आँधीखोला उर्लेर आयो, आउने थिइन मायाले बोलायो !

कुनै विषयमा लेख्न बस्दा भित्रैदेखि आस्था भरिएर आउँछ । दिनहुँजसो हुने देशका अनगिन्ती साहित्यिक कार्यक्रमहरूको विवरण दिन सकिँदैन र कतिपय कार्यक्रम बिर्सन सकिँदैन । जीवनमा धेरै प्रकारका कायक्रममा सहभागी हुँदै आइएको छ । आस्थाले, रहरले र कहरले सामेल हुने ती सभासमारोहमध्ये केहीका विषयमा विशेष आस्था हुन्छ । ‘आँधीखोला उर्लेर आयो आउने थिइन मायाले बोलायो’ बोलको यो लोकगीत निकै प्रचलित थियो कोहीबेला । हालैमा यसलाई आधार बनाएर त्यही खोलाको सेरोफरोमा एकपटक फेरि पुग्ने अवसर मिल्यो ।

स्याङ्जा जिल्लाको पुतली बजार नगरपालिकामा यस्तै कार्यक्रम भयो । स्याङ्जा साहित्य प्रतिष्ठान, राङ्खोला लक्ष्मी स्मृति पुस्तकालय, शिवकुमार अधिकारी स्मृति प्रतिष्ठान र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा पुतली बजारमा लोक साहित्य सङ्गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रमको आयोजना भयो अनि त्यस गोष्ठीमा सहभागी हुने अवसर मिल्यो ।

त्यसो त मसँग आँधीखोलासँग जोडिएका अनेकौँ स्मृति छन् । बाल्यकालमा जतिखेर हामी पढ्न भनेर गाउँ छोडर हिँड्यौँ आँधीखोला हाम्रो गन्तव्यको बीचमा पर्ने मिथक नै थियो । आँधीखोला नतरेसम्म आफ्नो गन्तव्य पूरा गर्न सम्भव थिएन । अनगिन्ती ठाउँमा आँधीखोला तरेर नौडाँडा आएपछि मात्र हाम्रो अघिल्लो यात्रा तय हुन्थ्यो । ती पुराना दिनहरू स्मृतिको कुनामा अलि मधुरो बनेर बसेका रहेछन् यसपटक पुनः ताजा भएर आए । नेपाल र नेपालीलाई चिनाउने धेरै आधारहरूमध्ये नदीनालाहरू पनि महत्वपूर्ण हुन् । यसैमध्येको आँधीखोला गण्डकी प्रदेशको ज्यादै प्रसिद्ध खोला हो ।

हामीलाई बाल्यकालमा बाजातालमा नाच्न हुँदैन । बाजातालमा नाचे जात जान्छ भनेर सिकाइएको थियो । त्यसैले कहिल्यै पनि हामीले नाच्ने र गाउने आँट गर्न सकेनौँ । हामीभित्र पनि रहर त थियो तर पारिवारिक भयले गर्दा हामीभित्रको त्यो रहर पूरा भएन ।

यो खोला स्याङ्जा जिल्लाको मुटुलाई आधार बनाएर कतै उत्तरदक्षिण, कतै पूर्वपश्चिम बगेको मात्र छैन यसले स्याङ्जालाई अनाज भण्डार दिएर पालेको छ र देशभरि राम्ररी चिनाएको छ । नेपालको सन्दर्भमा कोही बेला उच्चपदस्थ निजामती कर्मचारीहरूको प्रभुत्व भएको जिल्ला हो स्याङ्जा । आँधीखोला प्रस्रवण क्षेत्र भनेरै पनि लोकइतिहासका केही पाना निर्माण भएका छन् । हाम्रो संस्कृति र सभ्यताका आधारका रूपमा रहेका यस्ता नदी र खोलाहरूले हामीलाई सगौरव चिनाएका पनि छन् । हाम्रो लोकजीवनसँग जोडिएका सौन्दर्यका अनगिन्ती पाटाहरूको पटाक्षेप गराएका पनि छन् ।

हरेक मानिस औपचारिक र अनौपचारिक, कृत्रिम, मौलिक, भित्री र बाहिरी रूपमा बाँचेको हुन्छ । कतिपय व्यक्तिले बाध्यताले आफ्नो सक्कली चेतनालाई बाहिर ल्याउन सकिरहेका हुँदैनन् । हामीलाई बाल्यकालमा बाजातालमा नाच्न हुँदैन । बाजातालमा नाचे जात जान्छ भनेर सिकाइएको थियो । त्यसैले कहिल्यै पनि हामीले नाच्ने र गाउने आँट गर्न सकेनौँ । हामीभित्र पनि रहर त थियो तर पारिवारिक भयले गर्दा हामीभित्रको त्यो रहर पूरा भएन । एकपटक विद्यालयमा पढ्दा मैले अतिरिक्त क्रियाकलापअन्तर्गत लोकगीत आउने कार्यक्रममा भाग लिएँ र जानेको गीत गाएँ तर त्यो कुरा थाहा पाएर पिताजीले मलाई आफ्नो कुलपरम्पराको हवाला दिएर गाली गर्नुभयो ।

त्यतिखेर ब्राहृमण त्यसमा पनि पण्डितको छोरा मलाई नाच्ने, गाउने वा अन्य यस्तै मनोरञ्जन गर्ने अधिकार परम्पराले दिएको थिएन । गाउनु र बजाउनु भनेको हाम्रो जात, कुल र परम्पराको विपरीत हो भन्ने हामीलाई सिकाइएको हुनाले हामी सबै भाइहरू यो कलाबाट अहिलेसम्म पनि वञ्चित रहेका छौँ । त्यो संस्कारबाट आएको मलाई लोकगीत भन्ने बित्तिकै हाम्रो विषयभित्र नपर्ने कुरा हो भन्ने लाग्थ्यो । जब उच्चशिक्षाको निम्ति काठमाडौं आइयो त्यहाँ स्नातकोत्तरमा लोकसाहित्य भन्ने विषय नै पढाइ हुने गरेको र त्यहाँ विभिन्न प्रकारका लोकसाहित्यसँग सम्बन्धित कुरा सुन्ने अवसर पाएको थिएँ ।

यसरी आफूभित्रको प्रतिभालाई पनि कुण्ठित गर्ने गरी हामीले पाएको शिक्षा कति सान्दर्भिक भयो होला ? भन्ने अहिले लागिरहन्छ । तर, यस्ता धेरै विषयहरू जो हाम्रो जीवनको नजिक छन्, मौलिक छन् र हाम्रो सभ्यताका यी परिचायक हुन् । शास्त्रका नियम र निर्मित आदर्शहरू बन्नुभन्दा पहिल्यैदेखि हाम्रो लोकसभ्यता चलेको हो भन्ने कुरा बुझ्न हामीलाई लामो समय पर्खिनु पर्‍यो । यस पटकको स्याङ्जा यात्रामा तिनै पुराना कुरालाई पुनः स्मरण गरेर आएँ । त्यहाँ मेरा पिताजीकै उमेरको हाराहारी अग्रजकहरू थिए । जसले निर्धक्क हाम्रा आफ्ना लोकसंस्कृतिका कुरा गरिरहेका थिए । हाम्रो लोकसभ्यता र संस्कृतिको गौरवगाथा गाइरहेका थिए ।

लोकसाहित्य सङ्गोष्ठीमा गण्डकी क्षेत्रको लोकपरम्परालाई आधार बनाएर प्रमोद पंज्ञानीले तयार पारेको ‘काली गण्डकी बेंसीका सदाकालीन लोकगीत’ र प्रा.डा.षडानन्द पौड्यालले तयार गरेको ‘नेपाली लोकगीतका चार तीर्थ’ शीर्षकका गोष्ठीपत्रहरू वाचन गरिए र तिनका विषयमा गहन विमर्श भयो । त्यहाँ पाका पुराना स्रष्टा र द्रष्टाहरूको गरिमामय उपस्थिति रहेको थियो । उमेरले आठ दशक पार गरेर पनि युवा जोश र जाँगर भरेर मुस्कुराइरहेका विश्वप्रेम अधिकारीको जोशिलो र हँसिलो सहभागिता बुढ्यौलीका धेरै परिभाषामा नअटाउने खालको थियो ।

त्यसै गरी त्यहाँ अरू धेरै पाका पुराना व्यक्तिहरू भेटिए । छयासी वर्षका स्वतन्त्रता सेनानी तारापति सुवेदी र असीकै वरपरका देवबहादुर सिंह ठकुरी, त्रिभुवन शर्मा, प्रा.हुमकान्त पाण्डे, डा.मेघराज ढकाल, प्रा.कपिल अज्ञात, प्रा.डा.विष्णु पौडेल, प्रा.डा.षडानन्द पौड्याल, प्रा.डा. शालिग्राम सुवेदी, पूर्णप्रसाद अधिकारी, वरिष्ठ पत्रकार ओमप्रकाश शर्मा, डा.भूमिराज बस्ताकोटी, डा.टंक पन्थ, भगवती अर्याल, सीता विष्ट, हिरण्यलाल पौडेल, सुरज पौडेल, बाबुकुमार सिग्देल, प्रमोद पंज्ञानीलगायत व्यक्तित्वहरूको विशेष उपस्थितिमा सम्पन्न लोकसाहित्य सङ्गोष्ठीको आफ्नै किसिमको महत्व रहेको थियो ।

भावनामा आएर संस्था जन्माउन जति सजिलो छ त्यसलाई निरन्तरता दिन र त्यसको प्रतिष्ठा जोगाउन त्यत्तिकै गाह्रो छ । तर, स्याङ्जाका ती पाका व्यक्तित विश्वप्रेम जसले आफ्नो अथक परिश्रमले यी संस्थाहरूलाई निरन्तरता दिएका छन्, तिनको यथोचित प्रतिष्ठा पनि बँचाएरै आएका छन् । साथमा रजतस्थल नामको त्रैमासिक साहित्यिक पत्रिकालाई पनि धेरै वर्षदेखि चलाइरहेका छन् । त्यतिमात्र नभएर एउटा जिल्लामा एक वर्षमा दर्जन जति साहित्य र संस्कृतिसेवीलाई सम्मानित र पुरस्कृत गरेर जुन योगदान गरिरहेका छन् त्यो निश्चय अनुकरणीय र प्रशंसनीय कार्य हो भन्ने लाग्छ ।

सीमा सधैँ शक्तिलाई पछ्याएर हिँडिरहेको हुन्छ । स्याङ्जामा यति राम्रो साहित्यिक कार्यक्रम भइरहेका बेला त्यस क्षेत्रमा रहेर काम गरिरहेका केही पुराना र नयाँ स्रष्टाहरू मेरो सम्झनामा थिए र यस कार्यक्रममा ती प्रतिभालाई पनि खोजिरहेको थिएँ तर खोइ किन हो ती स्रष्टाहरूलाई नदेख्दा भने कार्यक्रभरि केही असजिलो अनुभव भइरहृयो ।

जीवनको रङ्गमञ्चमा अनकौं पाठशालाहरूमा भर्ना हुने अवसर जुरेको छ र हरेक पाठशालाबाट केही न केही नयाँ नौलो जानकारी लिने मौका मिलेकै छ । यस पटकको स्याङ्जा यात्राले धेरै नयाँ कुरा सिकाएको छ । मित्र प्रमोद पंज्ञानीको गोष्ठीपत्रले कालीगण्डकी प्रस्रवण क्षेत्रमा प्रचलनमा रहेका झ्याउरे, रोइला, बिरहनी, घटुवारे र लाहुरेलो जस्ता बाह्रमासे तर हाल लोपोन्मुख अवस्थामा रहेका लोकगीतको प्रकृति र विशेषताका बारेमा जान्ने अवसर मिल्यो भने प्रा.षडानन्दको गोष्ठी पत्रबाट गण्डकी क्षेत्रमा प्रचलनमा रहेका विभिन्न लोक गीतहरूमध्ये मगरहरूको गीत गाउने थलोलाई ओखरा, बाहुन÷क्षेत्रीहरूको गीत गाउने थलोलाई खोप्रो, थकालीहरूको गीत गाउने थलोलाई छेब्दी खोहृवीजी र गुरुङहरूको गीत गाउने थलोलाई रोदीघर भनिने गरेको भन्ने खोजपरक विचार जान्ने अवसर मिल्यो ।

यद्यपि यी विचार अन्तिम होइनन् तर यी विचारहरूले यस क्षेत्रको अध्ययनका निम्ति बहसको थालनी गराएका छन् । त्यतिमात्र होइन हुमकान्त पाण्डे, विश्वप्रेम अधिकारी, कपिल अज्ञात, ओमप्रकाश शर्माहरूसँगको सम्बन्धको नवीकरण गर्ने जुन अवसर मिल्यो त्यो मेरा निम्ति महत्वपूर्ण उपलब्धि भएको लागेको छ । साथै अन्य धेरै विद्वान् र स्नेहीजनसँगको सम्बन्धको पनि पुनर्ताजगी भएको छ । नेपाली साहित्यका अमर साधक महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा २०१९ सालमा स्थापना भएको राङखोला लक्ष्मीस्मृति पुस्तकालयको तर्फबाट महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार २०७९ प्राप्त गर्ने सुयोगका निम्ति सम्बद्ध संस्थाका पदाधिकारीज्यूहरू र निर्णायकज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु ।

काठमाडौंमा एउटा विशाल साहित्यिक कार्यक्रम सम्पन्न भयो । राजधानीको कुनै तारे होटलमा सम्पन्न भएको त्यो कार्यक्रम र राजधानीबाहिरको कुनै दूरदराजमा एउटा विद्यालयको कक्षाकोठामा सम्पन्न भएको अर्को कार्मक्रम धेरै किसिमले तुलना गर्न योग्य छैन ।

यसै साता काठमाडौंमा पनि एउटा विशाल साहित्यिक कार्यक्रम सम्पन्न भयो भन्ने समाचार आयो । राजधानीको कुनै तारे होटलमा सम्पन्न भएको त्यो कार्यक्रम र राजधानीबाहिरको कुनै दूरदराजमा एउटा विद्यालयको कक्षाकोठामा सम्पन्न भएको यो अर्को कार्मक्रम धेरै किसिमले तुलना गर्न योग्य छैन । मानोमुठी उठाएर स्रष्टासम्मान गर्ने त्यो कार्यक्रम र कुनै दाताले मन फुकाएर आर्थिक योगदान गरेको यो कार्यक्रमको आर्थिक हैसियत कसरी समान हुन सम्भव छ र ? त्यसैले यी दुई अतुलनीय विषयमा बहस गर्नुको कुनै तुक छैन । तर, दुबै साहित्यिक कार्यक्रमहरू भएकाले यी दुईले केही तात्विक समानता पनि राख्छन् ।

दुबैको उद्देश्य भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण र संबर्धन गर्नु नै थियो । यी दुवै कार्यक्रममा साहित्यसेवी र साहित्यपे्रमीको उपस्थिति भएको थियो र भाषा, साहित्य, संस्कृति, दर्शनका विषयमा बहसहरू भएका थिए । यताको कार्यक्रममा नेपाल र भारतका समेत स्रष्टा जम्मा भएर दुई देशीय सम्बन्धका विषयमा पनि सायद बहस भयो भन्ने सुनियो । सरकारले सम्पन्न गर्नुपर्ने कार्यक्रम निजी तवरबाट त्यो पनि केही सीमित व्यक्तिको विशेष सक्रियतामा पूर्ण सफल भएको भनेर कार्यक्रमको सराहना गरिएको हुनाले कार्यक्रमको पूर्णतामा कुनै सन्देह भएन । बरू सहभागीका सुन्दर प्रतिक्रियाबाट सुस्तसुस्त हामीले पनि साहित्यको सत्ता अनुभव गर्न पाएको सङ्केत मिल्थ्यो अनि सहभागीले गर्व गरेझैँ लाग्थ्यो । जे होस् हामी जहाँ छौँ, जसरी छौँ आफ्नोपनमा गर्व गर्ने अवसर प्राप्त भइरहोस् भन्ने कामना गरौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?