
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो छ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको छ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार सो अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी भएको हो । विद्युत् खरिद, प्रशासनिक, आयोजनालगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।
चालु आर्थिक वर्षको छ महिनामा १३ अर्ब ३८ करोड ५६ लाखको विद्युत् भारततर्फ निर्यात भएको छ भने सोही अवधिमा एक अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात भएको छ ।
प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड छ लाख रुपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० को सोही अवाधिमा नाफा १० अर्ब ९१ करोड ६० लाख थियो । गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गत वर्षको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो । २०७२/०७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिकरूपमा तथा भारततर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा पहिलो छ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा हरेक वर्ष अर्बाैं लगानी गरिरहेका छौँ । विद्युत््मा आत्मनिर्भर बन्न, आन्तरिक खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनामा आगामी वर्ष १०÷१२ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्छ, नगद प्रवाहका लागि संस्थाको नाफाले मात्र पुग्दैन ।’
प्राधिकरणले चालु आर्थिक वर्षको छ महिनामा विद्युत् बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ । सो अवधिमा देशभित्रका ऊर्जा उत्पादकबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरेको छ । प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट एक अर्व ९८ करोड ६२ लाखको विद्युत् आयात गरिएको छ । समीक्षा अवधिमा नेपाल सरकारमार्फत् विनियोजन गरिएको वैदेशिकतर्फ नौ अर्ब तीन करोड ८४ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।
१३ अर्बको निर्यात, दुर्ई अर्बको आयात
प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ भने सोही अवधिमा एक अर्ब ९८ करोड ६२ लाखको विद्युत् आयात गरेको छ ।
समीक्षा अवधिमा एक अर्ब ४७ करोड ६४ लाख युनिट विद्युत् निर्यात भएको छ । सुक्खायाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ । समीक्षा अवधिमा २२ करोड पाँच लाख युनिट विद्युत् आयात गरिएको छ । वर्षायाम सुरु भएसँगै फेरि विद्युत् निर्यात सुरु हुने पनि प्राधिकरणले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच