काठमाडौं । जान निकोल लोफ्टी-इटोनको कीर्तिमानी शतकसँगै नामिबियाले त्रिदेशीय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध २० रनको जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र जोड्न सक्यो । नेपाललाई जितका लागि अन्तिम दुई ओभरमा २४ रन आवश्यक थियो । नेपाल १८३-८ को स्थितिमा हुँदा नामिबियाका कप्तान जेजे स्मिथले १९औँ ओभर बलिङका लागि रुबेल ट्रम्पेलमेनलाई बल थमाउनुभएको थियो । ट्रम्पेलमेनको पहिलो तीन बलमा नेपाली ब्याटरले समान एक रन जोडेका थिए । तर, ट्रम्पेलमेनले चौथो र पाँचौँ बलमा लगातार विकेट लिएपछि नेपाल २० रनले निराश बनेको हो ।
ट्रम्पेलमेनले चौथो बलमा दीपेन्द्रसिंह ऐरीलाई र पाँचौँ बलमा अविनाश बोहरालाई पभेलियनको दिशा देखाउनुभएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाउनुभयो । दीपेन्द्रले ३२ बलमा दुई चौका र दुई छक्का प्रहार गर्नुभयो । कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाउनुभयो । २४औँ बलमा लोफ्टी-इटोनको ओभरमा जान फ्राइलिन्कबाट क्याच हुनुअघि रोहितले समान तीन चौका र तीन छक्का प्रहार गर्नुभएको थियो ।
२०–२ को अवस्थाबाट रोहितले कुशल मल्लसँग तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाल्नुभएको थियो । कुशलले २१ बलमा चार चौका र एक छक्कासहित ३२ रन प्रहार गर्नुभयो । सोमपाल कामीले ११ बलमा एक चौका र तीन छक्कासहित २६ रन जोड्नुभयो । गुल्सन झाले ६ बलमा समान एक चौका र छक्कासहित १२ रन जोड्दा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका ओपनर कुशल भुर्तेल र अन्तिममा ब्याटिङका लागि आउनुभएका अविनाश ‘गोल्डेन डक’ हुनुभएको थियो । अर्का ओपनर आसिफ सेख र विवेक यादवले समान ६ रन बनाउनुभयो । सन्दीप जोराले पाँच रन थप्दा करण केसी दुई रनमा अविजित रहनुभयो ।
नामिबियाका रुबेन ट्रम्पेलमेनले चार विकेट लिनुभयो । ३।५ ओभर बलिङ गर्नुभएका उहाँले २९ रन खर्चिनुभयो । बर्नार्ड स्कल्ज, जान फाइलिन्क र जान निकोल लोफ्टी इटोनले समान दुई विकेट लिनुभयो । त्यसअघि जान निकोल लोफ्टी-इटोन विस्फोटक रूपमा प्रस्तुत भएपछि टस जितेर ब्याटिङमा आएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रनको योगफल खडा गरेको थियो ।
नामिबियाबाट विस्फोटक ब्याटिङ गर्नुभएका इटोनले १०१ रनको सानदार इनिङ खेल्नुभयो । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर बन्नुभएका इटोनले ३६ बलमा ११ चौका र आठ छक्का प्रहार गर्नुभयो । ३३ बलमा शतक बनाउँदै सबैभन्दा छिटो १०० रन बनाउने ब्याटर बन्नुभएका इटोनले नेपालका कुशल मल्लका नाममा रहेको कीर्तिमान भंग गर्नुभएको हो । यसअघि एसियन गेम्समा मंगोलियाविरुद्ध ३४ बलमा शतक प्रहार गर्दै कुशल ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर बन्नुभएको थियो ।
ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा इटोनको यो पहिलो शतक हो । ६२-३ को अवस्थामा ब्याटिङका लागि आउनुभएका इटोनले चौथो विकेटका लागि मलान क्रुजरसँग १३५ रनको कीर्तिमानी साझेदारी गर्नुभयो । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो नै नामिबियाले बनाएको अहिलेसम्मकै उच्च साझेदारी हो ।
यसअघि सन् २०१९ मा सिजी विलियम्स र जेपी कोट्जेले बोत्सवानाविरुद्ध ११२ रनको साझेदारी गर्दै सबैभन्दा ठूलो साझेदारीको रेकर्ड कायम गर्नुभएको थियो । क्रुजरले ४८ बलमा ६ चौका र दुई छक्कासहित अविजित ५९ रन बनाउनुभयो । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो उहाँको पहिलो अर्धशतक हो ।
खेलको ११औँ समाप्त हुँदासम्म नामिबियाले तीन विकेट गुमाएर ६६ रन बनाएको थियो । तर, यसपछि इटोन र क्रुजरले आक्रामक साझेदारी गरेपछि नामिबियाले पछिल्लो नौ ओभरमा १४० रन बनाएको थियो । नामिबियाविरुद्ध नेपालका कप्तान रोहितले दुई विकेट लिनुभयो । चार ओभर बलिङ गर्नुभएका रोहितले ३० रन खर्चिनुभयो । यसबाहेक करण र अविनाशले समान एक विकेट लिनुभयो । ट्वान्टी-२० विश्वकपको तयारी स्वरूप आयोजित शृंखलामा नेपाल, नामिबिया र नेदरल्याण्ड्स छन् ।
नेपालले अब फागुन १६ गते नेदरल्याण्ड्ससँग खेल्नेछ । यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्याण्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।
हामीले नामिबियालाई १९० रनमै रोक्न सक्नुपथ्र्यो : रोहित
नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले नामिबियालाई १९० रनभित्र रोक्न नसक्दा हार बेहोर्नुपरेको बताउनुभएको छ । मंगलबारको खेलपछि पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले नामिबियाविरुद्ध योजनाअनुसार खेल्न नसकेको बताउनुभएको हो । ‘पहिलो १० ओभरमा हामीले राम्रो सुरुवात गरेका थियौँ । तर, अर्को १० ओभरमा खेल नामिबियातर्फ ढल्कियो । लोफ्टीले एकदमै राम्रो ब्याटिङ ग¥यो । नामिबियाले राम्रो खेले पनि हामीले १९० भित्र रोक्न सक्नुपथ्र्यो,’ उहाँले भन्नुभयो, ‘लोअर अर्डर ब्याटिङले लिनुपर्ने जिम्मेवारी लिन सकेनन् । अवस्था पनि प्रहार गर्नुपर्ने थियो । आज हामीले सोचेजस्तो हुन सकेन । तर पनि सोमपाल दाइ र दिप्पी दाइले ब्याटिङ गर्दा पुनः खेल हाम्रोतर्फ आइसकेको थियो । ट्रम्पेलमेनको ओभरमा नौ रन बनाएको भए अन्तिममा १५ रन बनाउन सकिन्छ भन्ने सोचेका थियौँ । तर, आज सोचेजस्तो भएन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच