विद्यार्थी संख्या कम भएपछि चार विद्यालय स्थगन, ३१ वटा तह मिलान

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । बागलुङ नगरपालिका देशकै सबैभन्दा बढी विद्यालय हुने नगरपालिकाको रुपमा छ । पछिल्लो समय दिनप्रति दिन सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि ३५ वटा विद्यालयहरुको तह मिलान तथा स्थगन गरेको हो । नगरपालिकाले अघिल्लो वर्ष दुई वटा विद्यालय स्थगन गरेको थियो भने यस वर्ष थप दुई विद्यालय स्थगन गरेको छ । नयाँ शैक्षिक सत्रदेखि ३१ विद्यालयको तह मिलान गरेको छ । गत वर्ष बागलुङ नगरपालिका-१२ स्थित कालीगण्डकी प्राथमिक विद्यालय र वडा नम्बर १३ स्थित लक्ष्मी नारायण पाठशाला स्थगन भएका थिए भने यस वर्ष वडा नम्बर ९ स्थित रानीभूमे प्राथमिक विद्यालय र सोही वडाको सरस्वती प्राथमिक विद्यालय स्थगन गरेको हो ।

नगरपालिकाले यस वर्ष प्राथमिक तह संचालन हुँदै आएका २० वटा विद्यालयलाई बालविकास केन्द्र र कक्षा एक मात्र संचालन गर्ने गरि तह मिलान गरेको छ । नगरपालिकाले शैक्षिक गुणस्तर वृद्वि गर्ने उद्देश्यले चार विद्यालयमा पठनपाठन स्थगन गर्दै ३१ प्राथमिक तथा आधारतूत विद्यालयमा तह मिलान गरेको हो । १३ औँ नगरसभाबाट विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा भएको निर्णय, नगर शिक्षा समितिको सुझाव र विद्यालयको स्थलगत अनुगमन समितिको सिफारिस प्रतिवेदनको आधारमा विद्यालय स्थगत र तह मिलान गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले बताउनुभयो । शिक्षा अनुगमन समितिले नगरपालिका भित्रका ४८ वटा विद्यालयहरु अध्ययन गरि आवश्यक र समस्याहरुको पहिचान गरि विद्यालयहरुको स्थगन र तह मिलान गरिएको उहाँको भनाइ छ ।

तह मिलनपछि अब बालविकास केन्द्र संचालन हुने विद्यालयको संख्या ८, बालविकास केन्द्र र कक्षा एक मात्र संचालन हुने विद्यालयहरुको संख्या ११, कक्षा एक मात्र संचालन हुने विद्यालय १, कक्षा एक देखि तीनसम्म संचालन हुने विद्यालय संख्या ५, कक्षा एकदेखि चारसम्म संचालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा एकदेखि ६ कक्षासम्म संचालन हुने र विद्यालय स्थगन र तह मिलानपछि शिक्षकहरुलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा दरबन्दी मिलन गरि व्यवस्थापन गरिने प्रमुख श्रेष्ठ बताउनुहुन्छ । नजिकमा विद्यालय नभएको, अलग्गै बस्ती र भौगोलिक विकटता भएको विद्यालय तथा कक्षा स्थगनले पढाईबाट वञ्चित हुने बालबालिकालाई आवश्यक व्यवस्था गरिने उहाँको भनाइ छ ।

नगर प्रमुख श्रेष्ठले भन्नुभयो - “जनसंख्या कम हुँदै गए, गाउँबाट बजार झर्नेको संख्या बढ्यो, विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गए, त्यसले गर्दा नगरपालिकाले एउटा कार्यविधि बनाएर विद्यालयको तह मिलान र स्थगन गर्न थालेको हो, आवश्यकता अनुसार तह मिलान र स्थगन हुँदै जाने छन्, स्थगन भई खाली हुने विद्यालयलाई वडा कार्यालयको संरक्षकत्वमा विद्यालय छात्रावास, पुस्तकालय, सामुदायिक सिकाई तथा प्रशिक्षण केन्द्र, सामुदायिक प्रयोजनका भवन, टोल सुधार, महिला समूहको भवनको रुपमा प्रयोगमा ल्याईने छ ।”

शिक्षा अनुगमन समितिले तय गरेको मापदण्ड अनुसार स्थगनपछि विद्यार्थीहरु बढ्ने विद्यालयलाई व्यवस्थापनका लागि २ लाख र प्रत्येक तह मिलान हुने विद्यालयहरुलाई प्रति कक्षा २५ हजारको दरले रकम उपलब्ध गराउने नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । बालबालिकाका लागि नेपाल सरकारले दिएको १५ रुपैयाँ दिवा खाजामा नगरपालिकाले ५ रुपैयाँका गरि दिने उहाँको भनाइ छ ।

विद्यालय स्थगन र तह मिलानपछि नगरपालिकाले एक वडा एक आवासीय विद्यालय, पढ्दै कमाउँदै कार्यक्रम जस्ता व्यवसायीक र प्राबिधिक स्कुलहरु निमार्ण गर्ने उद्देश्य राखेको र यस्ता खालका शिक्षामा लगानी गरेमा मात्रै शैक्षिक गुणस्तर वृद्विमा प्रभावकारी भूमिका खेल्ने उहाँ बताउनुहुन्छ । अब नगर भित्रका प्राथमिक तहका प्राध्यापक नियुक्तिमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गराउने अवधारणा ल्याइएको खड्काले जानकारी दिनुभयो ।

स्थगन भएका विद्यालयमा विद्यार्थी संख्या बढे पुनः संचालन गरिने उहाँ बताउनुहुन्छ । विद्यालय तह मिलान र स्थगनका लागि सबै विद्यालयमा पत्रचार भएको खड्काको भनाइ छ । बागलुङ नगरपालिकामा ८२ वटा सामुदायिक र २० वटा संस्थागत विद्यालय संचालनमा छन् । पालिकाभर १६ हजार विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?