सर्लाही । सुख्खायाम सुरु भएसँगै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र महोत्तरीको जङ्गल क्षेत्रमा केही सातादेखि लागिरहेको डढेलो फैलँदै गएको छ । दिउँसोपख हावाहुरी चल्न थालेसँगै राजमार्ग छेउछाउका घना जङ्गलमा लागेको डढेलो थप क्षेत्रमा बढ्दै गएको हो ।
डढेलोका कारण वासस्थान गुम्दा वन्यजन्तु समस्यामा परेका छन् । राजमार्गको डिल (किनारा) सम्म नै डढेलो सल्किरहेको देखिन्छ । सडकलाई छुने गरी डढेलो सल्किँदा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन ओहोरदोहार गर्न नै जोखिम हुन थालेको छ ।
दिनानुदिन फैलँदो डढेलो नियन्त्रणका लागि वन कार्यालय र उपभोक्ताले चासो देखाएका छैनन् । वनमा लागेको डढेलो नजिकका घर तथा वन कार्यालयहरुका घाटगद्धीमा सल्कने जोखिम बढेको छ ।
गत शनिबार मात्रै वनको डढेलो सल्किएर बाँके चोकस्थित सवडिभिजन वन कार्यालयको घाटगद्धीमा आगलागी भएको छ । आगो निभाउन दमकलको सहयोग लिनुपरेको छ । काठ थुपारेर राखिएको ठाउँ (घाटगद्धी) मा हरिवन नगरपालिकाबाट दमकल मगाएर डढेलो निभाइएको छ । सर्लाहीका डिभिजन वन प्रमुख मन्जुर अहमदले दमकल, वन कर्मचारी, प्रहरी र उपभोक्ता मिलेर घाटगद्धीमा लागेको आगो निभाइएको जानकारी दिनुभयो ।
उहाँले घाटगद्धी वरपर सरसफाईसहित पूर्व तयारी गर्दा गर्दै पनि आगलागी भएको बताउनुभएको छ । डिभिजन वन प्रमुख अहमदले सबै ठाउँमा लागेको डढेलो वन कार्यालयले मात्रै निभाउन असम्भव रहेकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
“वन डढेलो भनेको ठूलो विपत्ति हो, वनका कर्मचारीले मात्रै निभाउन सम्भव हुँदैन,” डिभिजन वन प्रमुख अहमदले भन्नुभयो, “यसमा आम उपभोक्ता र वन समितिले पनि भूमिका खेल्नुपर्छ ।” उहाँले वनमा डढेलो लाग्न नदिन जनचेतना जगाउनका लागि वर्षेनि प्रचारप्रसारको काम गर्दै आइरहेको बताउनुभयो । वन प्राविधिकका अनुसार अब सुक्खायामभर वन क्षेत्रमा डढेलो लाग्ने गर्छ । डढेलो लगाएपछि पालुवा पलाउने गलत धारणा बोकेर वनमा वस्तुभाउ चराउन जाने चरुवा तथा स्थानीयले डढेलो लगाइदिँदा नियन्त्रणमा चूनौति थपिएको डिभिजन वन प्रमुख अहमदले बताउनुभयो ।
स्थानीयका अनुसार यो वर्ष अहिलेसम्म पूर्व पश्चिम राजमार्ग क्षेत्र आसपास पर्ने सर्लाही तथा महोत्तरी खण्डको सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा धेरै नै डढेलो लागिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच