काठमाडौं । खेल पर्यटनलाई प्रवद्र्धन गर्दै नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको चौथो संस्करण सम्पन्न भएको छ । प्रतियोगिताका विभिन्न चरणका रेसमध्ये सबैभन्दा लामो १०० माइलको रेसमा यसअघिको आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ राई विजेता बन्नुभयो । उहाँले २६ घण्टा ५० मिनेट १५ सेकेण्डमा रेस पूरा गर्दै उपाधि जित्न सफल हुनुभएको हो । यससँगै कुलुङले यसअघि सन् २०२२ मा ३१ घण्टा १० मिनेट ५७ सेकेण्डको आफ्नै रेकर्ड तोड्नुभएको हो ।
यस्तै, बेलायतका अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेण्डमा रेस पूरा गरी उपविजेता बन्दा ३३ घण्टा ५७ मिनेट ४० सेकेण्डमा रेस पूरा गर्दै विजय मगर तेस्रो हुनुभएको छ ।
१०० किलोमिटर रेस १४ घण्टा ४५ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुषतर्फ मनकुमार रोका मगर विजेता बन्नुभयो । यस्तै, १६ घण्टा ४६ मिनेट ४८ सेकेण्डमा रेस पूरा गरेर फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४ मिनेट १७ सेकेण्डमा रेस पूरा गरेर अविनाश देवकोटा तेस्रो हुनुभयो ।
५० किलोमिटर रेस सात घण्टा १७ मिनेट २५ सेकेण्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ आठ घण्टा २२ मिनेट पाँच सेकेण्डमा पार गर्दै प्रिया राई विजेता बन्नुभयो । यस रेसमा पुरुषतर्फ निम्साङ लिम्बू र महिलातर्फ रसिला तामाङ क्रमशः सात घण्टा १८ मिनेट ११ सेकेण्डमा र ९ घण्टा १३ मिनेट ६ सेकेण्डमा रेस पूरा गरेर दोस्रो हुनुभएको थियो ।
यस्तै, पुरुषतर्फ दिपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमशः आठ घण्टा चार मिनेट ३६ सेकेण्डमा र नौ घण्टा १६ मिनेट ४५ सेकेण्डमा रेस पूरा गरेर तेस्रो हुनुभयो । यस संस्करणमा १०० माइल, १०० किमी र ५० किमीका खेलको पाँचौँ स्थानभित्र आउने खेलाडी स्वतः एसिया ट्रेल मास्टर्समा क्वालिफाइ भएको समेत अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल रेसमा प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, ३० किलोमिटर रेस चार घण्टा ४९ मिनेट ४८ सेकेण्डमा पार गर्दै उबिन मल्ल विजेता बन्नुभयो । चार घण्टा ५७ मिनेट २९ सेकेण्डमा रेस पूरा गरेर लुकास सेर्डन उपविजेता बन्दा चार घण्टा ५७ मिनेट ४५ सेकेण्डमा रेस सम्पन्न गरेर एण्ड्रियु एलकक तेस्रो हुनुभएको थियो ।
महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले ६ घण्टा ४५ मिनेट २१ सेकेण्डमा रेस पूरा गर्दै महिलातर्फको ३० किलोमिटर रेसको विजेता बन्नुभएको छ । बेलायतकी जेन्नी चाप्लिनले सात घण्टा १९ मिनेट ४८ सेकेण्डमा ३० किमी रेस पूरा गरेर उपविजेता बन्दा अमेरिकाकी एरिका मिक्सले सात घण्टा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो बन्नुभयो ।
१० किलोमिटर रेस एक घण्टा दुई मिनेट पाँच सेकेण्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम हुनुभयो । यस्तै, एक घण्टा दुई मिनेट ६ सेकेण्डमा रेस पूरा गरेर रेम बुढा मगर दोस्रो हुँदा एक घण्टा दुई मिनेट आठ सेकेण्डमा रेस पूरा गरेर प्रवीन लिम्बू तेस्रो हुनुभएको थियो ।
अध्यक्ष थापाका अनुसार रेसलाई थप समावेशी बनाउन शनिबार दुई किलोमिटरको विशेष रेससमेत सम्पन्न गरिएको थियो । जसमा भिन्न रूपले सबल बाल-बालिकाहरूको रेस भएको थियो । नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो रेसमा १३ बालबालिका सहभागी थिए । जसमा सत्यम थापा विजेता बन्दा रुकुस मैनाली उपविजेता र सिर्जना राई तेस्रो बन्नुभएको थियो ।
शुक्रबार बिहान ८ बजे इचंगुनारायणस्थित सिंगल ट्रीमा रहेको हिमालय क्विन बी रिसोर्टबाट १०० माइलको रेस सुरू भएको थियो । शुक्रबार र शनिबार सम्पन्न भएको विभिन्न चरणको रेसमा नेपालसहित १६ मुलुकका ३२४ धावकहरू सहभागी थिए । जसमा ४० जना विदेशी धावक सहभागी भएको आयोजकले जनाएको छ ।
यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको रेसका अध्यक्ष थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार १०० माइलको रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
१०० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् । ५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै, ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेसअन्तर्गत प्रथम, द्वितीय र तृतीय भएकाहरूलाई क्रमशः २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र दिइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच