले सिंहदरबारबाट निस्किएर ग्वार्कोस्थित कान्तिपुर पार्टी प्यालेसमा जारी पार्टीको बैठकमा आफूलाई छाडेर गाडी फर्किने क्रममा युवाहरूले आगलागी गरेको बताउनुभएको थियो । जबकि उहाँ सवार गाडी जल्नुअघि घटनास्थलमा ज्वालाले आक्रोशित युवाहरूसँग सवाल जवाफ गरेको सार्वजनिक भिडियोमा प्रष्टै देखिएको थियो । अहिले सरकार चौतर्फी विवाद र आलोचित बनेको बालकुमारी घटनाको उपज मन्त्री ज्वाला रहेको तथ्य उजागर हुँदा पनि उहाँले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नुभएको छैन । यस घटनामा सुरक्षा व्यवस्था सहज बनाउन असमर्थ भएका मन्त्रीको सुरक्षागार्डका रूपमा रहेका पिएसओ र फिल्डमा खटिएका ललितपुरका डिएसपीलाई निलम्बन गरे पनि मन्त्री ज्वालाबारे कुनै कदम चाल्न सकेको छैन ।
तत्काल बर्खास्त गर्न एमालेको माग
यता, नेकपा एमालेले पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालालाई पदबाट बर्खास्त गरेर कारबाही गर्न माग गरेको छ । एमालेले उहाँलाई मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएको भन्दै बर्खास्तीको माग गरेको हो । नेकपा एमालेका सचेतक महेश बर्तौलाले ज्वालालाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । बर्तौलाले मन्त्रीकै गम्भीर कमजोरी र लापरबाहीको कारण दुःखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालेपछि एकमिनेट पनि मन्त्रीको जिम्मेवारीमा बस्ने छुट नभएको स्पष्ट पार्नुभयो । ‘एक महिना पहिले दुईजना युवाको मृत्यु हुनेगरी बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको छ । मन्त्रीकै गम्भीर कमजोरी र लापरबाहीको कारण उक्त दुःखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उहाँलाई एकमिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन, तत्काल उहाँलाई मन्त्री पदबाट बर्खास्त गरिनुपर्छ र प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ । ’
उहाँले दोषी मन्त्रीलाई चाहिँ उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामा ल्याउँदा न्याय नहुने धारणा राख्नुभयो । उहाँले फेसबुकमार्फत भन्नुभएको छ, ‘यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाहिँ उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामा ल्याउने प्रयत्न गरियो भने त्यो कदापि न्यायोचित र स्वीकार्य हुने अवस्था रहँदैन । त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयं पनि २४ घण्टे परीक्षामा पर्नुभएको छ । हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ ।’
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको शब्दमा ‘इमान र नैतिकता ढुकढुकी बाँकी छ भने राज्यका निकायले मन्त्री ज्वालालाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
घटनाको दिन मन्त्री ज्वालाले मन्त्रीका लागि दिइएको सरकारी सवारी चालकलाई नभई आफ्ना घरेलु सवारी चालकलाई लगेकाले पनि उक्त घटनामा सजगता अपनाउन नसकेको आयोगको ठहर छ । बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन पेस गरेको थियो । पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो । उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्नेगरी नेपाल सरकार (मन्त्रिपरिषद्) ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो । उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टाराई सदस्य रहेको आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच