काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा सर्लाहीको बागमती युवा क्लबले विजयी सुरुवात गरेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा बागमतीले सानेपा क्लबविरुद्ध तीन-एकको सहज जित निकालेको हो । बागमतीको जितमा कप्तान विमल घिसिङ र सिर्जनराज गौतमले गोल गर्नुभयो । बागमतीले अर्को एक गोल भने सानेपाबाट आत्मघाती पाएको थियो । सानेपाका पेम्बा दोर्जे लामाले एक गोल फर्काउनुभएको थियो ।
विमलले ३१औं मिनेटमा गोल गर्दै वाग्मतीलाई अग्रतामा राख्नुभएको थियो । ६०औं मिनेटमा सिर्जनराजले गोल गर्दै बागमतीको अग्रता दोब्बर बनाउनुभएको थियो । ७६औं मिनेटमा सानेपाका पेम्बाले पेनाल्टीमा गोल गर्दै वाग्मतीको अग्रतालाई दुई–एकमा झार्नुभएको थियो । तर, खेल सकिन पाँच मिनेट बाँकी रहँदा सानेपाका अमित केसीबाट आत्मघाती गोल उपहार पाएपछि बागमतीले तीन–एकको अग्रता बनाएको थियो ।
करिब तीन महिनासम्म सञ्चालन हुने लिगमा १४ टोलीको सहभागिता छ । बिहीबारदेखि सुरु भएको सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । आवश्यक परे च्यासलस्थित च्यासल रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पनि खेलाइने एन्फाले जनाएको छ । शीर्ष दुई टिम ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् । पुछारका दुई टिम ‘सी’ डिभिजन छनोटमा खस्कनेछन् ।
लिग विजेताले १० लाख, उपविजेताले सात लाख र तेस्रो हुने टिमले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको ‘फेयर प्ले टिम’ ले ५० हजार र अरू व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही ५० हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
एन्फाका अनुसार प्रतियोगिताको कुल बजेट तीन करोड ५५ लाख २८ हजार रुपैयाँ छ । प्रतियोगितामा वाग्मती युवा क्लब, आरसी ३२ फुटबल एकेडेमी, सानेपा क्लब, रानीवन स्पोर्ट्स क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा युनाइटेड युथ क्लब, गोलबजार स्पोर्ट्स क्लब, झम्सीखेल युथ क्लब, स्पोर्ट्स एकेडेमी साँगा, स्वयम्भू क्लब, समाजकल्याण स्पोर्ट्स सेन्टर, सामाजिक युथ क्लब, महावीर क्लब र खालीबारी युवा क्लबको सहभागिता छ ।
प्रतियोगितामा पहिलोपटक उपत्यकाबाहिरका पाँच टिमले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको प्रतिटिकट मूल्य सामान्य प्यारापिटतर्फ १०० र भिआईपी प्यरापिटतर्फ २०० रुपैयाँ तय गरिएको एन्फाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच