खोटाङ । स्थानीय तह कार्यान्वयनमा आएको सात वर्षपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रुपमा उत्पादित तरकारीको मूल्य निर्धारण गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाको एघार वडाभित्रका किसानहरुले उत्पादन गर्ने तरकारीहरुको मूल्य निर्धारण गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडा कार्यालयमा शुक्रबार नगरभित्रका निर्वाचित जनप्रतिनिधि, कृषक, व्यापारी समेतको उपस्थितिमा अर्को मूल्य निर्धारण नहुञ्जेलसम्म २८ प्रकारका तरकारी तथा मसलाको मूल्य निर्धारण गरिएको महादेवस्थानका वडाध्यक्ष एवंम् नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो।
गिरीका अनुसार प्रतिकेजी रायोको साग ८०, मुला ५०, काउली ६०, वन्दाकोपी ५०, धनिया ४००, गाँजर ८०, गोलभेडा ५०, लोकल गोलभेडा ८०, स्कुस ३०, ब्रोकाउली १००, हरियो खुर्सानी १२०, च्याउ २२०, आलु ६०, सिमि ८० र मिटरे बोडी १०० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
यस्तै, चौमासे बोडी १००, स्थानीय बोडी १००, चाइनिज साग २००, तिते करेला १००, डल्ले खुर्सानी ३००, आकासे लाम्चो खुर्सानी २००, लसुन २५०, प्याज ८०, वैगुन ७०, घिरौला ७०, काक्रा १२०, कागती २०० र अदुवा प्रतिकेजी १०० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
महादेवस्थानको ट्राफिक चोकमा निर्माण सम्पन्न कृषि मार्टसहितको चिस्यान केन्द्र सञ्चालनका लागि नीजि कम्पनीसँग नगरपालिकाले सम्झौता सकेर किसानहरुको तरकारीको मूल्य निर्धारण गरेका हुन् । अब किसानले उत्पादन गरेको तरकारी कृषि मार्टसहितको चिस्यान केन्दमा ल्याएर एकमुष्ट बिक्री गर्न सक्नेछन् ।
कृषि मार्टसहितको चिस्यान केन्द्र सञ्चालनको जिम्मा लिएका हलेसी कोल्ड स्टोर कम्पनीले २० प्रतिशत मुनाफा राखेर तरकारी विक्री गर्न पाउनेछन् । ‘यहाँको तरकारीले धान्न नसकेको अवस्थामा मात्रै कृषि मार्टसहितको चिस्यान केन्द्र सञ्चालकले बाहिरको तरकारी ल्याउन पाउँछ । अन्यथा बाहिरको तरकारी ल्याउन रोक लगाउने निर्णय गरेका छौँ ।’ महादेवस्थानका वडाध्यक्ष गिरीले भन्नुभयो ।
तत्काललाई १५ दिनका लागि तरकारीको मूल्य निर्धारण गरिएको र समय–समयमा मूल्य परिवर्तन हुने हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताउनुभयो । ‘कृषकले तरकारी कृषि मार्टसहितको चिस्यान केन्द्रमा लगेर छोड्नुपर्छ । कृषि मार्टसहितको चिस्यान केन्द्र सञ्चालकले तरकारी बेचे पनि नबेचे पनि कृषकले तरकारीको मूल्य पाउँछ ।’ मेयर राईले भन्नुभयो ।
नगरपालिकाको करीव ५० लाखमा निर्माण सम्पन्न भएको कृषि मार्टसहितको चिस्यान केन्द्रको आईतबार उद्घाटन गरिने तयारी गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच