बैतडीसहित सुदूरपश्चिममा ‘बिसु पर्व’ मनाइँदै

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीसहित सुदूरपश्चिममा नयाँ वर्षको आज पहिलो दिन बिसु पर्वको रुपमा धुमधाम संगै मनाइँदै छ । बैशाख १ गते सुदूरपश्चिमेलीहरुले बिसु पर्वको रुपमा मनाउने गर्दछन् । रोजगारी र अध्ययन तथा अन्य कामका लागि घर बाहिर रहेकाहरु गाउँ फर्किएपछि बिसुको रौनकता छाएको छ ।

बैतडीसहित डडेल्धुरा, बझाङ्, दार्चुला, डोटी, अछाम, बाजुरालगायत जिल्लाका स्थानीयहरुले यो बिसु पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन् । पछिल्लो समय सुदूरपहाडमा मात्रै नभएर तराईका कैलाली, कञ्चनपुरमा समेत यो पर्व मनाउने गरिन्छ ।

बिसु पर्व सबै पर्व मध्येको जेठो र महत्वपूर्ण पर्व हो । यो पर्वमा प्रदेश गएकाहरु पनि गाउँघर आएकाले बिसुको छुट्टै प्रकारको रौनकता छाएको सिगास गाउँपालिका-२ का स्थानिय टेकसिंह धामीले बताउनुभयो ।

यस्तै यो पर्वका धार्मीक तथा साँस्कृतिक महत्वहरु पनि रहि आएका छन् । बिहानै नुवाईधुवाई गरेर विभिन्न मठमन्दिरहरुमा पूजाआजा गर्ने गरिन्छ । बिसु पर्वको बिहान बिस बग्यो, बिस बग्यो भन्दै स्नान गर्ने चलन रहि आएको छ । यसले शरिरको सबै बिस पखालिने विश्वसा रहिएको पाटन नगरपालिका-६ का स्थानिय संस्कृतिका जानकार हरिप्रशाद जोशीले बताउनुभयो ।

बिसु पर्वमा मिठा-मिठा खानाका परिकार खाने र साथै सिस्नो लगाउने चलन पनि रहि आएको छ । देवर-भाउजू, नन्द-भाउजू र साली-भिनाजुहरूले एक-आपसमा सिस्नुपानी छ्यापेर पनि यो पर्व मनाउने गरिएको संस्कृतिका जानकार जोशीले जानकारी दिनुभयो । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु पर्वको दिनमा आफैँले शरीरमा सिस्नो लगाउँछन् ।

बैशाख शुरु भएसंगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउने गरिएको संस्कृतिका जानकार बताउँछन् । बिसुको दिन सिस्नो लगाउँदा शरीरमा भएका रोगव्याधिहरू हराएर जाने जनविश्वास रहिआएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?