हो ! हामी सबै एक्ला छौँ !

डा. नारायण चालिसे
Read Time = 15 mins

कलमलाई आवेग र उत्तेजनाबाट जोगाएर स्थिर गर्न सक्नुपर्छ । यद्यपि केही असाधारण नभइकन विशेष काम गर्न सकिँदैन । बुद्धिको स्थिर अवस्था सायद विचारको पनि शान्त क्षण हो । धेरैतिर शान्ति अपेक्षित भएपनि बुद्धिमा गतिशीलता र स्थिरता दुवै चाहिन्छ । बुद्धिमा हलचल हुँदा विचारमा पनि हलचल उत्पन्न हुन्छ । बुद्धिको हलचलबाटै नयाँ नयाँ विचारको पनि जन्म हुन्छ । जब शब्दका धक्काहरूले मस्तिष्कमा हलचल ल्याउँछन् तब बुद्धिको परिमार्जनको प्रक्रिया थालिन्छ । गति पनि चाहिन्छ बुद्धिमा जमेको पानीमा जस्तै जमेको विचारमा पनि लेउ लाग्छ । अर्थात् जति बढी हामी गतिसँग मित्रता कायम गर्न सक्छौँ त्यति नै हाम्रो बुद्धिमा परिमार्जन बढी हुन्छ । त्यसैले शब्दको साक्षात्कार जति बढी भयो विचारको आविष्कार त्यति नै बढी हुन्छ । सधैँ एकै प्रकारका कुरा भनिरहने हो भने नयाँ कुराको समय आउँनै पाउँदैन ।

केही समयदेखि एउटा विषयले मनलाई पिरोलिरहेको छ । धेरै आफन्त र इष्टमित्र र साथीहरूसँग भेट हुन्छ कुराकानी हुँदा धेरैको एउटै स्वर आउँछ । अरू सबै त ठीकै छ बुढेसकालमा एक्लै भइयो । एक्लो हुने धेरै कारणहरू छन् । सामूहिक परिवारमा भाइ–भाइ छुट्टिएर एक्लो हुनु । छोटो परिवारबाट पनि सन्तानहरू विदेशिएर एक्लो हुनु । परिवारमा कसैको असामयिक देहावसान भएर एक्लो हुनु । आफन्त, इष्टमित्र, साथीसँगाती वा छिमेकीबाट आवश्यकता अनुसारको साथ सहयोग नपाएर एक्लो हुनु । सबै भएर पनि मन एक्लिएर एक्लो हुनु । धेरैमध्ये केटाकेटी बाहिर गए ।

बच्चा साना छउञ्जेल तिनैको लालनपालनमा बित्यो जब सन्तान ठूला भए अब केही गर्लान् बुढेसकालको सहारा बन्लान् भन्ने समयमा हाम्रो पनि भविष्य हेर्नुप¥यो, यस देशमा हाम्रो भविष्य छैन भनेर भविष्य खोज्न विदेशतिर लागेपछि मातापिताले आफ्नो भविष्य अन्धकारमय देख्ने कुरा स्वाभाविक भयो ।

हामी त एक्ला भयौँ भन्ने स्वर बढी आउने गरेको पाइन्छ । हरेक घरमा यही अवस्था बढ्दो छ । गाउँघरबाट केटाकेटी शहर पस्ने रहरमा गाउँमा बाआमा एक्ला भए तर शहरको रहरले एक्लो भएको नियास्रोलाई पनि मनमनै पचाए । सन्तान शहर पसे अब केही होला कि भन्दा भन्दै अब शहर पनि छोडेर विदेश पस्ने लहर बढेर गयो । यो क्रमयति धेरै बढ्यो कि अब शहर पनि रित्तिन थालेको छ । शहरका पनि यस्ता घर कम भेटिन थाले जसका सन्तान विदेश नगएका होऊन् । जति एडभान्स भनियो त्यति नै ती घरहरू पहिले रित्ता भए ।

सुरु सुरुमा त यो गौरवको विषय थियो । गिनेचुनेका व्यक्तिका सन्तान मात्र विदेश जान सकेका थिए र भन्थे छोरो अमेरिका छ । छोरी क्यानाडा छ । विपन्नहरूमाथि रवाफ जमाउने त्यस अभिव्यक्तिमा अब दम्भ घटेको छ । सन्तान विदेशिनु गर्वको कुरा रहेनछ बरु पीडाको विषय रहेछ । उमेर ढल्किँदै गएपछि यसको अनुभूति हुँदै गएको छ । अलि पहिलासम्म हामी नै केटाकेटी रहुन्जेल पनि धेरै सन्तान हुन्थे । देश विदेशलाई सन्तान पुग्थे । कोही अमेरिका, कोही अष्ट्रेलिया कोही अरब कतार जान्थे । त्यति हुँदा पनि घरमा बाबुआमालाई एक दुईवटा सन्तान पुग्थे । एक्लोपनको अनुभव हुँदैनथ्यो ।

अब त्यस्तो छैन, सन्तान थोरै जन्माउन थालियो । देशभन्दा विदेश बढी आकर्षणको केन्द्र बन्यो । सन्तान जन्मिनु र विदेश नजानु असम्भव जस्तै हुनथाल्यो । जन्मिएका एक दुईवटा सन्तान पनि विदेशतिर लागेपछि बाबुआमाहरू अहिले एक्ला घर कुरुवा बनेका छन् । सन्तानको नियास्रो लाग्छ तर उनीहरू आफ्नो पखेटा फिँजाएर टाढा टाढा विचरण गरिरहेका छन् । सुख भन्नु कि दुःख भन्नु ? ठूलो असमञ्जसमा छ अहिले समाज । सामूहिक परिवारको रमझममा बसेकालाई बिछट्टै पीडा भइरहेको छ ।

बच्चा साना छउञ्जेल तिनैको लालनपालनमा बित्यो जब सन्तान ठूला भए अब केही गर्लान् बुढेसकालको सहारा बन्लान् भन्ने समयमा हाम्रो पनि भविष्य हेर्नुप¥यो, यस देशमा हाम्रो भविष्य छैन भनेर भविष्य खोज्न विदेशतिर लागेपछि यहाँ बसेका मातापिताले आफ्नो भविष्य अन्धकारमय देख्ने कुरा अत्यन्त स्वाभाविक भयो । अप्रत्यासित जस्तो सन्तानले यस्तो निर्णय लिन्छन् र धेरैजसो सन्तानले त विदेश जाने प्रक्रियाको निम्ति आफ्नो आर्थिक सामथ्र्यले नभ्याउने रकमको जोहो गर्न पितामातालाई दबाब नै दिन्छन् ।

यतिसम्म त गरियो सन्तानको भविष्य बन्छ भनेँ अब एकपटकलाई पछि हट्न मिलेन भनेर ऋणको असमेल भारी टाउकामा थाप्न अघि सर्छन् । कतिपय सन्तानले त्यस्को दायित्व सम्झेर उताबाट बाबुको ऋण केही हलुका पनि पारिदिन्छन् कतिले जीवनभर बाबुआमालाई धर्धरी रुवाउँछन् । सन्तान विदशिनुको पीडा, एक्लो हुनुको पीडा, रोगव्याधिको पीडा र अरू पनि कतिपय पीडाको भारी बोकेर कुनै दिन सन्तानले घर भरिने आशामा जीवन कटाउन बाध्य हुन्छन् तर घर भरिनुको साटो रित्तिने क्रम बढ्छ । अनि भन्न थाल्छन् यस्तै रहेछ संसार । संसार त हिजैदेखि यस्तै थियो र छ ।

मानिस यिनै हुन्, मानवीय प्रवृत्ति यही हो, स्वभाव यही हो र जीवन जगत्का यथार्थहरू यिनै हुन् । हामीले बुझ्न नसकेको मात्र हो । हामी एक्ला छौँ फगत् एक्ला । केही दिनको रमाइलोमा वास्तविकतालाई बुझ्न नसक्दाका यी असजिलाहरूले जति उमेर छिप्पिँदै जाँदो छ त्यति नै गाल्दै जाँदो छ । यो त भयो पारिवारिक एक्लोपन । अज्ञानतामा दुःख त झन् बढी छ तापनि यो बाहिरी एक्लोपन हो । यसको धेरै थोरै समाधान पनि छ तर मानिसभित्रको अर्को पक्षको एक्लोपन छ जसको समाधान त्यति सजिलो छैन । तत्त्वज्ञान, जीवनबोध, आत्मबोध, आत्मसंयम, साधना र सिर्जनाले मानिसले एक्लोपन घटाउन सक्छ तर त्यो सबैको पहुँचमा छैन ।

सबै कुरा भएर पनि मानिस जब मनले एक्लो बनेको छ त्यो विषय अलि विशेष हो भन्ने लाग्छ । यहाँ परिस्थिति अलि फरक छ । सबैभन्दा गहिरो नाता आमा र शिशुको हो । पतिपत्नी वा प्रेमीप्रेमिकाको हो तर जब भित्रदेखिको एक्लोपनको अनुभव हुन थाल्छ प्रेमीको अँगालोमा बेरिएकी प्रेमिका एक्ली छ । प्रेमिकाको न्यानो काखमा लुट्पुटिएको प्रेमी एक्लो छ । आमाको काखमा दूध चुसिरहेको शिशु एक्लो छ । स्तनपान गराइरहेकी आमा एक्ली छे । सन्तानले घेरिएर बसेको घरमुली एक्लो छ । कार्यकर्ताले घेरिएर बसेका नेताजी एक्ला छन् । सुरक्षाले घेरिएर बसेका पिएम एक्ला छन् ।

भारी सभामा प्रबचन दिइरहेका धर्मगुरु एक्ला छन् । धनमाथि सुतेकाहरू पनि एक्ला छन् । गनमाथि सुतेकाहरू पनि एक्ला छन् । डर दिनेहरू एक्ला छन्, भर दिनेहरू पनिएक्ला छन् । मन लिएर आएकाहरू सबै एक्ला छन् । सँगै अँगालोमा बाँधिएर सुतिरहेका श्रीमान् र श्रीमतीले अलग–अलग सपना देखेका छन् । एउटै बिछ्यौना कसैलाई कोमल लागेको छ कसैलाई असजिलो भएर बिझाएको छ । एकजना हाँसेको विषयले अर्को व्यक्ति दुःखी बनेको छ । न जन्मले साथ दिएको छ न मृत्युले साथ दिएको छ । सबै एक्ला एक्लै छन् जीवनका निर्णयहरू । यसरी एक्लो मानसिकताले विचलित र अव्यवस्थित विचारको भीडबाट स्वच्छ विचार छानेर शब्दमा उभ्याउनु आफैँमा बलियो सामथ्र्य हो ।

यो कुनै नयाँ र नौलो कुरा भनेँ होइन । हाम्रा दर्शनशास्त्रहरूले वर्षौंदेखि भन्दै आएको कुरा हो । जे जति छ र जस्तो छ भन्ने लाग्छ त्यो त्यस्तो र त्यसरी छैन । यहाँ सबै कुरा छ तर मानिस यी सबै कुराका बीचमा एक्लो छ । जसरी एक्लो आएर पनि विभिन्न उपाधिहरूका बीचमा रहँदा सबै विषयले परिपूर्ण छु जस्तो लाग्ला तर वास्तविकता त्यस्तो छैन । शक्ति र सम्पन्नतामा सबै कुरा परिपूर्ण र जायज जस्तो लाग्छ । मानिस त्यसै सिकन्दर चेतनामा कहाँ पुगेको हो र ? यही अहङ्कारले नै त मानिसलाई कहाँबाट कहाँ पुर्‍याउँछ । जसरी माथि पुर्‍याउँछ अहङ्कारले त्यसरी नै तल झार्छ पनि । किनकि माथि गएपछि तल झर्नै पर्छ । माथि नै बसिरहन पाइँदैन ।

कहाली लाग्ने गरी माथि चढेकाहरू त्यसरी नै झरेका छन् । यो भौतिक समपन्नताको कुरा हो । अध्यात्मले भने माथि पुगेपछि तल झर्नु पर्दैन भन्छ । माथि जाने सुरक्षित बाटो बनाउनु अध्यात्मको ध्येय हो । अध्यात्ममा माथि जानु भनेको राम्रो हो । असल गर्ने नै माथि जान्छ । असलन नगर्ने माथि जाँदैन बरू तल झर्छ । भौतिकतामा मानिसको तलमाथि भइरहन्छ । र, माथि जाने होड भौतिकतामा बढी छ अध्यात्ममा भन्दा । आध्यात्मिक भएर माथि जाने रहर थोरैमा मात्र हुन्छ । माथि त जाने तर कति जाने अनि कसरी जाने भन्ने विषय अलि गम्भीर हो ।

एक्लोपन र पूर्णताको कुरा असम्भव हो तर दर्शनले पूर्णताको निम्ति मानिसको भिड होइन विचार चेतनाको परिष्कार मागेको छ । म कति जना इष्टमित्रले घेरिएको छु, कति सम्पत्तिले भरिपूर्ण छु । कति शक्तिले सम्पन्न छु भन्नेसँग पूर्णताको साइनो छैन ।

हामीले माथि माथि पाइला राख्दै गर्दा तलको आफ्नो माटोसँगको साइनो पनि बिर्सँदै जाने समस्या भौतिक उचाइमा देखिन्छ । त्रेता युगमा लोककल्याणका खातिर हिँडेका राम, सीताले छोडर गइन् र एक्ला भए । सत्यको पक्षमा लाग्दा लाग्दै रुक्मिणीले छोडेर गइन् कृष्ण एक्ला भए । शिवजीले पनि सतीदेवीको निधनपछि लामो समय बौलाएर जीवन चलाए । मानिसको संसारमा आएपछि यो क्रम बढेको छ । एक्लोपनले हामीलाई भगवान्कै पालादेखि पछ्याएरै आइरहेको छ । शारीरिक होस्, मानसिक होस्, आध्यात्मिक होस् वा भौतिक होस् जीवनको एक्लोपनलाई हामीले आत्मसात गर्नुको विकल्प हामीसँग छैन । जीवनका यावत् अज्ञानताका भ्रमहरूलाई जति छिटो बुझ्न सक्यो त्यति नै बाँकी जीवन बाँच्न सजिलो छ ।

एक्लोपन र पूर्णताको कुरा असम्भव हो जस्तो पनि लाग्छ तर दर्शनले पूर्णताको निम्ति मानिसको भीड होइन विचार चेतनाको परिष्कार मागेको छ । म कति जना इष्टमित्रले घेरिएर बसेको छु, म कति सम्पत्तिले भरिपूर्ण छु । म कति शक्तिले सम्पन्न छु भन्नेसँग पूर्णताको साइनो छैन । प्रिय सञ्चेतना ! व्यावहारिक सत्तामा मायामोहका कुरा हुन्छन् । रागविरागका कुरा पनि हुन्छन् । सुखदुःखका कुरा पनि हुन्छन् तर यी सबै सापेक्ष छन्, अपूर्ण छन् । मानिस पूर्ण हुन उसको विचार पूर्ण हुनुपर्छ । विचार, दृष्टि र दर्शनलाई साथमा लिएर हिँडेको मानिस सायद एक्लो हुँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?