काठमाडौं । सत्ता-प्रतिपक्ष बीचको तनाव अझै केही दिन लम्बिने संकेत देखिएको छ । केही विवादित मन्त्री हटाउनुपर्ने प्रतिपक्षीको अडान सरकारले भने तत्काल सम्बोधन नगर्ने संकेत गरेपछि सत्ता-प्रतिपक्षी तनाव अझै केही दिन लम्बिने देखिएको हो । विपक्षी दलहरूले राजीनामालाई बटमलाइन बनाएर संसद्मा हंगामा गरे पनि सरकार तत्कालै उनीहरूलाई नहटाउने पक्षमा देखिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल विवादित मन्त्री नहटाउने संकेत गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि मात्रै आवश्यक निर्णयमा पुग्ने बताउनुभएको छ । सरकारको क्षेत्राधिकारको विषयमा सरकारले निर्णय लिने उहाँले बताउनुभएको छ । ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । प्रतिवेदन अध्ययनको प्रक्रियामा छ,’ उहाँले भन्नुभयो, ‘सरकारले आयोग बनाएर छानविन गर्ने निर्णय गरेको हो । अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौँ ।’ गठबन्धनमा कुरा नमिल्दा उहाँले मन्त्री फेर्न सक्नुभएको छैन । बालकुमारी घटनामा मुख्य जिम्मेवार भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला नै रहेको निष्कर्षसहितको प्रतिवेदन छानविन आयोगले निकालेको छ । यसअघि संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विवादित मन्त्री हटाउने बताउनुभएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विवादित मन्त्री हटाउनुपर्ने माग गरेका छन् । एमालेसहित विपक्षी दलहरूले बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको रामग्राम जग्गा प्रकरणमा मुछिनुभएका पर्यटनमन्त्री सुदन किरातीको राजीनामा मागेका छन् । यस्तै, विपक्षी दलहरूले बालकुमारी घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि नैतिक प्रश्न उठाएका छन् । मन्त्री नहटाएसम्म संसद्समेत चल्न नदिने विपक्षी दलहरूले चेतावनी दिएका छन् । विपक्षी दलहरू आफ्नो अडानबाट टसमस भएका छैनन् । सरकार पनि तत्काल उनीहरूका कुरा सुन्ने पक्षमा देखिएको छैन ।
गठबन्धन र सरकारको आयु कांग्रेसलाई सोध्नुस् : गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको बताउनुभएको छ । शनिबार सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको बताउनुभएको हो । वर्तमान गठबन्धन र सरकारबारे सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, ‘यो नेपाली कांग्रेसलाई सोध्नुस् ।’ प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरूको राजीनामा माग गरिरहेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले राजीनामा माग्ने विपक्षीको धर्म भएको बताउनुभयो । औचित्यपूर्ण ढंगबाट राजीनामा मागे राम्रो हुने उहाँले सुझाव दिनुभयो ।
गृहमन्त्री श्रेष्ठले सरकार मिटरब्याज पीडितको समस्या समाधान गर्न गम्भीरतापूर्वक लागिरहेको बताउनुभयो । ‘समस्या समाधान हुन्छ, हामीले छोडेका छैनौँ, कानुन बनायौँ, आयोग बनायौँ, आयोगको समय सकिएपछि अहिले प्रहरीमा सबै उजुरी पठाएका छौँ, साढे पाँच हजारभन्दा बढी पीडितले न्याय पाएका छन्,’ उहाँले भन्नुभयो ।
प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको बताउनुभएको छ । शनिबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अध्ययनपश्चात् निर्णय गर्ने बताउनुभयो । ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो । प्रतिवेदन अध्ययनको प्रक्रियामा छ,’ उहाँले भन्नुभयो, ‘अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौँ । यो सरकारको क्षेत्राधिकार हो । प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ ।’
उहाँले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभयो । संघीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको उहाँको भनाइ थियो । ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन । अलि रणनीतिक महत्वका योजना मात्र राख्छौँ । तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्,’ उहाँले भन्नुभयो, ‘बजेटको क्षेत्र तोकेर पठाइन्छ । आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ ।’ नयाँ योजना धेरै नथपीकन पूरा हुन बाँकी पुराना योजनामा बजेट विनियोजन गरिने उहाँले बताउनुभयो । ‘खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ । पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पूरै जोड रहन्छ,’ उहाँले भन्नुभयो ।
मधेशको विकासमा निरन्तर लाग्नेछु
प्रधानमन्त्री प्रचण्डले मधेशको विकासमा आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । मधेशको विकास नभईकन देशको विकास नहुने उहाँले बताउनुभयो । शनिबार सिराहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका-६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल-मल्हनिया-मल्टिस्पान झोलुंगे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेशको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मलाई गर्व छ-मैले मधेशबाट चुनाव जितेर दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेँ । र, मधेसी जनताको मत लिएर म त्यो प्रधानमन्त्रीत्व कालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको पहल, त्यसको सुरुवात पहिलो निर्वाचन, त्योअन्तर्गत मधेश पनि, पहाड पनि, हिमाल पनि सबै जुटेर निर्वाचन प्रक्रिया अगाडि बढाउने मैले जिम्मेवारी प्राप्त गरेँ, मलाई गर्व छ । म तपाईँ मधेसी जनतालाई यतिबेला मैले भनेको थिए-मधेसी जनतासँग मेरो प्रेम छ । मैले जनयुद्धको नेतृत्व पनि मधेशबाटै मुख्य रूपमा गरेँ । चुनाव पनि लडेँ, दोस्रोपटक प्रधानमन्त्री पनि भएँ । अहिले मलाई लाग्छ कि मधेशमा विकास, निर्माणले गति लिएन भने, मधेसी जनताको समृद्धि भएन भने नेपालको समृद्धि सम्भव छैन । त्यसकारण आज म तपाईंहरूको अगाडि उपस्थित हुनुको उद्देश्य पनि विकास, निर्माणलाई गति दिनु नै हो । अबको नीति, कार्यक्रम र बजेटमा मधेशको निम्ति विशेष व्यवस्था गर्ने विश्वास पनि म तपाईँहरूलाई दिलाउन चाहन्छु ।’
तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताउनुभयो । ‘अब संघीयता सबल रूपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच