अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं। झापा जिल्लाकाे कमल गाउँपालिका-३ स्थित कृष्टिना होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित गौरीगंज गाउँपालिका-२ बस्ने ३६ वर्षीय अजय हेमरमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा हेमरमले गौरीगंज गाउँपालिका-२ बस्ने २६ वर्षीय सम टुडुको प्र.१-०१-००१ ह ९९१० नम्बरको अटोमा उक्त पदार्थ राखी ल्याएको र अन्य समयमासमेत अटोमा लागूऔषध ओसारपसारमा सहयोग गर्ने गरेको खुलेपछि टुडुलाईसमेत प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१२ स्थित पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका-६ ऐठपुर बस्ने २० वर्षीय शिरीस बोगटीसमेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र प्रहरी चौकी झुलुङगेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, कैलालीकाे भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-६ बस्ने २१ वर्षीय अबिन चौधरी र २४ वर्षीय दिल बहादुर कठरीया रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी चितवनकाे भरतपुर महानगरपालिका-१० चौबिसकोठी चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो र स्रोत नखुलेको नगद २ लाख १६ हजार ५ सय रूपैयाँसहित कालिकोट पचालझरना गाउँपालिका-५ बस्ने ४० वर्षीय केशव बमलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?