काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ ।
तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण भएका/हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न उक्त डबल प्रसारण लाइन निर्माण गरिएको हो । समुद्र सतहबाट तीन हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर-ढुंगेसाँघु २२० प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर रहेको छ । प्रसारण लाइनका लागि १२७ टावर निर्माण गरिएका छन् । वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइनअन्तर्गत नै वसन्तपुर सबस्टेसनमा छवटा बे विस्तार भइरहेको छ । त्यसमध्ये तीनवटा बेका उपकरण जडान र परीक्षण कार्य भइरहेको र उक्त कार्य आगामी चैत पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइन निर्माणपछि मुख्यरूपमा सानिमा मिडिल तमोर हाइड्रोपावरले ताप्लेजुङमा निर्माण गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजनाको विद्युत् प्रवाहमा समस्या नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइनमा केही हप्ताभित्रमा मध्य तमोरको विद्युत् जोडिनेछ, आयोजनाको हाल अन्तिम चरणको परीक्षणका कार्य भइरहेको जानकारी पाएका छौँ, आयोजनाको विद्युत् जोड्न वसन्तपुर सबस्टेसनमा बे विस्तारका लागि उपकरण जडान र परीक्षणका कार्यहरू भइरहेका छन् । प्रसारण लाइन र सबस्टेसन तयार भयो तर जलविद्युत् आयोजना निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनुपर्ने अवस्था छ, मध्य तमोरलगायतका जलविद्युत् आयोजनाको विद्युत् उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत् मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ, जसले गर्दा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।’
प्राधिकरणका अनुसार कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज-३ अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन र ढुंगेसाँघुमा १३२/३३ केभी सबस्टेसन निर्माणका लागि केइसी इन्टरनेसनल, भारतसँग २०७४ माघमा दुई करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता २०७५ जेठबाट कार्यान्वयनमा आएको थियो । प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने ढुंगेसाँघु सबस्टेसन निर्माण अन्तिम चरणमा छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा उक्त प्रसारण लाइन निर्माण गरिएको हो ।
कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज-४ अन्तर्गत वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइनको दोस्रो सर्किट निर्माण र वसन्तपुर सबस्टेसनमा बे विस्तार कार्य भइरहेको छ । कुल ३५ किलोमिटर प्रसारण लाइनमध्ये हालसम्म १५ किलोमिटर तार तानिएको छ । उक्त प्याकेजका काम गर्न नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकसँग २०७९ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । प्याकेजका सम्पूर्ण काम आगामी डेढ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ ।
कोशी करिडोर प्रसारण लाइन प्याकेज-१ अन्तर्गत संखुवासभाको तुम्लिङ्टारबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फमात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ ।
प्याकेज-२ अन्तर्गत सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङ्टार, बानेश्वर तथा वसन्तपुरमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ढुंगेसाँघु सबस्टेसनबाट विद्युत् आउनेछ । वसन्तपुरबाट २२० केभी प्रसारण लाइन हुँदै विद्युत् इनरुवा सबस्टेसनमा पुर्याएर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछ ।
सरकार तथा प्राधिकरणको लगानी र एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत् इनरुवा सबस्टेसनमा जोडिनेछ ।
कोशी प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत् तुम्लिङ्टारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुंगेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुर्ई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच