लण्डन । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४-० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले २ तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गर्नुभयो । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगका दुवै खेलमा युनाइटेडलाई हराउन सफल भयो । यसअघि क्रिस्टल प्यालेसले १-० को जित निकालेको थियो ।
सेल्हस्ट पार्कमा खेलको १२औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै क्रिस्टल प्यालेसलाई १-० को अग्रता दिलाउनुभयो । उहाँले ड्यानियल मुनोजको पासलाई सदुपयोग गर्दै गोल गर्नुभएको थियो ।
४०औँ मिनेटमा जिनफिलिप माटेटाले क्रिस रिचार्ड्सको पासमा गोल गरेपछि क्रिस्टल प्यालेस पहिलो हाफमा २-० ले अघि बढ्यो । ५८औँ मिनेटमा टेरिक मिचेलले एडम व्हार्टनले गरेको उत्कृष्ट क्रसमा नजिकबाट ट्याप गर्दै क्रिस्टल प्यालेसलाई ३-० ले अघि बढाउनुभयो ।
६६औँ मिनेटमा ओलिसेले मुनोजकै पासमा गोल गर्दै युनाइटेडलाई ४-० को लज्जास्पद हार चखाउनुभयो । पहिलो मिनेटदेखि नै ग्लासनरको टोली युनाइटेडविरुद्ध हावी देखिँदा नतिजा पनि त्यहीअनुसार निकाल्न सफल भयो । क्यासेमिरोले दुईपटक गोल गरे पनि मान्यता पाउन सकेन । उहाँको पहिलो गोलमा डिन हेन्डरसनलाई फाउल तथा दोस्रो गोलमा अफसाइड देखिएको थियो ।
यस नतिजासँगै युनाइटेड अर्काे सिजनको युरोपेली फुटबलमा नहुने सम्भावना छ । युरोपा कन्फरेन्स लिगमा स्थान सुरक्षित गर्नका लागि प्रिमियर लिगमा सातौँ स्थानमा पुग्नुपर्छ वा युरोपा लिगमा स्थान बनाउन एफए कपको फाइनलमा म्यानचेस्टर सिटीलाई हराउनुपर्छ । युनाइटेड ३५ खेलबाट ५४ अंक जोडेर आठौँ स्थानमा छ । क्रिस्टल प्यालेस ३६ खेलबाट ४३ अंक जोडेर १४औँ स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच