काठमाडौं । लगातार दुई वर्ष करोडौँ घाटा भएपछि झापाको मेचीनगरस्थित ज्यामिरगढीमा रहेको प्लाई उद्योगमा नक्कली आगलागी गराइएको पाइएको छ । पछिल्लो दुई आर्थिक वर्षमा करोडौँ नोक्सान भएपछि देशकै ठूलो भनेर दाबी गरिने मेचीनगर-१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्समा नक्कली आगलागी गराइएको पाइएको हो । तर, यसको आधिकारिकता प्रहरी प्रशासनबाट भएको छैन । प्रहरी अझै आगलागीको अनुसन्धानमै छ । तर, स्रोतको दाबी र हिटालाई प्राप्त प्रमाणहरू हेर्दा उक्त आगलागी अचानक नभई योजनाबद्ध रूपमा भएको देखिन्छ ।
कम्पनी अघिल्ला दुई आर्थिक वर्ष घाटामा थियो । दुई वर्षसम्म नाफा नभएपछि चालु आर्थिक वर्षमा बिमाबाट रकम असुली गर्न उद्योगमा नक्कली आगलागी गराइएको स्रोतको दाबी छ । चालु आर्थिक वर्षमा पनि नाफा नहुने देखेपछि उद्योग सञ्चालककै योजनामा आगलागी गराइएको स्रोत बताउँछ ।
फागुन २८ गते बिहानै उद्योगमा भयानक आगलागी भएको थियो । घना आवादी भएको गाउँको मध्यभागमा रहेको उद्योगमा भएको आगलागीले सिंगो गाउँ त्रस्त बनेको थियो । बिहान लागेको आगो भोलिपल्ट साँझ मात्रै नियन्त्रणमा आएको थियो । कम्पनीले ठूलो क्षति भएको बताए पनि आगलागी हुनुअगाडि सम्पूर्ण मूल्यवान् सामानहरू गोदामबाट निकालिएको स्रोत बताउँछ ।
आर्थिक वर्ष २०७९/०८० मा कम्पनीले पाँच करोड बढी घाटा व्यहोरेको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स् संस्थाको रिपोर्टअनुसार गत आर्थिक वर्षमा कम्पनीले पाँच करोड १४ लाख ३९ हजार ५९३ रुपैयाँ घाटा व्यहोरेको देखिन्छ । त्यति मात्रै होइन आर्थिक वर्ष २०७८/०७९ मा पनि कम्पनी घाटामा थियो । आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले करिब साढे तीन करोड घाटा व्यहोरेको थियो । आन्तरिक राजस्व कार्यालय भद्रपुरका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले तीन करोड ४१ लाख ७० हजार ८७ रुपैयाँ घाटा व्यहोरेको थियो । अघिल्ला दुई आर्थिक वर्षको कुल घाटा मात्रै आठ करोड ५६ लाख १२ हजार ६८० रुपैयाँ घाटा व्यहोरेको छ ।
दुई वर्षमा साढे आठ करोड घाटा, बिमाबाट १५ करोड असुल्ने योजना
दुई वर्षसम्म नाफा नभएपछि कम्पनीका सञ्चालक तनावमा थिए । स्रोतका अनुसार चालु आर्थिक वर्षमा पनि नाफा नहुने देखेपछि सञ्चालकले बिमाबाट रकम असुल्न आगलागीको फण्डा निकालेको स्रोत बताउँछ । लेमिनेट्सका मुख्य सञ्चालक रजनीश कर्नानी लगायतको योजनामा नै उद्योगमा आगलागी भएको स्रोतले दाबी गरेको छ । उद्योगले शंकास्पद आगलागीमा १५ करोड रुपैयाँ बराबरको क्षति दाबी गरेको छ । आगलागीबाट १५ करोड रुपैयाँको भौतिक सम्पत्ति क्षति भएको विवरण उद्योगले प्रहरीलाई दिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट उद्योगमा १५ करोडको क्षति भएको विवरण जिल्लामा आएको हो । इलाका प्रहरी कार्यालय धुलाबारीमार्फत आएका विवरणमा आगलागीका कारण ठूलो मात्रामा भण्डारण गरिएको काठको गोलिया र तयारी प्लाइउड खरानी भएको उल्लेख छ । कम्पनीले पछिल्ला दुई वर्षमा व्यहोरेको कुल साढे आठ करोड घाटा असुल्न आगलागी गराएको हो ।
उद्योगले विद्युत् सर्ट भएर आगलागी भएको दाबी गरे पनि घटनाक्रम अनुसन्धानका क्रममा धेरै त्रुटि फेला परेको थियो । उद्योगले बिमाको करोडौँ रकम पचाउन र राजस्व विभागको छानविन छल्न उद्योगमा नक्कली आगलागी गराइएको स्रोतको दाबी छ । उद्योग केही महिनाअघि मात्रै २५ करोडको राजस्व हिनामिनामा ३२ लाख मात्रै तिरेर छुटेको थियो ।
स्रोतका अनुसार कबाडी सामानहरू मात्र भएको अवस्थामा उद्योगमा आगोलागी भएको थियो । कबाडी सामानमा भएको आगलागीबाट १५ करोड क्षति भएको उद्योगको दाबी छ । उद्योगले कबाडी सामान डढाएरै बिमाबाट करोडौँ बचाउने योजना बनाएको छ । स्रोतका अनुसार लेमिनेट्समा हुने गरेको कच्चा र पक्का बिलको कारोबार र राजस्व विभागको छानविनसमेत प्रभावित पार्नेगरी नक्कली आगलागी गराइएको थियो । उद्योगले करोडौँ राजस्व हिनामिनाको थप अनुसन्धान नहोस् भनेर आगलागी गराइएको हुनसक्ने स्रोतको दाबी छ ।
यसमा बिमा कम्पनीको पनि मिलेमतो आशंका गरिएको छ । कम्पनीले सिद्धार्थ प्रिमियम इन्सुरेन्स र शिखर इन्सुरेन्समा बिमा गराएको छ । उनीहरूकै भूमिकासमेत शंंकास्पद देखिएको स्रोतको दाबी छ । यसबारे प्रतिक्रिया लिन हामीले सम्बन्धित कम्पनीका प्रतिनिधिसँग पटक-पटक प्रयास गर्दा र सम्पर्क गर्न खबर छाड्दासमेत पनि उनीहरू सम्पर्कमा आएनन् । बारम्बार प्रयास गर्दासमेत उनीहरूको फोन उठेन । यसबाट बिमा कम्पनीको भूमिका पनि शंकास्पद देखिएको छ । यसअघि भएका कम्पनीका बद्मासी हेर्दा बिमा कम्पनीका कर्मचारीलाई यसले प्रभावमा पार्न खोजेको देखिन्छ ।
पटक-पटक छुटकारा
यसपटकको आगलागी मात्रै होइन उद्योगका गतिविधि विगतदेखि नै शंकास्पद छन् । गतवर्ष मात्र राजस्व हिनामिनामा भगवती लेमिनेट्स उद्योगका तत्कालीन सञ्चालकहरू रजनीश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दिपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाल लगायतलाई राजस्व अनुसन्धान विभागले अनुसन्धानसमेत गरेको थियो । लामो समयसम्म अनुसन्धान गर्नुपर्ने फाइलहरू रोकिएपछि तत्कालीन समयमा राजस्व अनुसन्धान विभागको नियतमाथिसमेत प्रश्न उठेको थियो । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०७६ अनुसार राजस्व चुहावटको कसुर गरेमा त्यस्ता व्यक्ति र कम्पनीलाई बिगोको शतप्रतिशत जरिवाना वा कसुरको मात्रा हेरी पाँच वर्षसम्म कैद सजाय गर्ने व्यवस्था छ । ऐनअनुसार एक करोड सम्मको बिगोमा एक महिनादेखि ६ महिनासम्म कैद हुने व्यवस्था छ । यसैगरी एक करोडदेखि पाँच करोड रुपैयाँसम्मको बिगोमा ६ महिनादेखि एक वर्षसम्म कैद हुने व्यवस्था छ । त्यस्तो व्यक्तिबाट बिगो असुल वा जफत गरिने उल्लेख छ । तर, उद्योगलाई यो सजाय भएन । उद्योग सन् २०१६ मा स्थापना भएको हो । १४ सय मजदुरले काम गर्ने यो उद्योगमा आधा दर्जनभन्दा बढी सञ्चालक छन् । विष्णु मधगोरिया, रजनीश कर्नानी र विकास सिंह भगवती लेमिनेट्सको मुख्य सञ्चालक हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच