अन्नप्राशन अर्थात् पास्नीको शास्त्रीय विधि

Read Time = 14 mins

अन्नप्रशान भनेको शिशुलाई सर्वप्रथम अन्न खुवाउन आरम्भ गर्ने कार्य हो । जसलाई पास्नी वा भातखुवाइ पनि भन्ने चलन रहेको छ । सर्वप्रथम शिशुलाई अन्न खुवाउँदा जुराएर शुभ समयमा गर्नुपर्दछ भन्ने पौरस्त्य मान्यता रहेको छ । शुभ समय जुराएर अग्निस्थापना विधिद्वारा हवन, पूजनादि कार्य गरी बालकलाई अन्नप्राशन गराउनुपर्दछ । यसरी अन्नप्राशन गराउँदा घ्यू, दही, मह मिसाएको अन्न खीर शिशुलाई खुवाउनुपर्दछ (मनु, २।९) । शुद्ध, सात्विक एवं पौष्टिक आहारले तन, मन स्वस्थ रहन्छ । स्वस्थ तनमा नै स्वस्थ मनको निवास हुन्छ । यसैले निश्चित समय पुगेपछि शिशुलाई अन्न खुवाउन आरम्भ गरिन्छ । यसका पनि शास्त्रीय विधिविधान रहेका छन् । जसअन्तर्गत सर्वप्रथम शुभ दिन वा साइत जुराउनुपर्दछ ।

अन्नप्राशन वा पास्नी गर्ने शुभ समय :
अन्नप्राशन छोरा भए ६ आदि सममहिना (६, ८, १०, १२ महिना) मा र छोरी भए ५ आदि विसममहिना (५, ७, ९, ११ महिना) मा अन्नप्राशन शुभ मानिएको छ । यसैगरी २, ३, ५, ७, १०, १३, १५ तिथि शुभ मानिन्छन् । यसमा ४।९।१४, १।६।११,८, ३० र १२ तिथिलाई अशुभ मानिएको छ । सोम, बुध, बिही र शुक्रबारको दिन शुभ रहन्छ । यसैगरी अन्नप्राशनका निम्ति शुभ नक्षत्रमा उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तराभाद्रपदा, रोहिणी, मृगशिरा, रेवती, चित्रा, अनुराधा, हस्ता, अश्विनी, पुष्य, अभिजित्, स्वाती, पुनर्वसु, श्रवण, धनिष्ठा, शतभिषा पर्दछन् । यसका साथै अन्नप्राशनका निम्ति लग्न पनि शुभ रहनुपर्दछ । लग्न भनेको लगभग दुई घण्टाको समय हो ।

उपयुक्त दिनको चयन भएपछि उक्त दिनको उत्तम समय लग्नका आधारमा निर्धारण गरिन्छ । जन्मलग्नबाट आठौं राशिको लग्न र नवमांशका साथै मीन, मेष, वृश्चिक लग्न छोडी अन्य शुभ समयमा अन्नप्राशन शुभ हुन्छ । (मुहूत्र्तचिन्तामणि, संस्कारप्रकरण, श्लो.१७) यसैगरी अन्नप्राशन लग्नबाट १।४।७।१०।९।५।३ स्थानमा शुभग्रह (चं., बु, बृ, शु) बसेको समयमा, ३।६।११ स्थानमा पापग्रह भएको अवस्थामा, लग्नबाट १०औं स्थान शुद्ध (शुभ र पापग्रहरहित) भएको समयमा २।३।४।५।७।९।१०।११।१२ स्थानमा चन्द्रमा रहेको समयमा अन्नप्राशन शुभ हुन्छ । (मुहूत्र्तचिन्तामणि, संस्कारप्रकरण, श्लो.१७) अन्नप्राशनमा ग्रहको स्थाननुसार फल बताइएको छ ।

अन्नप्राशनको लग्नबाट ९।५।१२।१।४।७।१०।८ यी आठ स्थानमध्ये कुनै स्थानमा क्षीण चन्द्रमा (कृष्णपक्षको सप्तमीको उत्तराद्र्धदेखि शुक्लपक्षको सप्तमीको पूर्वाद्र्धसम्मको चन्द्रमा क्षीण मानिन्छ) छ भने अन्नप्राशन गर्नेवाला बालक भिक्षाशी (भिक मागेर जीविका चलाउनेवाला) हुन्छ । यसैगरी उक्त स्थानमा पूर्णचन्द्रमा (शुक्ल सार्धसप्तमीदेखि कृष्णपक्षको सार्धसप्तमीसम्म) भए यज्ञकर्ता, बृहस्पतिभए दीर्घजीवी, बुध भए ज्ञानवान्, मंगल भए पित्तरोगी, सूर्य भए कुष्ठरोगी, शनि भए वातरोगी, शुक्र भए विभिन्न प्रकारका भोग गर्नेवाला बालक हुन्छ । (मुहूत्र्तचिन्तामणि, संस्कारप्रकरण, श्लो.१९–२०) यसैले शुभमहिनाअन्तर्गत शुभदिन र शुभदिनअन्तर्गत पनि शुभ समयमा अन्नप्राशन गराउनुपर्दछ ।

धर्मसिन्धुमा विष्णु, शिव, चन्द्रमा, सूर्य, दिक्पाल, भूमि, दिशा, ब्राहृमणको पूजा गरी शिशुलाई आमाको काखमा राखी सुन वा काँसका भाँडामा राखिएको दही, मह, घ्यूसहितको खीर सुनयुक्त भएको हातले मन्त्रको उच्चारपूर्वक खुवाउनुपर्दछ भनिएको छ ।

शुक्र अस्तको विचार गर्नुपर्दैन भनी बताइएको छ : ‘सीमन्तजातकादीनिप्राशनान्तानियानि वै । न दोषो मलमासस्य मोढ्यस्य गुरुशुक्रयोः ।।’ (पीयूषधारा) यसैगरी मलमास (अधिक र क्षयमास) मा पनि अन्नप्राशन गर्नुहुन्छ । यद्यपि दोषयुक्त समयलाई भने त्याग्नुपर्दछ निर्दोष समयमा अन्नप्राशन गर्नुपर्दछ (पीयूषधाराटीका) । व्यतीपात, वैधृति, भद्रा, शूल, वज्र र परिघ योगमा अन्नप्राशन गराउनु नहुने कुरा धर्मसिन्धुमा बताइएको ‘व्यतीपातगण्डातिगण्डवज्रशूलपरिघा वज्र्याः ।।’ (धर्मसिन्धु) ।

यसैगरी विद्धनक्षत्र अन्नप्राशनमा त्याज्य मानिएको छ । पात्राको माथिपट्टि पापाक्र्षाणि भनेर लेखेको हुन्छ । तीनक्षत्रका दिन अन्नप्राशन गराउनु हुँदैन । जसलाई विद्ध मानिन्छ । पापग्रह बसेको नक्षत्र र उक्त नक्षबाट सप्तशलाका चक्रमा सामनेको नक्षत्र विद्ध मानिन्छ । जन्मनक्षत्रमा अन्नप्राशन शुभ मानिएको छ : ‘बालान्नभुक्तौ व्रतबन्धनेद्रपि राजाभिषेके खलु जन्मधिष्ण्यम् । शुभं त्वनिष्टं सततं विवाहसीमन्तयात्रादिषु मङ्गलेषु ।।’ (वसिष्ठसंहिता) अर्थात् अन्नप्राशन र व्रतबन्धबाहेकका विवाह, सीमन्तोन्नयन यात्रादि मंगलकार्यमा मात्र जन्मनक्षत्र त्याज्य छ ।

कसरी गरिन्छ अन्नप्राशन संस्कार ?
अन्नप्राशन गर्ने विधिका बारेमा पारस्कर गृहृयसूत्रमा बताइएको छ । छैटौं महिनामा बालकको अन्नप्राशन पास्नी गर्नुपर्दछ । स्थालीपाक अर्थात् यज्ञीय चरु तयार गरी आज्य भागान्त हवन गरेपछि घ्यूका दुई आहुति दिनुपर्दछ । त्यसपछि ‘प्राणेनान्नमशीय..., देवीं वाचं....’ इत्यादि मन्त्रद्वारा स्थालीपाकको हवनसमेत गर्नुपर्दछ । स्विष्टकृत् हवनसमेत सम्पन्न गरेपछि सबै प्रकारका रस, अन्न र भक्षभोज्य एउटा पात्रमा झिकी मिलाएर बालकलाई मन्त्ररहित वा हन्तकार मन्त्रले प्राशन गराउनुपर्दछ । (निर्णयसिन्धु, पृ.५२९, पारस्कर गृहृयसूत्र, प्रथमकाण्ड, १९औं कण्डिका) ।

धर्मसिन्धुमा विष्णु, शिव, चन्द्रमा, सूर्य, दिक्पाल, भूमि, दिशा, ब्राहृमणको पूजा गरी शिशुलाई आमाको काखमा राखी सुन वा काँसका भाँडामा राखिएको दही, मह, घ्यूसहितको खीर सुनयुक्त भएको हातले मन्त्रको उच्चारपूर्वक खुवाउनुपर्दछ भनिएको छ । (धर्मसिन्धु, पृ.१६२) यसरी प्राशन गराउने पहिलो अधिकार पितालाई दिइएको छ अर्थात् बुबाले खुवाउनु भन्ने पाइन्छ ः‘प्राङ्मुखो मातुः स्वस्यवाउत्सङ्गे स्थितो बालःपित्रा सुवर्णान्तर्हितयाद्रनामिकया देवतापुरतो हन्तइतिमन्त्रेण एकवारं भोजयितव्यः ..’ (कर्मकाण्डभास्कर, पृ. २३०) ।

यसका साथै शिशु भविष्यमा कस्तो बन्ने इच्छा राखिन्छ सोहीअनुसार खुवाउनुपर्ने वस्तुका बारेमा पनि चर्चा गरिएको छ । अन्नप्राशनमा के कस्ता कुरा खुवाउने सन्दर्भमा विशेष चर्चा पाइन्छ । मूलतः दही, मह, घ्यूसहितको खीर खुवाउने पद्धति रहेको छ । यसका साथै बच्चा शक्तिसम्पन्न विद्वान् बनोस् भनी कामना गरेमा भद्राई चराको मासु खुवाउनुपर्दछ भनी पारस्कर गृहृयसूत्रमा बताइएको छ । शरीरका अङ्ग सबल हुन् भन्ने कामना राख्नेले तित्राको मासु खुवाउनुपर्दछ । अत्यन्त प्रतापी र वेगवान् शिशु बनोस् भन्ने कामना राख्नेले माछाको मासु खुवाउनुपर्दछ ।

अन्नप्राशनसँगै जीविका परीक्षा गर्ने कुरा पनि शास्त्रमा निर्देश पाइन्छ । गृहृयसूत्रका व्याख्याता गदाधरको भनाइनुसार बालकलाई भुइँमा राखेर त्यसका सामु व्यवसायसँग सम्बन्धित वस्तु राखिदिनुपर्दछ । बालकले त्यस बेला जुन पदार्थ स्पर्श गर्दछ त्यसै वस्तुसँग सम्बन्धित जीविका हुन्छ भन्ने कुरा बुझ्नुपर्दछ ।

आयुष्मान् बनोस् भन्ने कामना राख्नेले काकाकुल चराको मासु खुवाउनुपर्दछ । ब्रहृमचर्यले सम्पन्न र ब्रहृमतेजले दीप्त बनोस् भन्ने कामना राख्नेले आटि नामक जलपक्षीको मासु खुवाउनुपर्दछ । यी सबै कामना चाहनेले सबैचरा एवं जलचरको मासु खुवाउनुपर्दछ (निर्णयसिन्धु, पृ.५२९, पारस्कर गृहृयसूत्र, प्रथमकाण्ड, १९औं कण्डिका) । अन्नप्राशन कार्य निर्देश कर्मकाण्ड भास्करमा उल्लेख छ । (कर्मकाण्डभास्कर, पृ. २३०) ।

जीविका परीक्षा :
अन्नप्राशनसँगै जीविका परीक्षा गर्ने कुरा पनि शास्त्रमा निर्देश पाइन्छ । गृहृयसूत्रका व्याख्याता गदाधरको भनाइनुसार बालकलाई भुइँमा राखेर त्यसका सामु व्यवसायसँग सम्बन्धित वस्तु राखिदिनुपर्दछ । बालकले त्यसबेला जुन पदार्थ स्पर्श गर्दछ त्यसै वस्तुसँग सम्बन्धित जीविका हुन्छ भन्ने कुरा बुझ्नुपर्दछ । बालकको अगाडि शस्त्र, अस्त्र, शिल्प, भाँडा, वस्त्र, कलम आदि वस्तु राखी बालकको जीविकाको परीक्षा गर्नुपर्दछ । बालकका सामु राखिएका वस्तुमध्ये जुन वस्तुलाई सर्वप्रथम बालकबाट स्पर्स हुन्छ त्यही वस्तु उक्त बालकको भविष्यको जीविका हुन्छ भनी निर्णयसिन्धुमा उल्लेख छ :

‘...शस्त्राणि चैव वस्त्राणि ततःपश्येत्तु लक्षणम् ।।
प्रथममं यत्पृशेद् बालस्ततो भाण्डं स्वयं तदा ।
जीविकातस्यबालस्य तेनैव तु भविष्यति ।।’ (माधवीय) ।
अन्नप्राशनको समयमा निष्क्रमण कार्य गराउनु पनि शुभ हुन्छ भनी निर्णयसिन्धुमा बताइएको छ :
‘अन्नप्राशनकाले वाकुर्यान्निष्क्रमणक्रियाम् ।।’
(मदनरत्न, निर्णयसिन्धु, पृ. ५२७) जुन कार्यमा बालकलाई घरबाट बाहिर निकाल्ने औपचारिक कार्य हुन्छ । बालकलाई सूर्य, चन्द्रमा, दिक्पाल, दिशा र आकाशलाई सुम्पिने कार्य यसअन्तर्गत हुने गर्दछ ।

अन्नप्राशनको साइत जुराउँदा गुरु षोडश कर्मअन्तर्गतको एक विशेष संस्कार अन्नप्राशन हो । हाम्रो शरीर अन्नमयी छ । अन्नले नै शरीरमा जीवनशक्ति प्रदान गर्दछ । यसैले अन्न हाम्रो अनिवार्य पोषक वस्तु हो । यसरी शिशु जन्मिएको पाँच वा छ महिनापछि अन्नप्राशन गराउनुपर्ने शास्त्रीय विधिनिर्देश पाइन्छ । हरेक कार्य गर्ने उचित समय हुन्छ । समयमा गरिएका कार्य नै फलदायी हुन्छन् । यसैले अन्नप्राशन गर्ने शुभ समयका बारेमा शास्त्रमा उल्लेख पाइन्छ । यसका साथै अन्न खुवाउन गर्नुपर्ने पूर्वकार्य विशेषका बारेमा पनि शास्त्रमा उल्लेख छ । जसको उपयोग हाम्रा लागि कल्याणदायी रहने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?