पानी, हिलो र रङले हरेक नयाँ वर्षका सुरुवाती तीन दिन तराईमा रङ्गिला हुन्छन् । यो उत्सव कहिलेदेखि सुरु भयो तिथि, मिति यकिन नभएपनि तीन दिनसम्म यहाँ उत्सव चल्छ।
पूर्वी तराइका "भूमिपुत्र" भनेर चिनिने समुदायले यी तीन दिनलाई उत्सवका रुपमा मनाउँछन्। जो सिरुवा पर्व अर्थात् सिरुवा पावनी हो ।
यो उनीहरूको सभ्यता र संस्कृतिसँग जोडिएको पर्व हो। नेपाली समाजमा अलगअलग समुदायको आआफ्नै संस्कृति र रहनसहन छ । समुदायमा अनेकौँ संस्कृति मिलेर नै सभ्यता बनेको हुन्छ । जो नेपाली संस्कृतिको अनुपम पाटो हो।
यही सभ्यता भित्र विविध संस्कृतिका रङ पोतिएका छन् । नयाँ वर्षसँगै सुरु हुने यो रङ्गिलो समय (सिरुवा) को पहिलो दिन पानी, दोस्रो दिन हिलो र तेस्रो दिन रङको रौनक देख्न पाइन्छ, सबै रङ्गिन्छन् ।
सिरुवा पवनीमा पूर्वी तराईमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, गन्गाई, थारु, माझीलगायत समुदाय रङ्गिन बन्छ, जो परापूर्वकालदेखि चलिआएको छ ।
यो समुदायको वर्ण र भेषभूषाले आफ्नै स्वरुपको तस्वीर ल्याएर सम्मुखमा उभ्याइदिन्छ । सिरुवा राजवंशी, ताजपुरिया, गन्गाई, थारु,माझी लगायत समुदायको सांस्कृतिक उत्सव हो । जोसँग रंग, पानी र हिलोप्रतिको प्रगाढ मोहसँग सम्बन्धित छ । प्रकृति प्रेमको छुट्टै दृश्य र स्नेह ।
सिरुवा अलग पहिचान बोकेको पर्व हो । यो पर्व तीन दिनसम्म मनाइने गरिन्छ । यो तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, गन्गाई थारु, माझीलगायत आदिवासीले सबैभन्दा ठुलो सांस्कृतिक एवं ऐतिहासिक पर्व हो ।
यो पर्व बनाउनुको वास्तविक कारण प्रकृति , ऋतु र मौसमसँग जोदिएको छ। तराईका भुमिपुत्रका भनाइमा बसन्त ऋतुमा बोटविरुवाहरुमा पलाएका पालुवाले सिरुवा पर्वको आभाष दिलाउँछ। सिरुवा अर्थात् नयाँ वर्षसँगै हरेकको घर आँगन रमझम देखिन्छ, चहकिलो बन्छ।
झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका राजवंशी, ताजपुरिया, गन्गाई, मेचे, माझी, थारुलगायतका आदिवासी जातिको बसस्तीमा सिरुवा पर्वको छुट्टै रौनक हुन्छ । के ज्येष्ठ, के प्रौढ सबैसबै रङ्गिला हुन्छन् । युवा पुस्ताको रहर वर्णन साध्य हुन्न।
पानी, माटो र रङ खेली मानव शरीर र प्रकृतिबीचको सम्बन्धमा प्रगाढ बनाउने महत्व बोकेको सिरुवा उनीहरूको महान उत्सवको पर्व हो । सिरुवाले बसुदैव कुटुम्बको भावना प्रस्फुटन गराउने सञ्चरकर्मी समेत रहेका गौरीगञ्जका आत्माराम राजवंशी बताउँछन् ।
नयाँ वर्षको आगमनसँगै तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका आदिवासीले धुमधामका साथ सिरुवा पर्व मनाउने गरेको महाभाराका भीम राजवंशी सुनाउँछन् ।
तराईका आदिवासी समुदायले आफ्नो परम्परा मध्ये विशेष पर्वका रुपमा सिरुवा मनाउने प्रचलन रहेको उनले बताए ।
एक आपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदानप्रदान गर्दै सामूहिक रुपमा हर्षाेल्लासका साथ यो पर्व मनाउने गरिएको बाह्रदशीकी डम्वरकुमारी राजवंशीले बताइन् ।
यो पर्वमा घाटोसरी पुजा, घाटो प्रदर्शन प्रतियोगिता, भाजाखोली गीत प्रतियोगिता, आधुनिक तथा लोकनृत्य गरी मनाइने गरिएको राजगढकी भक्तिकिमारी राजवंशीको भनाइ छ।
वैशाख १, पानी सिरुवा :
यो दिन आपसमा पानी छ्यापाछ्याप गरी पानी सिरुवा मनाइन्छ । यसको विषेश र मौलिक महत्व छ। बितेको वर्षको दुःख कष्टलाई धोइपखाली नयाँवर्षभर शरीर ठण्डा र शितल होस् भन्ने कामना गरिन्छ । यो आदिम परम्परा र दृढ विश्वासमा अडेको हुन्छ।
यसैदिन राति औषधिय जडिबुटी खोजेर ल्याई कसैले नदेख्ने गरी (आतरचातर) घरको चारै सुरमा पूजापाठ गर्ने चलन छ । वर्षभर परिवारको कुनै पनि सदस्यमाथि शत्रुको वैरभाव नराखोस् भन्ने कामना गरिन्छ । यो विश्वासको जगमा अडेको पाटो हो।
वैशाख २, हिलो सिरुवा :
दोस्रो दिन अर्थात् वैशाख २ गते आपसमा हिलो छ्यापाछ्याप गरी मनाइन्छ । सायदै शरीरको कुनै भाग खाली हुन्छ। यसदिनलाई काद सिरुवा भनिन्छ । यसो गर्नुको मुख्यकारण माटोको शरीर अन्नत माटोमै विलीन हुने भएकोले नै हो।
शरीरमा कुनै प्रकारको रोगव्याधी नलागोस् भन्ने कामना गर्दैं काद सिरुवा खेलिन्छ । यो दिन ती समुदायले घरको कुलदेवताको पूजापाठ पनि गर्ने गर्छन् । सखारैदेखि परिवारका सदस्यले केही पनि नखाई घरमुलीले पूजापाठ गर्ने चलन छ । ग्रामदेवता अलाबा महिला वर्गले घाटोसरी पूजा गर्ने चलन पनि रहेको जानकारहरुको मत छ ।
जो धार्मिक विश्वासको अर्को पाटो हो। सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरब्रम्हानी, विसहरी, काली देवीदेवता, भदाखेली लगायतको पूजा गर्ने चलन छ ।
वैशाख ३ रङ सिरुवा :
तेस्रो दिन अर्थात् वैशाख ३ गते रङ सिरुवा सिरुवा हो। रङको रौनक हुन्छ । फागुमा झैँ रङ खेलिन्छ।
यो दिन आपसमा रङ र अविर दली रङ सिरुवा खेल्ने गरिन्छ । गाउँका ठूलाबडा तथा साथीभाइ मिली नयाँवर्षको शुभकामना आदानप्रदान गर्दै रङ र अविर दली आपसमा खुशीयाली साटासाट गरिन्छ ।
नाचगानको रौनक :-
सिरूवा पर्वकाे अवसरमा यो समुदायमा नाचगान चल्छ । ती रमाइलो र प्रतियोगितात्मक दुबै हुन्छन् । यो समुदायमा ढाेलसना नाच प्रमुख मानिन्छ ।
नटुवा नाच, घाटाेसरी गीत र आधुनिक गीतलगायत विभिन्न साँस्कृतिक नृत्यहरू प्रस्तुत गरिन्छ। विभिन्न बाजा बजाउँदै गाउँगाउँ घुम्ने चलन पनि छ।
बाजागाजाको धुनले गाउँबस्ती थर्किन्छ। सबै उमेर समूहका मानिस झुमिझुमी नाच्छन्। यसले उनीहरू साँस्कृतिक रूपमा पनि धनी छन् भन्ने झल्कन्छ।
यसैगरी सिरुवा पर्वमा गाउँका महिला मिलेर (भेजेखेली) गाउँगाउँमा गएर गीत गाउने गर्दछन् ।
यसरी भेजीखेली गीत खेली संकलन गरिएको चामल, पैसा लगायतका सामग्री घाटोसरीसहित नयाँ वर्षको पहिलो दिन नजिकको खोलामा गएर पुजापाठ गरी बगाउने गरिन्छ ।
यो पर्वमा अरुभन्दा राजवंशी समुदायका जातीय संगठनहरु बढी सक्रिय देखिन्छन् । ती संगठनले परम्परागत तथा साँस्कृतिक कार्यक्रम सार्वजनिक रूपमा गर्ने गरेका छन् ।
खानपानको पर्व :
यो पर्वमा विशेष प्रकारका खानेकुरा खाने गरिन्छ। पर्वको पहिलो दिन सातसागी (सातवटा तरकारीबाट बनाइएको परिकार) खाने गरिन्छ । यो परिकार अघिल्लो वर्षको अन्तिम दिन पकाएर नयाँ वर्षको पहिलो दिन खाने गरिन्छ ।
त्यस्तै घुम्नीमुरी (भुजा र चना), खेसरीको दालबाट बनाइएको बोरी र माछामासु खाने गरिन्छ ।
चैत मसान्तमा विभिन्न प्रकारका सातवटा सागसब्जी मिसाएर पकाएको पक्वान्न वैशाख १ गते खाने प्रचलन छ भने अन्य मिठामिठा परिकार समेत खाने गरिन्छ ।
हुनेखानेले रमाइलो गर्ने त छदैछ, हुँदाखानेले पनि जोहो गरेरै भएपनि पर्व मनाउने चलन छ । पारिवारिक भोज भतेर पनि गर्ने गरिएको छ। जसले परिवार र समाजसँगको सम्बन्धलाई प्रगाढ बनाउने दाबी उनीहरूको छ।
स्थानीय बिदा :
राजवंशीलगायतका तराइ मुलबासीको महान पर्व सिरुवाका अवसरमा झापा, मोरङ र सुनसरीका स्थानीय सरकारले स्थानीय विदा दिने गरेका छन् ।
वैशाख १ ,२ र ३ गते सिरुवा पर्व मनाउने गरेका छन् ।
वैशाख १ गते नयाँ वर्षमा राष्ट्रिय विदा हुन्छ । कोसी प्रदेश सरकारले २ गते विदा दिन्छ। सिरुवा पर्वको तेस्रो दिन वैशाख ३ गतेलाई मुख्य पर्व मानी यी जिल्लाका स्थानीय सरकारले विदा दिने गर्छन्।
कहाँ कहाँ मनाइन्छ :
नेपाल बाहेक भारतको आसामकाे काेक्राझार, पश्चिम बंगाल, कोचबिहार, पानीट्यांकी लगायतका क्षेत्रमा पनि ३ दिनसम्म यो पर्व हर्षोल्लासका साथ मान्ने गरेको जानकारहरु बताउँछन् ।
विशेषगरी यी जातिहरुले मुख्य पर्वको रुपमा मनाउँदै आएको सिरुवा पर्वको ऐतिहासिक तथ्यबारे युवापुस्ता भने खास जानकार छैन । तर, परम्परागत रुपमा मनाउँदै आएको यो पर्वको विशेष महत्व रहँदै आएको छ ।
सिरूवा पर्वकाे सांस्कृतिक महत्व सिरुवा पावनी (नयाँ वर्ष) तराईमा बस्ने आदिबासी समुदायहरु मध्ये राजवंशी, ताजपुरिया, गन्गाई, मेचे, धिमाल, सन्थाल, माझी, उराँव लगायतले मनाउने सबैभन्दा ठुलो पर्व हो ।
यो पर्व नयाँ वर्षमा खासगरी बंगला पात्रो अनुसार मनाइन्छ ।खासगरी तिन दिन सम्म बैशाख १, २ र ३ गते मनाउने चलन छ । सिरुवा पर्वको समयमा झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा मेला लाग्ने परम्परा छ ।
तस्वीर सौजन्य : अभय राजवंशी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच