काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भुतपूर्व गोरखा सैनिकका जायज मागहरु बेलायती सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
आईतवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र बेलायती सरकारबीच फेब्रुअरी २१ मा बसेको प्राविधिक समितिको बैठकमा गोरखा सैनिकका मागहरु सम्बोधन गर्न केही प्रगति भएको भएपनि समान पेन्सन लगायतका मुख्य मागहरु सम्बोधन हुन बाँकी रहेको जिकिर गर्नुभयो ।
उहाँले समितिको अर्को बैठक २०२४ का मार्च २७ मा लण्डनमा हुने र सो बेलामा पनि आफूले भुतपूर्व गोरखा सैनिकका मागहरुका बारेमा कुरा उठाउने बताउनु भयो । उहाँले नेपालले ब्रिटिश गोरखाको मुद्दा प्राथमिकताका साथ उठाउने गरेको बताउनु भयो । उहाँले नेपाल सरकारको चाहना भनेको भुतपूर्व गोरखाहरुले न्याय पाउन् भन्ने नै रहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्राविधिक समितिको पछिल्लो बैठक फेब्रुअरी २१ मा भएको थियो । यो बैठकहरुबाट गोरखा सैनिकका मागहरु सम्बोधन गर्न केही प्रगति भएको भएपनि समान पेन्सन लगायतका मुख्य मागहरु सम्बोधन हुन बाँकी नै छन् । समितिको अर्को बैठक २०२४ का मार्च २७ मा लण्डनमा हुनेछ । सन् २०२३ नोभेम्बर १७ मा मैले बेलायतका रक्षामन्त्री महामहिम ग्राण्ड स्याप्सलाई भूतपूर्व गोरखाहरुको सम्बन्धमा व्यक्तिगत पत्रसमेत पठाएको थिएँ । जसको जवाफ २२ नोभेम्बर २०२३ मा प्राप्त भएको थियो । जवाफमा उहाँले गोरखाहरुको मुद्दा टुंग्याउन समितिले सहयोग गर्ने विश्वास दिनुभएको थियो । हामीले संयुक्त अधिराज्य सरकार एवं संसदका विभिन्न तहका अधिकारीसँगको हरेक बैठकमा ब्रिटिश गोरखाको मुद्दा प्राथमिकताका साथ उठाउने गरेका छौँ । नेपाल सरकारका अन्य मन्त्रालयमा हुने ब्रिटिश सरकारका प्रतिनिधिहरुको बैठकमा ब्रिटिस गोरखाको मुद्दा उठाउन आग्रह गरेका छाँै । गत सातामात्र विदेशमन्त्रलय अन्तर्गतका विकास राज्यमन्त्री एन्ड्रयु मिचेलले नेपाल भ्रमण गर्नहुँदा भएको भेटमा मैले भुतपूर्व गोरखाको विषय उठाएको थिएँ । उहाँले सम्माननीय प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्दा प्रधानमन्त्रीज्युले यो विषय उठाउनुभएको थियो । गत महिना बेलायती सेनाप्रमुख सर पेट्रिक स्ट्याण्डर्सको नेपाल भ्रमणको अवसरमा भएका भेटवार्तामा पनि यो कुरा उठाइएको छ । भुतपूर्व गोरखा सैनिकका जायज मागहरु बेलायती सरकारले सम्बोधन गर्नसक्छ र गर्नुपर्छ भन्ने सरकारको धारणा रहेको छ । सोहीअनुसार छलफल अघि बढेको छ । नेपाल सरकारको चाहना भनेको भुतपूर्व गोरखाहरुले न्याय पाउन् भन्ने नै हो ।’
मन्त्री साउदले गत सातामात्र विदेशमन्त्रलय अन्तर्गतका विकास राज्यमन्त्री एन्ड्रयु मिचेलको नेपाल भ्रमणमा आफू र प्रधानमन्त्री पुष्पकमल दाहालले समेत भुतपूर्व गोरखाको विषय उठाएको बताउनु भयो । उहाँले गत महिना बेलायती सेनाप्रमुख सर पेट्रिक स्ट्याण्डर्सको नेपाल भ्रमणको अवसरमा भएका भेटवार्तामा पनि सो विषय उठाएको र बेलायती सरकार सकारात्मक रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच