इमानदारीको पनि हद हुन्छ नि ! लक्ष्मण सर

‘भाषामा नअटाउने कति कुरा छन् छातीका पिँधमा’ त्यसै भनिएको होइन रहेछ । छातीका पिँधमा जमेर बसेका कुनै कुराले भित्रैसम्म हल्लाएपछि मानिस निकै कमजोर हुन्छ या ऊ भित्रबाट शक्तिको स्रोत उर्लेर आउँछ । सायद त्यसपछि कलम हुनेहरू लेख्न बस्दा हुन् । तर कलमले पनि सबै कुरा बाहिर ल्याउन नसकेपछि माथिको अभिव्यक्ति बाहिर आउँदो हो ? लेख्ने अभ्यास छैन भने छातीमा जमेर बसेका भाव र विचारको थोरै प्रतिशत मात्र बाहिर आउन सम्भव छ । लेख्ने अभ्यास भएकाहरूले केही बढी लेख्दा हुन् । तर सबै कुरा बाहिर ल्याउन कतै शब्द अपूरा हुन्छन् कतै अन्य धेरै कुरा बाधक हुन्छन् । त्यसपछि मनोविज्ञानको दर्शन सम्झना हुन्छ ।

मनमा लागेका सबै कुरा बाहिर ल्याउन मिल्दैन । मनको गहिराइमा त भन्न मिल्ने/नमिल्ने धेरै कुरा हुन्छन् । कति कुरा सामाजिक मर्यादाका कारणले त कति कुरा सम्बन्धको आदर्शले, कति कुरा भयले, कति कुरा लाजले र कति कुरा गोपनीयताको नियमले पनि बाहिर ल्याउन मिल्दैन । जब मनलाई हल्लाइरहेका सबै कुरा बाहिर ल्याउन सकिँदैन, त्यसपछि मानिसको स्वभावमा पनि केही परिवर्तन आउँछ । कति कुरा भर्खरै बुझेजस्तो लाग्छ कति कुरा अझै बुझ्न नसकेको जस्तो लाग्छ । जब ती सबै कुरा जो बाहिर आउन खोजिरहेका छन् तिनलाई व्यस्थापन गर्न नसक्दाको अवस्थामा मानिस अस्वाभाविक, असाधारण वा मौन हुन थाल्छ । केही हकी मानिसहरूले केही कुरा बाहिर ल्याउँछन् ती कतिपय मानिसहरू विवादको भुँमरीमा फस्छन् । यहीँनेर आइपुग्दा अभिव्यक्ति स्वतन्त्रताको सम्झना हुन्छ । मानिस त्यतिमात्र स्वतन्त्र छ जति स्वतन्त्रताले अरूलाई असर गर्दैन ।

कति सम्बन्ध लोकाचारले निरन्तर रहेका होलान् । कति सम्बन्ध आस्थाले निभाइएका होलान् । समय र सम्पर्कको दूरी टाढिएपछि नजिकका धेरै सम्बन्ध पातलिन्छन् । हामी सबैको जीवनमा त्यस्तो भएको होला । कतिपयले सम्बन्ध राख्नुको उद्देश्य स्वार्थलाई बनाएका हुन्छन् । स्वार्थ मिले सम्बन्ध लम्बिन्छ, स्वार्थ नमिले सम्बन्ध टुट्छ ।

मनका धेरैजसो कुरा आफ्नामात्र नभएर अरूका विषयले जन्माएका हुन्छन् । मानिस आफैँमात्र भएर रहन सक्दैन । अरू धेरैजना मिलेर बनेको मानिस ती आफू बन्नुका आधारलाई बिर्सेर बाँच्न पनि सक्दैन । कतिपय आधारहरू सकारात्मक हुन्छन् भने धेरै आधार निषेधात्मक हुन्छन् । गुन गर्नेहरू भन्दा बैगुन गर्नेहरूको ईख तथा प्रतिस्पर्धाले मानिसलाई ऊर्जा दिइरहेको हुन्छ । भन्न पनि नमिल्ने बिर्सन पनि नसकिने ती मनका चोटहरू पोख्न कतिपयले साहित्यको सहारा लिएका हुन्छन् । अरूका कुरा जस्तो पारेर भनिएका हुन्छन् तर धेरै कुराको बीज आफ्नै भोगाईसँगै अनुभूति हुन्छन् । केही राम्रा कुरा बाहिर ल्याउनपाए पनि धेरै नराम्रा कुरा मनमै बसिरहने समस्याले मानिस भित्रदेखि स्वस्थ रहन सक्दैन । त्यो अस्वस्थता आफंैलाई बाहेक अरूलाई थाहा हुँदैन । भन्न नमिल्ने रोगको निदान हुन नसक्दाको अवस्थामा मानिस पहिले मानसिक अनि क्रमशः शारीरिक रोगले ग्रस्त हुन थाल्छ ।

सम्बन्धको दुनियामा धेरै जनासँग तपाईँ हाम्रो भेट हुन्छ । कतिजना मनको गहिराइ छामेर बस्छन् कतिजनाले मनमा ठाउँ नै पाउँदैनन् । रगतको सम्बन्धमा पनि गहिरा-गहिरा खाडल परेका छन् अनि सुदूरको व्यक्तिसँग आफन्तको गहिरो नाता जोडिएको छ । कसैलाई स्नेह गरिएको छ । कसैलाई आदर गरिएको छ । कसैलाई घृणा त कसैलाई तिरस्कार पनि गरिएको होला । कति सम्बन्ध लोकाचारले निरन्तर रहेका होलान् । कति सम्बन्ध आस्थाले निभाइएका होलान् । समय र सम्पर्कको दूरी टाढिएपछि नजिकका धेरै सम्बन्ध पातलिन्छन् । हामी सबैको जीवनमा त्यस्तो भएको होला । कतिपयले सम्बन्ध राख्नुको उद्देश्य स्वार्थलाई बनाएका हुन्छन् । स्वार्थ मिले सम्बन्ध लम्बिन्छ, स्वार्थ नमिले सम्बन्ध टुट्छ । केही सम्बन्ध निःस्वार्थ हुन्छन्, केही सम्बन्ध निस्पृह हुन्छन् । कोही मानिस यत्तिकै मन पर्दैन कोही अकारण मन पर्छ । यस्तो चलिरहन्छ सम्बन्धमा ।

लक्ष्मणप्रसाद शर्मा मजगैयाँ मेरा लागि त्यस्तै आर्जित सम्बन्धले जोडिएको, आदरपूर्वक लिने र व्यवहार गरिने नाम हो । उहाँसँग आजभन्दा तीस वर्ष पहिले म सम्पर्कमा थिएँ । उहाँ र मैले केही समय सहकार्य गर्‍यौँ । उमेरले उहाँ मेरा पितासमान हुनुहुन्छ । उहाँले मलाई स्नेह गर्नुहुन्छ । म उहाँलाई आदर गर्थेँ, गर्छु तर हामी पेशाले साथीसाथी थियौँ । सुख दुःखका कुरा हुन्थे हँसीमजाक पनि हुन्थ्यो । यस्तो आदर्श सम्बन्ध जो वषौँसम्म भेटघाट छुटेर पनि मनको कुनामा बसेको सम्बन्धको डोबले छुट्न दिँदो रहेन छ । वर्षौँपछि हालसालै उहाँसँग भेट्ने अवसर जु¥यो । हामी दुईले अँगालो बाँधेर लामो समयपछिको भेटलाई हृदयदेखि नै अङ्गीकार ग¥यौँ । एकअर्कालाई हेराहेर ग¥यौ । केही क्षण मनले बोल्यौँ, केही क्षण मुखले बोल्यौँ । जब हामी छुट्टिन लाग्यौँ उहाँले मेरो हातमा गुटुमुटुपारेको नोट राखिदिँदै भन्नुभयो, ‘कति वर्षदेखि मनमा साँचेर राखेको यो पैसा मैले तपार्इँलाई दिनु थियो ।

कतै भेटै नहुने आज यो नासो बुझाउन पाएँ मन हलुका भयो’, भन्नुभयो । म अलमलमा परेँ मलाई कुनै कुराको सम्झना नै छैन । मैले नलिने, फिर्ता गर्ने जिद्दी गरेँ, उहाँले नवदुर्गादेवीको कसम नै खाएर त्यो रुपैयाँ लिन आग्रह गर्नुभयो । पुरानो ऋण असुल्न गएजस्तो नमिठो लागेर उहाँको मनलाई हलुको पारिदिन मैले त्यो नासो लिएँ । त्यसपछि लाग्यो कतै मैले उहाँलाई भेट्न अनुरोध गरेको त्यही नासो लिने सोचेर त होइन भन्ने उहाँको मनमा लाग्यो कि ! भन्ने मलाई पर्‍यो । हे भगवान् त्यस्तो परेको नहोस् । त्यसमा के कति रुपैयाँ थियो त्यो बेला मैले हेर्ने आँट गरिनँ र हेर्न मन पनि भएन । भेटको त्यो दृश्यले मलाई भावुक बनायो, मेरा आँखाबाट आँसु रसाए । घर आएर हेरेँ त्यहाँ तीन अङ्कमा अटाउने अत्यन्त थोरै रकम थियो । म ‘अन्यमनस्क’ बनेँ लाग्यो जीवनलाई पढ्न र बुझ्न अझै धेरै बाँकी छ । त्यो दृश्य र घटना मैले आजसम्म लेखेको जेजति साहित्य छ त्यो भन्दा धेरै गुणा शक्तिशाली थियो । अनि लाग्यो ‘भाषामा नअटाउने कतिकुरा छन् छातीका पिँधमा’ यसै कारण भनिएको रहेछ ।

मानिस के-के कुराले बाँच्छ ? मलाई सन्देह भयो यतिका वर्षसम्म लक्ष्मण सर मलाई फिर्ता गर्नुपर्ने त्यो ज्यादै थोरै परिमाणको रकम सम्झेर कसरी बस्न सक्नुभयो ? मानिसको सम्झना शक्तिको यो कस्तो अवस्था हो ? वा इमानदारीको त्यो कस्तो पराकाष्ठा हो ? के मेरो नामको त्यो ज्यादै थोरै रकमको नासो उहाँलाई त्यति गह्रौँ भारी बनेर बसेकै थियो त ? अवश्य पनि उहाँले त्यो विषयलाई सामान्य मान्नु भएको थिएन । अन्यथा यतिका वर्षसम्म कसरी त्यति सानो कुराले मस्तिष्कमा जरा गाडेर बस्यो त ? अनि मानवीय मनोविज्ञानको सम्झना भयो । प्रिय लक्ष्मण सर ! मैले यो कुरा सार्वजनिक गर्दा हजुरलाई यो कुराले कस्तो प्रभाव पार्ला मैले अहिले त्यतातिर सोच्नै सकेको छैन । हजुरले यो कुरालाई गोप्य राख्न पो चाहनुहुन्थ्यो कि ? हजुरको सामाजिक मर्यादाको शक्ति र सीमालाई पनि अहिले मैले आँकलन गर्न सकेको छैन ।

कतिसँग सापट मागेर नतिरिएको होला, कतिले हाम्रो पनि खाएका होलान् र नतिरेका होलान् । भनिन्छ, कसैलाई दिन पर्ने रकम कहिल्यै बिर्सिँदैन, बिर्सेजस्तो मात्र गरिन्छ । लिने कुरा सम्झिने र दिने कुरा बिर्सने आमचलन छ । तपाईँ यस्तो सच्चा व्यक्ति हो जसले पच्चीसौँ वर्षपछि आफ्नो पक्षको ऋण चुक्ता गरेर ऊ ऋणबाट मुक्त हुनुभयो । तर म भनेँ तपाईँको यही व्यवहारको ऋणी भएँ ।

कुरा ठूलो, सानो, थोरै, धेरैको नभएर, कुरा निष्ठा र इमानको भएको हुनाले मैले यसलाई अन्यथा मानेको छैन । बरू गौरवको गहकिलो दृष्टान्त मानेको छु । मलाई त मेरा मात्र कुरा गर्नु छ । माफ गर्नु होला, मैले यो कुरा मनमा राखेर बस्नै सक्दिन । उहाँ त्यति बेला ठूलो परिवारको बोझिलो भारी काँधमा बोकेर हिँडिरहनु भएको थियो । तीन भाइ छोरा एक बहिनी छोरी । बजारको बसाइ । छोराछोरीले पढ्दै थिए, खर्चिलै हुनुपर्छ घरगृहस्थी । त्यसो त उहाँ दाङको प्रतिष्ठित जमिन्दार मजगैयाँ परिवारको सदस्य हुनुहुन्थ्यो । जग्गाजमिनको कुनै कमी थिएन । तापनि खर्चिलो परिवार चलाउन अचल सम्पत्तिले मात्रै हुँदैनथ्यो । खेलुवा पैसा पनि चाहिन्थ्यो । सायद त्यसैले होला पछिल्लो समयमा पुराना जमिन्दारका सन्ततिले पनि जागिर खाने, व्यापार व्यवसाय गर्ने प्रचलन बढेको छ । उहाँहरूले पनि सायद् त्यसैले गर्दा जागिर खानु हुन्थ्यो । हामीलाई लाग्थ्यो उहाँहरूलाई जागिर खान पर्दैनथ्यो होला । तर सबैको जीवनका सबै कुरा कसलाई थाहा हुन्छ ? हामी आ–आफ्ना कथा बोकेर बाँचिरहेका थियौँ ।

म अल्लारे उमेरमा थिएँ । जीवनका पेचिला दिनहरू आएकै थिएनन् । म सानोतिनो रकम पनि खाँचोको विषय हुन्छ र ? भन्ने अवोध जिज्ञासामै थिएँ । तर निश्चय मेरो त्यति सानो रकम उहाँको घरव्यवहारमा आधार बनेको किमार्थ होइन । कुनै कारणले मलाई फिर्ता गर्नुपर्ने त्यति रकमलाई जीवनका पचीसौँ वर्ष मनमा राखेर बस्दा उहाँलाई कति सकस भयो होला ? त्यसको क्षतिपूर्ति म गर्न सक्दिन । यदि त्यस्तो थियो भने मलाई भन्नुभएको भए सामाजिक सञ्जालमा भेट हुन सक्थ्यो । बलदेव दाइ वा उत्तम सरसँग त मेरो बाक्लै सम्पर्क भइरहन्छ ।

कुनै माध्यमले त्यो असजिलोबाट समयमै उहाँलाई मैले मुक्त गर्थेँ । उहाँको सरल स्वभाव अनि सज्जनपनको त म जानकार थिएँ तर यति धेरै इमानदार हुनुहुन्छ भन्ने सोच्न सकेकै थिइन । प्रिय लक्ष्मण सर जीवनमा कतिजनाको ऋण खाइएको होला ? कतिसँग सापट मागेर नतिरिएको होला, कतिले हाम्रो पनि खाएका होलान् र नतिरेका होलान् । भनिन्छ कसैलाई दिन पर्ने रकम कहिल्यै बिर्सिँदैन, बिर्सेजस्तो मात्र गरिन्छ । लिने कुरा सम्झिने र दिने कुरा बिर्सने आमचलन छ । तपाईँ यस्तो सच्चा व्यक्ति हो जसले पच्चीसौँ वर्षपछि आफ्नो पक्षको ऋण चुक्ता गरेर ऊ ऋणबाट मुक्त हुनुभयो । तर म भनेँ तपाईँको यही व्यवहारको ऋणी भएँ । तपाईँले चुक्ता गर्नै नसक्ने ऋण लगाउनुभयो । यो झुट, फरेव र बेइमानीको दुनियामा इमानदारीको पनि हद हुन्छ नि ! लक्ष्मण सर ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?