विक्रम सम्बत २०४६ भन्दा पहिले नेपालीहरूको एकमात्र विदेश केही अपवादबाहेक इण्डिया नै थियो । यसको कथाव्यथा धेरै लामो छ तर यति लामो इतिहास बोकेको कान्छा र बहादुरको कथासँग अहिलेको पुस्ता पूर्णरूपले अनभिज्ञ छ । आज नेपालीका लागि युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडा, खाँडी र मलेसिया पानीपँधेरो भएको सन्दर्भमा निकै गम्भीर चासोको विषय बन्नसक्छ कान्छा र बहादुरको इतिहास । यद्यपि निकट इतिहास यति छिट्टै बिर्सन नहुने हो तर जानकारहरू मौन बस्नाले त्यो कान्छा र बहादुरको कथा अलिखित इतिहासमा थन्किन पुगेको छ । पञ्चायतकाल र त्यसपूर्व नेपालीहरूको जीविकोपार्जनका लागि भारत नै एकमात्रै गन्तव्य थियो ।
यद्यपि धेरै चर्चामा नआए पनि अझै इण्डियामा रोजगारीका लागि जानेको संख्या निकै छ तर यहाँ त्यसको अभिलेख छैन र गैरसरकारी संघसंस्थाले पनि कुनै चासो राखेको पाइँदैन । एउटा नेपाली उखान छ ‘नजिकको तीर्थ हेला’ सायद त्यहीँ भएर पनि होला थुप्रो नेपालीको आयआर्जनको बाटो भए पनि महत्व दिएको पाइँदैन । तथापि राजनीतिको सन्दर्भमा भने भारतविरोधी सन्देश प्रचुर मात्रामा पाइन्छ तर पनि भारतमा कान्छा र बहादुर नेपालीको दर्दनाक पीडाबारे भने न यहाँका मिडिया बोल्छन् न सरकार । नेपालीहरूको प्रमुख गन्तव्य बनिरहेकोे इण्डियाको समाचार ओझेलमा परेको वा पारिएको छ । दिनप्रतिदिन इण्डिया बाहेकका देशमा यति उडे उति उडे भन्ने समाचार बनिरहेको सन्दर्भमा भारतको प्रसंग उठ्दै उठ्दैन ।
राजनीतिक प्रसंगमा भने भारतको दोहोलो काड्न भने यहाँका छापालगायत सामाजिक सञ्जालमा उद्दत देखिन्छन् । समाचार माध्यमहरू यति साह्रो पूर्वाग्रही हुँदा सत्य/तथ्य बाहिर आउँदैन, कान्छा र बहादुरको व्यथाकथा उजागर हुन नसकेको अवस्था अध्यावधि छ । नेपाली कामदारहरूले भारतमा के-कस्ता समस्या झेलिराखेका छन् सोको जानकारी न सरकारसँग छ न निजी क्षेत्रसँग छ तर मान्छेहरू पूरै ध्यान नव गन्तव्य युरोप, अमेरिका, अष्ट्रेलिया र गल्फ कन्ट्री तथा मलेसियातिर तानिइरहेका छन् जसले भारतको गन्तव्य ओझेलमा पारिएको यसै बुझ्न सकिन्छ । भारतसँग नेपालीहरूको सम्बन्ध धेरै पुरानो र लामो इतिहास छ ।
बेलाबेलामा जातीय तथा क्षेत्रीय हुलदंगा हुँदा नेपाली मूलका मानिस भारतमा असुरक्षित हुने गरेको छन् । भारतीयहरूले नेपालीलाई कान्छा भनून् या बहादुर भनेर सम्बोधन गरेर बोलाउन् निःसन्देह त्यो सम्मानित सम्बोधन अवश्य होइन ।
भौगोलिक निकटता, सहज आवतजावतको सुविधाका अतिरिक्त भाषिक, धार्मिक, संस्कृतिक समानताले झन् निकट बनाएको सन्दर्भलाई जोडेर हेरिनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । यसभित्र पनि राजनीतिक गन्ध आएको हुनसक्ने देखिन्छ । राजनीतिक दूराग्रहले जकटेको समाजमा कसले बुझ्ने कान्छा र बहादुरको अवस्था । कान्छा, बहादुर र घरखातामा (घरेलु कामदार) काम गर्नेहरूको वर्गीकरण कसरी हुने गरेको छ ? त्यसबारे केही चर्चा गर्न आवश्यक छ । विशेष गरेर भारतमा कान्छा र बहादुर भनेर सम्बोधन गरिए पनि घरेलु कामदारको रूपमा काम गर्नेलाई कान्छा नै भनेर बोलाउने चलन अहिले पनि पाइन्छ ।
धेरैजसो नेपालीहरू भारतको आसाम, सिलोङ (मेघालय) नागाल्याण्ड आदि क्षेत्रमा सीमित नेपालीहरूले व्यावसायिक रूपमा काम गर्ने गरेको पाइन्छ भने धेरै नेपालीले गाईगोठमा काम गर्ने गरेको सुनिन्छ । साथै कतिपयले जंगल फँडानी गरेर खेतिपातीबाट आफ्नो जीविकोपार्जन गरेका हुन्छन् तर उनीहरूको जीवन त्यति सुरक्षित भने हुँदैन । बेलाबेलामा जातीय तथा क्षेत्रीय हुलदंगा हुँदा नेपाली मूलका मानिसहरू असुरक्षित हुने गरेको समाचार समय समयमा सार्वजिक रूपमै आउने गरेको छन् । जे होस् भारतीयहरूले नेपालीहरूलाई चाहे कान्छा भनून् या बहादुर भनेर सम्बोधन गरेर बोलाए पनि निःसन्देह त्यो सम्मानित सम्बोधन अवश्य होइन ।
उनीहरूले नेपालीलाई कान्छा वा बहादुर भनेर सम्बोधन गर्नु अपमान वा अबहेलन तथा होच्याएको भनेर सजिलै बुझ्न सकिन्छ । विशेष गरेर सेना पुलिसमा भर्ना भएका नेपालीलाई बहादुरको संज्ञा दिने गरेको पाइन्छ त्यो पनि ब्रिटिशरले भन्ने गरेरको शब्द सापट लिएर भारतीयहरूले पनि सायद भन्ने गरेको हुनुपर्छ । प्रथम विश्वयुद्धमा गोर्खाली सेनालाई अग्रपंक्तिमा राखिन्थ्यो र बहादुर भनेर फुस्ल्याएर वा फुक्र्याएर युद्धमा होमिदिन्थ्ये । घरपरिवारको भरणपोषणको लागि आफ्नो जीवन हत्केला राखेर युद्धभूमिमा हाम्फाल्न तमतयार नेपालीहरूको व्यथाकथा बुझ्ने प्रयाश त्यो कालका शासकले कहिल्यै गरेनन् न अहिलेकाले नै गरेका छन् ।
तथापि अहिलेको नयाँ पुस्ताले त आज नेपाली युवाहरू युएई, कतार, साउदी अरबलगायत खाँडीका मुलुक र मलेसियामा नेपाली युवाहरू श्रम गर्न गएको बारेमात्रै जानकारी राख्दछन् । ती मुलुकबाहेक विश्वका अन्य विकसित राष्ट्रमा धेरैजसो नेपालीहरू विद्यार्थी भिसामा जाने र त्यतै सेटल गर्ने गरेको देखिन आएको छ । आजभोलि साउथ कोरियालागायत अन्य केही देशले वर्कपर्मिट उपलब्ध गराउन थालेपछि केही नेपालीहरू रोजगारीका लागि अड्भान्स कन्ट्रीहरूमा जानथालेका विषयमा अहिलेको पुस्ता बढी जानकार छ तर कान्छा र बहादुरका बारे जानकार नभएर हो या चासो नराखेर हो पूर्ण अनभिज्ञजस्तो देखिन्छ ।
इतिहासलाई पूर्णउपेक्षा गर्दा भोलिको आफ्नो सही गन्तव्यमा पुग्न नसकिने सम्भावना छ । तसर्थ वर्तमानमा उभिएर इतिहासको अध्ययन गर्दै भविष्यको गन्तव्य सुनिश्चित गर्नु उपयुक्त विकल्प हो । माथिको संक्षिप्त अध्ययन विश्लेषणबाट मात्रै वर्तमानको सही निष्कर्षमा पुग्न सक्छौं । मानिसहरूको जीवन सहजताका लागि प्रजातन्त्र एकमात्र निर्विकल्प राजनीतिक प्रणाली हो । आज कता-कता प्रजातन्त्रविरुद्धका आवाज गुञ्जिरहेको भान हुन्छ । प्रजातन्त्र प्राप्तिका क्रममा धेरै नेपाल आमाका सपूतहरूले आफ्नो जीवन आहुति गरेको इतिहास धेरै पुरानो भएको छैन ।
एकछिन् इतिहासको सूक्ष्म जानकारी गरेको खण्डमा पक्कै प्रजातन्त्रको मर्म, भावना र त्यसभित्र लुकेको रहस्यले हामीलाई प्रजातन्त्रविरुद्ध लाग्न दिने छैन । देशको ताजा स्थिति हेर्दा गद्दीच्युत राजा ज्ञानेन्द्रको सल्बलाहट हेर्दा उनी निरंकुश राजा बन्ने दौडमा लागेको भान हुन्छ । युवाहरू त्यसैमा बहकिएर होमा हो मिलाएर पछि लागिरहेका छन् । यसले देश फेरि अन्धकारको गर्तमा जाकिने प्रबल सम्भावना छ । यसर्थ वर्तमान सत्ताधारी र प्रतिपक्षीहरूका केही खराब आचरणका कारण प्रजातन्त्र अर्थात् लोकतान्त्रिक प्रणालीलाई क्षय नगरौं । भ्रष्टाचार, ढिलासुस्तीले जनता आजित भएका छन् दुईमत छैन तर प्रणालीविरुद्ध लाग्ने शक्तिहरूलाई साथ दिँदा भोलि ‘नरहे बाँस नरहे बाँसुरी’ हुनसक्छ त्यसैले बरू भ्रष्टाचारीलाई कारबाहीका लागि जोडतोडका साथ दबाब सिर्जना गरौं ।
ज्ञानेन्द्र शाहको स्वभाव सबैलाई थाहा छ । उनी वीरेन्द्र पथ होइन महेन्द्रमार्गी हुन् । त्यो कुरा उनले २०६१ साल माघ १९ गते जननिर्वाचित सरकार अपदस्त गरेर कीर्तिनिधि विष्ट र डा.तुलसी गिरीलाई उपाध्यक्ष बनाएर आफू मन्त्रिपरिषद्को अध्यक्ष भएको घटनाबाट पुष्टि गरेका छन् ।
आजको मूल समस्या भ्रष्टाचार, ढिलासुस्ती अनि घुसखोरी हो, अन्त्य हुनु अत्यावश्यक छ न कि प्रजातन्त्रको । अहिले देखिएको विभिन्न नामको आन्दोलनमा राजालाई पुनस्र्थापना गरी पुरानो राजनीतिक प्रणाली अर्थात् राजाको प्रत्यक्ष शासन वा निरंकुशताको अभिष्ट लुकेको छ । यतातिर सबै सचेत र जागरुक नेपालीको गम्भीर ध्यान आकृष्ट हुन जरुरी छ । समय बितेपछि पछुताउनु शिवाय अरू केही रहँदैन । नेपालीहरूमा ताजा इतिहास कान्छा र बहादुरको छ । त्यसलाई अध्ययन मनन् गर्दै वर्तमानसम्मको स्थितिलाई बुझ्यौं भने अवश्य बाटो पहिल्याउन कुनै कठिनाइ हुने छैन ।
विसं २०३६ सालको जनमतसंग्रहमा बेइमानी र धाँधली नगरेको भए सम्भवत आजको यो अवस्था आउने थिएन । सायद सर्वाधिक लोकप्रिय राजा वीरेन्द्रको बंशनास हुने थिएन होला भनी अनुमान गर्न सकिन्छ । त्यसबेला पनि दरबारमा अनुदारवादीको दबदबा भएकाले प्रजातन्त्रको मुना पलाउन दिइएन । आज त्यही अनुदारवादी तप्का (ज्ञानेन्द्र शाह) जुर्मुराउँदै गरेको अवस्था छ । दुर्गा प्रसाईंजस्ता बहुरूपी सामाजिक अभियन्ताको रूपमा उनी पूर्वराजाको आडमा निकै फाइफुइँ गर्दै छन् । बहुरूपी यस मानेमा भनिएको हो कि कहिले माओवादीको मुकुण्डो भिरेर हिँडेको कुरा उनैको मुखबाट सुनिन्छ भने कहिले एमालेको केन्द्रीय सदस्य ।
यस्तालाई बहुरूपी नभनी के भन्ने ? उता राप्रपा नामका सबै पार्टी चाहे राजेन्द्र लिङदेन हुन् वा कमल थापाहरू पनि राजतन्त्रको पुनस्र्थापनाको अभियानमा जुटेका छन् । अन्य ससाना तप्का मुख मिठ्याएर ¥याल चुहाएर बसेका छन् राजतन्त्र आउला र स्वाद काडौँला भनेर । ज्ञानेन्द्र शाहको स्वभाव त सबैलाई थाहै छ । उनी वीरेन्द्र पथ होइन महेन्द्रमार्गी हुन् । त्यो कुरा उनले २०६१ साल माघ १९ गते जननिर्वाचित सरकार अपदस्त गरेर बेत बसेका कीर्तिनिधि विष्ट र देशै छोडेर पलाएन भएका डा.तुलसी गिरीलाई उपाध्यक्ष बनाएर आफू मन्त्रिपरिषद्को अध्यक्ष भएको घटनाबाट सबैका सामु पुष्टि गरेका छन् ।
यसर्थ अहिलेको सडक आन्दोलन प्रजातन्त्रविरुद्व हो भन्ने तथ्य प्रष्ट छ, कोही त्यस्तो भ्रमजालमा नपरौं । कान्छा र बहादुरको इतिहास निर्माण प्रजातन्त्रविहीन राजनीतिक प्रणालीको उपज हो । बाँकी अहिलेको प्रजातान्त्रिक प्रणालीको उपलब्धि हो । गुणदोषको जिम्मेवार यही प्रणालीका पक्षधर हुन्छन् र हुनुपर्छ । तसर्थ कान्छा र बहादुरको इतिहासमा एउटा मार्मिक व्यथाकथा लुकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच