✍️ युवराज पौडेल
एक्काइसौं शताब्दीमा भएको प्रविधिको विकासले मानव जीवनशैलीमा ठूलो परिवर्तन आएको छ । आजको विश्वलाई विज्ञान प्रविधिले पूरै छोपेको छ । त्यसैले आजको समयलाई ‘साइबर युग’ वा ‘सूचना साम्राज्यको युग’ पनि भनिन्छ । यतिबेला डिजिटल नेटवर्कमा विश्वका सारा मान्छे जोडिएर एकसाथ अन्तरक्रिया गर्नसक्ने डिजिटल प्लेटफर्म निर्माण भइरहेको छ । आज सूचनादेखि मनोरञ्जनका कुरा, राजनीतिदेखि करियर निर्माणसम्मका कुराहरूमा सामाजिक सञ्जालका गतिविधि निर्धारक हुनथालेका छन् । प्रविधिको चरम विकाससँगै जीवनका सबै क्षेत्रमा परिवर्तन आएको छ । भूमण्डलीकरण र उत्तर आधुनिकताले गाँज्दै गएको वैश्विक पुँजीवादी युगमा मान्छेको जीवनका बाँच्ने तथा जीवन भोग्ने तरिका र शैलीमा नसोचेको परिवर्तन आइरहेको छ ।
निश्चय नै प्रविधिको विकास मानव सभ्यताको लागि वरदान नै हो । तर, यति भएर पनि प्रविधिको जति विकास हुँदै छ, त्यसभित्रका केही विकृत पक्षहरू पनि एकपछि अर्काे उजागर भइरहेका छन् । यहाँ प्रस्तुत गर्न खोजिएको मूल विषय बालबालिकाहरूको अनलाइन गेमको कुलत र यसले सिर्जना गरिरहेको दुष्परिणामका सम्बन्धमा हो । अनलाइनमा खेलिने विभिन्न खेलहरू छन् । मिनिमिन्टा, पब्जी, फ्रि फायर, माइन्डक्राप्ट, क्लास अफ क्लान्स आदि आदि खेलहरू नेपालका बालबालिकाहरूका बीचमा लोकप्रिय अनलाइन खेल मानिन्छन् । यी खेलका लागि इन्टरनेट चाहिन्छ । यी गेमहरूमा एकपछि अर्को लेभल हुन्छ । लेभल क्रस गरेपछि उपहार पाइन्छ । अन्तिमसम्म टिकिरहने नै विजेता बन्छ ।
यतिबेला प्रविधिले सबैभन्दा बढी प्रभाव हाम्रा कलिला बालबालिकाहरूमा पारिरहेको छ । बालबालिकाहरू जन्मनासाथ प्रविधिका दास बनिरहेका छन् । यतिबेला पश्चिमा मुलुकका डिजिटल व्यापारीहरूले निर्माण गरेका विभिन्न अनलाइन खेलहरूले हाम्रा बालबालिकाहरूको संस्कार र आदतमा ठूलो बदलाव ल्याइदिएको छ । शिक्षणमा सहभागी एक शिक्षकको नाताले पनि अहिलेका विद्यार्थीहरूको डिजिटल कुलतप्रति केही हदसम्म जानकार सम्झेर यो लेख प्रस्तुत गरिरहेको छु । म यहाँ आफैँ अनलाइन गेमको कुलतको समस्यामा परिरहेका बालबालिकाहरूको अभिभावक र शिक्षकका रूपमा भुक्तभोगी भएर आफ्नै व्यथालाई प्रतिनिधिमूलक समस्याका रूपमा सुनाउने प्रयत्न गरिरहेको छु ।
मेरा १३ र ५ वर्षका छोराहरूलाई म आफैँले अनलाइन गेमको लतबाट मुक्त बनाउन नसकेको पीडा प्रतिनिधिसभामा आशाकुमारी बिकले ‘पब्जी’ र ‘फ्रिफायर’ बन्द गर्न सरकारसँग अनुरोध गर्दा केही कम भएको महसुस गर्छु । आफ्नै छोराछोरीलाई मोबाइलको लत छुटाउन नसक्नेले किन ठूलो फूर्ति गर्ने भन्छन् कि भनेर पनि कतिपय अवस्थामा चुप्प लाग्नु नै बुद्धिमानी ठान्छु । कक्षा ८ मा पढ्ने छोरोलाई डिजिटल कुलतबाट बचाउन म आफैँले गरेका प्रयत्नहरू पनि कम्ती पेचिला छैनन् । कक्षा १ मा पढ्ने ५ वर्षको सानो छोराको डिजिटल मोह पनि कम्ती रोचक छैन ।
दाइको भन्दा भाइको रोग अझै गहिरो छ । ऊ त मोबाइल नभई खानै खाँदैन । विद्यालयबाट आएपछि ड्रेस पनि नखोलीकन उसले आइप्याड वा ल्यापटप खोलिहाल्छ । त्यसमा गएर अनलाइन गेम र गेमसँग सम्बन्धित भिडियो हेर्छ । हामी सबै घरमा नेपाली बोल्ने भएर पनि उसले नेपालीभन्दा हिन्दी बुझ्छ र हिन्दी शब्द बीचबीचमा घुसाएर कुरा गर्छ । म उसको चाला देखेर छक्क पर्छु । गेममा हिन्दी भाषा बढी प्रयोग हुने भएकाले उसको भाषिक लवजमा पनि त्यस प्रकारको परिवर्तन आएको रहेछ भनेर पछिमात्र बुझ्छु ।
घरमा यस्तो देखेर वाक्क भएर गएको म विद्यालयमा गएपछि केटाकेटीका कुराकानी वा गफगाफ सुन्छु । उनीहरूको कुराकानीको ९० प्रतिशत कुराकानी यस्तै अनलाइन गेमका बारेमा हुँदारहेछन् । म उनीहरूप्रति ध्यान नदिएजस्तो गरेर उनीहरूका कुरा सुन्ने प्रयास गर्छु । एकदिन कक्षा ८ मा पढ्ने विद्यार्थीले सोधे, ‘सर ! तपाईंका छोरा कतिमा पढ्छन् नि ? नढाँटी भन्नू त सर ! ‘फ्रि फायर’ खेल्छन् कि ‘पब्जी’ खेल्छन् नि ?’ म अवाक् हुन्छु ।
यसप्रकारको चारैतिर गेमकै कुराकानी र वातावरण विकसित भइरहेको देख्दा मलाई बेलाबेलामा छट्पटी पनि हुन्छ । म त्यो छट्पटी सहन नसकेपछि सामाजिक सञ्जाल ‘फेसबुक’ र ‘ट्विटर’ मा पीडा अभिव्यक्त गरेर हलुका हुने प्रयास गर्छु । मैले बेलबेलामा हानिकारक अनलाइन गेमका दुष्परिणामका बारेमा सञ्जाल वा पत्रिकामा लेखेको पनि हुन्छु । चेतावनीकै भाषामा पनि भनिरहेको हुन्छु, ‘हानिकारक अनलाइन खेलहरू सरकारले नै रोकोस् ।’ तर, खान नपाएर मान्छे भोकले मर्दा नसुन्ने सरकारका कानले हामीजस्ता परिधिका भुँई मान्छेहरूले बोलेका धीमा आवाजलाई सुन्ने कुरै भएन ।
विश्व स्वास्थ्य सङ्गठनले मोबाइलमा अत्यधिक गेम खेल्नुलाई ‘गेमिङ डिसअर्डर’ भनेको छ । क्यालिफोर्निया विश्वविद्यालयका न्युरो साइन्स विभागका निर्देशक डा. पिटर हाइब्रोले स्मार्टफोन, आइफोन जस्ता स्क्रिनयुक्त प्रविधिलाई ‘इलोक्ट्रोनिक कोकिन’ को संज्ञा दिएका छन् । चिनियाँ अनुसन्धाताहरूले यस्तो कुलतलाई ‘डिजिटल हेरोइन’ भनेर टिप्पणी गरेका छन् । चीनको एउटा सरकारी सञ्चारमाध्यमले त अनलाइन खेललाई ‘आध्यात्मिक अफिम’ का रूपमा घोषणा नै ग¥यो । चीनमा गेमको नकारात्मक प्रभाव बढेपछि सरकारले यसमा कडाइ गरेको थियो । पब्जीलाई त चीनले लगभग बन्द नै गरिदियो । चीनको भिडियो गेम नियामक निकायका अनुसार बालबालिकाले शुक्रबार, सप्तान्तर र विदाको दिनमा एक एक घण्टामात्र अनलाइन गेम खेल्न पाउँछन् ।
वास्तवमा आज हाम्रा बालबालिका हानिकारक अनलाइन खेलको गम्भीर जालभित्र फसेका छन् । यो यस्तो लत हो, जसमा डुबेपछि त्यसको निकास र पुनस्र्थापना हामीले सोचेजस्तो सहज र सामान्य छैन । सामान्य रूपमा हेर्दा ‘जमानाअनुसार मोबाइल चलाएको छ, यस्तै हो’ भनेर हामीले जुन रूपमा सामान्यीकृत गरिरहेका छौँ, यो यति सामान्य विषय पक्कै होइन । यो भविष्यमा डरलाग्दो रोगका रूपमा र गम्भीर मनोवैज्ञानिक जटिलता उत्पन्न गराउने कारक तत्व बन्दैछ ।
बालबालिकाका लागि अनलाइन गेमको कुलत रक्सी, गाँजा, अफिम जस्तै वा यीभन्दा पनि गहिरो नसादार कुलत हो, जुन पोखरीमा डुबेपछि कोही सजिलै उत्रन सक्दैन । जति बानी पर्दै गयो, त्यो त्यति जटिल आदत बन्दै जान्छ ।
बालबालिकाहरूका लागि अनलाइन गेमको कुलत रक्सी, गाँजा, अफिम जस्तै वा यीभन्दा पनि गहिरो नसादार कुलत हो, जुन पोखरीमा डुबेपछि कोही सजिलै उत्रन सक्दैन । जति बानी पर्दै गयो, त्यो त्यति जटिल आदत बन्दै जान्छ । पछिपछि सम्बन्धित बालबालिकाले चाहँदैमा पनि त्यो गेमको नसाबाट ऊ स्वयम् बाहिर आउन सक्दैन र हामीले चाहेर पनि उसलाई बाहिर ल्याउन नसकिने स्थिति सिर्जना हुन सक्छ । वास्तवमा इन्टरनेट गेमको कुलतमा गहिरोसँग जोडिएका बच्चाहरूलाई त्यो खाडलबाट निकाल्न पुनस्र्थापना केन्द्रमा उपचार गरेर राख्नुपर्ने दुर्भाग्यपूर्ण स्थिति हामीले घरघरमा भित्र्याइराखेका छौँ ।
यसै सन्दर्भमा डा. अरुणा उप्रेती भन्नुहुन्छ, ‘मोबाइल नभई एकैछिन पनि बस्न नसक्ने, गाँसै नछिर्ने, छट्पटी हुने भएपछि आमाबुबाले उनीहरूको मोबाइल हेर्ने बानी ‘कुलत’ मा परिणत भएको बुझ्नुपर्छ । बालबालिका तथा किशोरकिशोरीलाई इन्टरनेट तथा सामाजिक सञ्जालमा लामो समय बस्न दिएपछि उनीहरूलाई यसको कुलत हुन्छ, रक्सीको जस्तै ।’ (२०७८ असार ११ कान्तिपुर) ।
१५ वर्षमुनिको समय भनेको जीवनको आधारशीला हो । सिकाइका लागि उर्वर उमेर हो । यतिबेला सिकेका कुराहरूले जीवनलाई नै गम्भीर रूपमा प्रभावित पारिरहेका हुन्छन् । संस्कार, आदत, ज्ञान, प्रवृत्ति, सीप सिक्ने महत्वपूर्ण समयमा हाम्रा बालबालिकाहरूले अनलाइन गेममा बन्दुकको गोलीले ड्याङका ड्याङ मान्छे ढालिरहेका छन् । मान्छे मार्न सफल भएकोमा उनीहरू खुसीले उन्मादले चिच्याइरहेका छन् । एउटा पाँच वर्षको कलिलो पूर्वबाल्यावस्थाको बच्चोले मोबाइलमा बन्दुक बोकेर मान्छे रगतपिच्छे बनाउँदै ढलाउँदा लेभल बढाएर गर्व महसुस गरिरहेको छ । अनि हामी ‘छोराछोरी प्रविधिमा अगाडि छन्’ भन्दै मख्ख परिरहेका छौँ ।
बालबालिकाहरूमा यस्तो हिंसात्मक मनोविज्ञान गेममार्फत् जन्माइदिएपछि भोलिको समाज शान्ति र अहिंसारहित हुन्छ भनेर सोचियो भने त्यसभन्दा ठूलो मूर्खता के होला ? महामानव, शान्तिका पूजारी गौतम बुद्धको देशमा बालबालिकाहरूलाई ध्यान गर्न सिकाएर हिंसारहित जीवनतिर प्रेरित गर्नुपर्नेमा पाश्चात्य पुँजीवादी व्यापारीहरूका निहित स्वार्थका लागि हामीले हाम्रा कलिला बालबालिकाहरूको मस्तिष्कमा उत्तेजना, आक्रोश, प्रतिशोध र रगत देख्दा रमाउने हिंसात्मक मनोविज्ञान किन जन्माइरहेका छौँ ? हामीलाई समयमै यसको जवाफ चाहिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच