काठमाडौं । गायिका तथा एमाले नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आमाको सम्झनामा दाङका छात्राहरूलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको कोमल वलीले जानकारी गराउनुभयो ।
अक्षय कोषबाट दाङ जिल्लाका थारू समुदाय र दलित समुदायका छात्राहरूलाई पढ्न छात्रवृत्ति प्रदान गरिने वलीले बताउनुभयो । ‘एकजना थारू समुदाय र एकजना दलित समुदायबाट गरेर कक्षा आठबाट उच्च शिक्षासम्मका लागि अध्ययनमा सहज होस् भनेर सम्पूर्ण खर्च यो ट्रष्टले व्यहोर्ने छ,’ उहाँले भन्नुभयो ।
‘आमाले पढ्न पाउनु भएन,’ वलीले भन्नुभयो, ‘स्कुल जान नपाए पनि आमामा राम्रो राजनीतिक तथा सामाजिक चेत थियो, छोरीहरूले पनि पढ्नुपर्छ भनेर हामीलाई सधैं पढ्न हौसला प्रदान गर्नुहुन्थ्यो ।’ आमाले सबैका छोरी पढ्नुपर्छ भन्ने गरेको र उहाँको नाममा स्थापित यो कोषले आर्थिक अभावमा अध्ययनबाट वञ्चित छोरीहरूलाई सहयोग गर्ने विश्वास आफूले लिएको वलीले बताउनुभयो ।
त्यस्तै, वली परिवारले वर्षेनी आमाको स्मृति दिवसको अवसर पारेर एकजना महिला नेतृलाई सम्मान गर्ने पनि घोषणा गरेको छ । राजनीतिमा लागेर कुनै लाभको पदमा नपुगेका ६० वर्षमाथिका महिलालाई ‘दीपा वली स्मृति सम्मान’बाट सम्मान गरिने बताइएको छ ।
आफ्नी आमा पञ्चायतकालीन समयमै महिला संघमा सक्रिय रहेर नगर उपाध्यक्षसम्म बनेर काम गरेको स्मरण गर्दै वलीले भन्नुभयो, ‘आमा राजनीतिमा महिलाको सहभागिता हुनुपर्छ, त्यसले परिवार र समाज दुवैलाई उन्नत बनाउन र चेतना फैलाउन सहयोग गर्छ भन्नुहुन्थ्यो । उहाँकै यही विश्वासलाई आधार बनाएर हामीले यो सम्मान वर्षेनी दिने योजना बनाएका हौं ।’
दीपा वली र उहाँका श्रीमान ललित वलीको नाममा स्थापित दीपा-ललित ट्रष्टले छात्रवृत्ति र सम्मानको कार्यक्रमको कार्यविधि बनाएर कार्यान्वयन गर्ने र पहिलो वार्षिकीमा यो वितरण गरिने पनि वलीले जानकारी दिनुभयो ।
कोमल वलीको चर्चित गीत ‘मलमल किरी जुनकिरी’लगायत दुई दर्जनभन्दा बढी गीतकी रचनाकारसमेत रहनुभएकी दीपा वलीको मंसिर २ गते काठमाडौंमा निधन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच