![सत्ता गठबन्धनका शीर्ष तीन नेताहरूबीच मध्यराति तीन घण्टा छलफल](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Discussion-between-the-top-three-leaders-of-the-ruling-coalition-fornt-page.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा पर्ने खतरा बढेपछि उपप्रधानमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपाल विभाजन गराइएको छ । जसपा नेपालका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य अशोक राईको नेतृत्वमा पार्टी विभाजन गरिएको हो । राईसहित जसपा नेपालका सातजना सांसद र ३० जना केन्द्रीय सदस्यले आइतबार निर्वाचन आयोगमा पुगेर पार्टी विभाजित भएको जानकारीसहित पत्र दर्ता गराएका छन् । विभाजित पार्टीको नाम जनता समाजवादी पार्टी रहने बताइएको छ ।
जसपा नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव देशबाहिर हुनुहुन्छ । पार्टी विभाजन पक्षमा उभिने सातजना सांसदहरूमा अशोक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, वीरेन्द्र महतो र हसिना खान रहनुभएको छ । नवलकिशोर साह वर्तमान सरकारमा वन तथा भूसंरक्षण मन्त्री रहनुभएको छ । निर्वाचन आयोगमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री साहले अध्यक्ष यादव वर्तमान सत्ता गठबन्धनविरुद्ध उभिन खोजेकाले प्रतिवाद गरिएको बताउनुभयो । ‘हाम्रो अध्यक्ष यो सरकारको स्थायित्वको पक्षमा उभिनुभएन । उहाँले गठबन्धनको विकल्प खोज्न थालेपछि हामी स्थायित्वको पक्षमा उभिएका छौँ । वर्तमान सरकारलाई हाम्रो पूर्ण साथ रहन्छ’, साहले भन्नुभयो ।
वैकल्पिक गठबन्धन बन्न नदिने प्रयास
जसपा नेपालको विभाजनको मुख्य ध्येय सत्ता गठबन्धनको सम्भावित संकट टार्नु रहेको पुष्टि हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्नेबारे नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी र जसपा नेतृत्वबीच अनौपचारिक संवादहरू निरन्तर भइरहेका थिए । वैकल्पिक गठबन्धन निर्माणका लागि कांग्रेसले गरेको पहलमा उपेन्द्रले साथ दिने संकेत पाएपछि सत्ता गठबन्धनका नेताहरूको सल्लाहमै जसपा विभाजन गराइएको जसपाका नेताहरूको दाबी छ । जसपा नेपालका प्रवक्ता मनीषकुमार सुमनले पार्टीभित्र कुनै पनि विवाद नभएको बेला हठात विभाजन गरिनु शंकास्पद रहेको बताउनुभयो । ‘केही साथीहरू पार्टीबाट बाहिरिनु भएको छ । उहाँहरूले आफ्नो राजनीतिक हत्या गर्नुभएको छ । यसबारे थप छलफल हुन्छ । हामी आत्तिएका छैनौँ’, उहाँको भनाइ छ । विभाजनको पक्षमा बहुमत नपुग्ने र केन्द्रीय समितिका बहुमत सदस्यको साथ यादवलाई नै रहेको सुमनको दाबी छ ।
संसद्मा जसपाको १२ सिट रहेको थियो । विभाजनले मान्यता पाए यादव नेतृत्वको जसपामा अब पाँच जना मात्रै सांसद रहनेछन् । कांग्रेसले आफ्नो ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाको चार-चार गरी संसद्मा १३८ मत पु¥याएर वैकल्पिक गठबन्धन बनाउने तयारी गरेको थियो । जसपा विभाजनले वैकल्पिक गठबन्धन निर्माणमा बाधा पुगेको छ । अब नेकपा एस र यादव नेतृत्वको जसपाले सरकार छाडे पनि प्रधानमन्त्रीको पक्षमा बहुमत रहिरहने अवस्था बन्छ ।
उपप्रधानन्त्री देशबाहिर रहेका बेला मन्त्रीको सक्रियतामा पार्टी फुट्नुमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्ने जसपाका एक नेताको दाबी छ । ‘धेरै कुरा अध्यक्षसँग छलफल गरेपछि मात्रै भन्न सक्छु । यत्ति बुझ्नु कि उपप्रधानमन्त्रीको पार्टी मन्त्री लगाएर फुटाउने काम प्रधानमन्त्रीबाहेक कसले गर्नसक्छ ?’, जसपाका एक नेताले हिमालय टाइम्ससँग भन्नुभयो ।
जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई लगायतले विभाजनमा साथ दिनुभएको छ । नेता श्रेष्ठले अध्यक्ष यादवले वर्तमान सरकारको विकल्प खोजेकै कारण पार्टी विभाजित भएको बताउनुभयो । ‘अध्यक्षका गतिविधिले अस्थिरता ल्याउने भयो त्यसैले यस्तो कदम चाल्न बाध्य भयौँ’, श्रेष्ठले बताउनुभयो । केन्द्रीय समितिमा आफूहरूको बहुमत रहेको श्रेष्ठको दाबी छ ।
सरकारलाई समर्थन यथावत : राई
विभाजित जसपाका अध्यक्ष अशोक राईले पार्टीभित्र व्यक्तिवादी अस्थिर चरित्र हावी भएकाले पार्टी विभाजन गरिएको बताउनुभएको छ । निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै राईले पार्टी महाधिवेशनको संघारमा भए पनि अध्यक्षले सामूहिक र विधानसम्मत व्यवहार नगरेको बताउनुभयो । अध्यक्षले आफँै उपप्रधानमन्त्री रहेको सरकारविरुद्ध भित्रभित्रै काम गरेको पनि राईको आरोप छ । ‘देखिने रूपमा नभए पनि गोप्य रूपमा वर्तमान सरकारविरुद्ध नै अध्यक्ष लाग्नुभएको हामीलाई महसुस भयो । अस्थिरताको कारक बन्नु हुँदैन भनेर हामीले विभाजनको निर्णय लियौँ’, राईले भन्नुभयो । उहाँले नवगठित जसपा वर्तमान सरकारमै रहेर स्थायित्वको पक्षमा उभिने बताउनुभयो ।
जसपा निरन्तर विभाजन
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाइदिन खोजेको भन्दै २०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी नेपाल गठन भएको थियो । गठन भएको १६ महिनामै २०७८ भदौमा जसपा फुटेको थियो । महन्थ ठाकुरको नेतृत्वमा जसपा विभाजित भएर लोसपा बनेको थियो । जसपाबाटै छुट्टिएर डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी बनाउनुभएको थियो । जसपाको विभाजनको क्रमले फेरि पनि निरन्तरता पाउँदा सत्ता राजनीति अझ पेचिलो बनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच