काठमाडौं । सांसदहरुले संवैधानिक परिषद्सम्बन्धी विधेयक दलका शिर्ष नेताहरुका कारण पारित हुन ढिलो भइरहेको बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले विधेयकको सम्बन्धमा अधिकांश विषयमा समितिले सहमती जुटाइसकेको अवस्थामा अबको असहमतीको बुँदा राजनीतिक दलका शिर्ष नेताहरुको तहबाट समाधान गरिनुपर्ने बताए ।
बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले बैठकको गणपूरक संख्या र प्रधानमन्त्रीसहितलाई वा प्रधानमन्त्रीबिनाको संख्यालाई बहुमत मान्ने भन्ने विषयमा सहमति जुट्न नसकेकोले सो विषय शिर्ष नेताहरुले टुंग्याउनुपर्ने बताउनु भयो । उहाँले शिर्ष नेताहरु बसेर सहमती गरेपछि आफूहरुलाई आउने निर्देशन बमोजिम समितिबाट विधेयक टुंग्याइने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – ‘दफाबार छलफल चलाइरहँदाखेरी राजनीतिक समिकरण एउटा थियो । नलुकाइकन भन्नुप-यो नि यो कुरा । हिजोको प्रतिपक्षले जे कुरा उठाइरहेको त्यो ऊ आज सत्तापक्ष भएको छ । हिजोको सत्तापक्षको मुख्य घटक आज प्रतिपक्षमा छ । सबै राजनीतिक घटनाक्रमले गर्दाखेरी हाम्रो कुनै विषयवस्तुमाथिको दृष्टिकोणहरु पनि परिवर्तन भइराखेको हुन्छ समय सन्दर्भले गर्दा । अहिले गृहकार्य पुगेन भन्ने लाग्छ । हाम्रो नेताहरुको बीचमा छलफल भएर केही न केही हामीलाई निर्देशन दिनुप¥यो नि । उहाँहरुलाई शेरबहादुरले दिनुप-यो । हामीलाई केपी ओलीले दिनुप¥यो । अर्कोलाई प्रधानमन्त्रीले दिनुप¥यो । अर्कोलाई अरुले दिनुप¥यो । त्यो कुरा अलि पाकिसकेको छैन । असहमतीका बुँदाहरुमा हाम्रा नेताहरु सहमतीमा पुग्नुपर्ने हो । सहमतीमा पुगियो है भन्नुप¥यो उहाँहरुले अनि हामी यहाँ भोटिङ नगरी संवैधानिक परिषद् विधेयक पास गरेर जानुपर्छ ।’
त्यस्तै बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद हृदयराम थानीले संवैधानिक परिषद्लाई आफू अनुकुल बनाउने गलत परिपाटी बसेको बताउनु भयो । उहाँले संवैधानिक परिषद्का काम, कारबाही राष्ट्रिय सहमतीबाट हुनुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताउनु भयो । उहाँले सत्तारुढ दलहरुका बिचमा हुने भागबण्डा नमिलेका कारण विधेयक पारित हुन ढिलाइ भइरहेको बताउनु भयो । उहाँले परिषद्ले गर्ने हरेक निर्णयहरु सर्वसम्मतिले गर्नुपर्ने पक्षमा आफूहरु रहेको भन्दै यसैलाई पारित गरेर जान सरकारलाई चुनौती दिनुभयो ।
उहाँले भन्नुभयो – ‘संवैधानिक परिषद्लाई जहिलेपनि आफु अनुकुल बनाउने परिपाटी हाम्रो चलनमा चलिरहेको परिस्थिति छ । मेरो विचारमा के लाग्छ भने संवैधानिक परिषद् राष्ट्रिय सहमतीबाट गर्नुपर्ने कामहरु हुन् यि । राज्यले खोजेको के हो ? तानातान हो ? यसमा एउटा शब्द के राखिएको छ भने, प्रधानमन्त्री र ५० प्रतिशत बहुमत सदस्यको निर्णय हुनेछ भन्नेकुरा छ, प्रधानमन्त्रीले गरेको कुरालाई प्रधानमन्त्रीले हुन्छ भने हुन्छ । हुन्न भने हुन्न भन्नेखालको छ यो । उहाँको अनुकुल भएन भने नहुने परिस्थिति पनि रहन सक्ने भयो । भागबण्डा नमिलेको होला । सत्तापक्षले हिसावकिताव गरेर मेरो कति जना मान्छे नियुक्त हुन्छ हुँदैन भनेर कुरा गरिरहनुभएको छ आज । हामी प्रतिपक्ष हुँदा खोजेनौँ हामीले । म परिषद्को बैठकमा पेश भएका प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनुपर्छ भन्ने पक्षमा म छु । मान्नुहुन्छ ? को मान्छे नियुक्त गर्ने हो हामीले ? खल्तिबाट मान्छे ल्याएर हालेको छ, मुलुक चलाउन लागेको छ । जनतामा राम्रो धारणा छैन हामी राजनीतिकर्मीहरु प्रति । यदि मुलुक सुधार्ने हो भने, देश बनाउने हो भने सर्वसम्मत निर्णय गर्ने गरौँ न त । सकिन्छ ? सकिँदैन । अहिले भागबण्डा खोज्ने दाउ होला । हिम्मत छ सरकारको ? यो ऐनमा राजनीतिक रङ्गरोगन दियौँ भने मुलुक अहिलेभन्दा खराब अवस्थामा चल्नेवाला छ ।’
नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले संवैधानिक परिषद्मा आउने व्यक्तिहरुको मापदण्ड र चरित्रको सम्बन्धमा विधेयकमा नै उल्लेख गरेर ल्याउनुपर्ने बताउनु भयो । उहाँले विधेयकलाई सर्वसम्मतिका साथ पारित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो – ‘संवैधानिक परिषद्मा आउने व्यक्तिहरुका मापदण्ड, उनीहरुको चरित्र सबै कुरा समेत यो ऐनमा उल्लेख भएर ल्याउनुपर्छ । यो संविधानसँग पनि सम्बन्धित होला । सहमतीमा जाऔँ । सरकारको ठेगान नहुने अवस्था छ । त्यसैले म सरकारमा भएको बेलामा मेरो अनुकुल बनाऔँ भन्ने कदापी नसोचौँ । अनुकुल हुँदो रहेनछ । परिस्थिति बेलाबेलामा बदलिइरहदो रहेछ । यो कुरालाई ध्यानमा राखेर सहमतीले नै जानसक्ने र यो ऐनलाई पूर्णतः आमुल परिवर्तन गर्न सक्नेगरी बनाएर लिएर जान सक्नुपर्छ ।’
बैठकमा बोल्दै सांसदहरुले विधेयकलाई छिटोभन्दा छिटो पारित गरेर लैजानुपर्नेमा जोड दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच