भोजपुरमा गोरुको बिकल्प बन्दै मिनी टिलर 

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको बिकल्प मिनी टिलर बन्न थालेको छ । पछिल्लो समयमा जिल्लामा मिनी टिलरको बिक्री समेत बढ्दै जान थालेको न्यु सिद्धकाली सप्लार्यसका बाजिम मगरले बताउनुभयो । मगरले भन्नुभयो, “पहाडी जिल्लामा समेत कृषिमा आधुनिकीकरण भित्रिएसँगै आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ, कृषि प्रधान मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि प्रविधिको पनि माग बढेको हो ।” जिल्लाका ग्रामीण क्षेत्रहरुका खेतबारीहरुमा समेत अहिले मिनी टिलरले जोतेको देख्न सकिन्छ ।

गोरु समेत पहिलाको तुलनामा पाउन छाडेकाले अहिले गोरुको बिकल्प टिलर बनेको कृषक तिर्थ श्रेष्ठले बताउनुभयो । शुरुमा प्राबिधिक ज्ञानको अभाव हुने भएतापनि अहिले कृषकहरुका लागि हलोको बिकल्प मिनी टिलर बनेको श्रेष्ठको भनाई रहेको छ । पछिल्लो समयमा किसानले मिनी टेलर हलो, कम्बाइण्ड राइस मिल, रूख काट्ने मेशिन, धान काट्ने थ्रेसर, मकाई छोडाउने क्रन थ्रेसरलगायतका औजारको प्रयोग गर्न थालेपछि यसको कारोवार समेत बढेको छ । कृषि औजारहरु मध्ये कृषकले जोत्नका लागि मिनी टिलर हलो अत्यधिक रुचाएका छन् ।

पालिकाहरुले समेत कृषकहरुका लागि अनुदानमा मिनी टिलर बितरण गर्न सुरु गरेपछि यसको प्रयोग पनि बढेको हो । थोरै समयमा धेरै काम गर्न सकिने र सजिलो भएका कारण गोरुको विकल्पकारुपमा मिनी टिलर हलो बनेको हो । धेरै खेतीपाती गर्दा थोरै समय र कम खर्चमा जोत्न सकिने आधुनिक मिनी टिलरले पहाडका साना खेतबारी, कान्ला, छेउ कुनो राम्ररी जोत्न सकिने कृषकहरुको भनाई रहेको छ । मिनी टिलरबाट भनेको समयमा आफुले काम पनि गर्न सकिने बताउँदै कृषक सिताराम प्रधानले भन्नुभयो, “गोरुले जोत्दाभन्दा मिनी टिलर हलोले जोत्दा झण्डै ७५ प्रतिशत छिटो पनि हुन्छ, गोरुको झण्झट पनि परेन ।”

स्थानीय सरकार आइसकेपछि कृषकलाई सहुलियतरुपमा गाउँपालिका, नगरपालिका, कृषि ज्ञान केन्द्र र विभिन्न पकेट क्षेत्रमा अनुदानमार्फत समेत मिनी टिलर हलो वितरण हुन थालेको छ ।  गोरुलाई जस्तो वर्षभरी पालेर राख्नु नपर्ने हुँदा मिनी टिलर जिल्लामा खेतीका लागि प्रभावकारी बन्दै गएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्रले समेत कृषकहरुका लागि मिनी टिलर बितरण गर्ने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?