‘पारिपात्ले अगौटे’ सुन्तलाको सफल परीक्षण

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 9 mins

पाल्पा । पाल्पामा पारिपात्ले अगौटे (ओकिचुवासे) प्रजातिको सुन्तलाको परीक्षण सफल भएको छ । एक दशकअघिदेखि परीक्षणमै रहेकोे यो प्रजातिको सुन्तलाको परीक्षण सफल हुँदै गएको हो । सामान्यतया मंसिर–पुस महिना सुन्तला पाक्ने सिजन हो तर पाल्पामा भने भदौको अन्त्यदेखि सुरु भई असोजमा पाकेका छन् । यहाँको सुन्तला जात फलफूल विकास केन्द्र तानसेनको फर्ममा पाकेर पहेँलपुर भएका छन् ।

फर्मको अध्ययन अवलोकनका लागि आउने जोकोही पनि बेमौसमी सुन्तला पाकेको देख्दा दंग छन् । साना बोट, ठूला दाना, स्वादिलो भएको सुन्तला बोटले थेग्नै नसक्ने गरी फलेका छन् । यहाँ ५० भन्दा बढी बोटमा जापानिज ओकिचुवासे प्रजातिको सुन्तला भदौको अन्तिम हप्तादेखि पाक्न सुरु गरेको केन्द्रका प्रमुख दिपक भट्टराईले बताउनुभयो । उहाँका अनुसार पाल्पाको हावापानीमा यो सुन्तला अत्यन्त राम्रो हुन्छ । कात्तिकको दोस्रो हप्तासम्म यो प्रजातिको सुन्तला रहन्छ । मध्यम आकारमा फैलिने यो जात उन्सोबालीअन्तर्गत पर्दछ । प्रायजसो स्थानीय सुन्तला मंसिरदेखि खानयोग्य मानिन्छ ।

फागुनसम्ममा यी सुन्तला टिपेर सकिसकेका हुन्छन् । व्यापारी तथा शीतभण्डारण गर्नेले बाहेक अन्यले स्थानीय जातका सुन्तला लामो समयसम्म राख्न सक्दैनन् । बोटमै सुन्तला राखिरहँदा अर्को वर्षको फललाई असर पुग्ने भएकाले फागुनसम्म स्थानीय जातको सुन्तला टिपिसक्नुपर्ने प्राविधिकहरू बताउँछन् ।

बियाँरहित र तीन वर्षमै उत्पादन लिन सकिने यो प्रजातिको सुन्तला खेतीबाट किसान लाभान्वित हुन सक्ने देखिएको छ । 

स्थानीय जातका सुन्तला अहिले स-साना र हरिया दाना भएका छन् तर उन्सु भने पाकेर पहेँला देखिएका हुन् । नेपालको बागवानी तथा फलफूलको क्षेत्रमा जापान सरकारबाट आर्थिक तथा प्राविधिक सहयोग भएको थियो । समुद्री सतह आठ सयदेखि १४ सय मिटरको उचाइमा यसको व्यावसायिक खेती गर्न सकिने भएकाले यो सुन्तला पहाडी जिल्लामा सफल हुने प्राविधिक बताउँछन् । जापानी स्वयंसेवकहरूले यो प्रजातिको सुन्तला २०४४/०४५ सालमा भित्र्याएको भए पनि पाल्पामा विगत १० वर्षदेखि परीक्षणका रूपमा लगाइएको र सफल भएको केन्द्र प्रमुख भट्टराईले बताउनुभयो ।

यो सुन्तला मध्यपहाडी क्षेत्रमा व्यावसायिक खेती गर्न सकिने प्रजातिको फल हो । अन्य प्रजातिका सुन्तलाको तुलनामा स्वादमा निकै फरक र कम समयमै उत्पादन लिन सकिन्छ । अम्लीयपन नहुने, चिनीको मात्रा अत्यन्त कम भएकाले जस्तोसुकै बिरामीका लागि पनि यो सुन्तला फाइदाजनक मानिन्छ । लगाएको तीन वर्षदेखि नै उत्पादन लिन सकिने हुँदा यो प्रजातिको सुन्तला व्यावसायिक कृषकका लागि समेत लाभदायी देखिएको छ ।

असोजमै बोटभरि लटरम्म सुन्तला पाकेको देख्दा दंग परेको फर्मको अवलोकन गर्न पुग्नुभएका नेपाल प्रेस युनियन पाल्पाका पूूर्वअध्यक्ष प्रकाश नेपालले बताउनुुभयो । फरक स्वाद, अम्लीयपन नभएको, चिनीको मात्रा अत्यन्त कम, जस्तो बिरामीले पनि खान हुने, बियाँरहित र तीन वर्षबाटै उत्पादन लिन सकिने एक सय ५० देखि तीन हजार ग्रामसम्म फल लाग्ने यो प्रजातिको सुन्तला खेतीबाट किसान लाभान्वित हुन सक्ने उहाँको भनाइ छ ।

जापानिज प्रजातिको यो सुन्तलाको नेपालमा सम्भाव्यताको विषयमा लामो समयको अनुसन्धानपछि सफलता पाएको राष्ट्रिय सुन्तला जात कार्यक्रम परिपाले धनकुटाका वैज्ञानिक उमेश आचार्यले बताउनुभयो । आचार्यका अनुसार यो जातको सुन्तला पूर्वदेखि पश्चिमसम्मका पहाडमा खेती गर्न कृषकलाई सिफारिस गरिएको छ । जिल्लाका अधिकांश क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । त्यसमा अधिकांश स्थानीय जातका रहेका छन् । रैथानेको तुुलनामा यसबाट छोटो समयमै उत्पादन लिन सकिन्छ तर कृषकबाट यो प्रजातिको सुन्तलाको व्यावसायिक खेती अहिलेसम्म भएको छैन । जिल्लामा सरकारबाट सिफारिस भएको र परीक्षणकै क्रममा थियो । फरक स्वाद र दाना ठूला भएकाले यो प्रजातिको सुन्तला आफू पनि लगाउने तयारीमा रहेको रैनादेवी छहरा गाउँपालिका मुझुकी कृषक वसन्ती कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य प्रजातिभन्दा अगाडि नै उत्पादन लिन सकिने भएकाले कलमी गरेर व्यावसायिकरूपमा लगाउने तयारी गरेकी छु ।’

यो प्रजातिको सुन्तला जिल्लामा पहिलो होमस्टे भएको गाउँ बौघागुम्बामा लगाइएको छ । एक बोटमा ४० देखि एक सय ५० केजी उत्पादन लिन सकिने यो प्रजातिको सुन्तला एक रोपनी क्षेत्रफलमा २० बोट लगाउन सकिने प्राविधिक बताउँछन् । यसमा छ प्रतिशत गुलियो र ०.८ देखि एक प्रतिशतसम्म अमिलोको मात्रा हुन्छ । यो जातको बोट मध्यम आकारमा फैलिने प्रकृतिको र कलमी गरेको १५ वर्षको बोट १.३ मिटर जतिको हुन्छ । बोटमा सेतो रङको फूल फागुनको अन्तिम सातातिर फुल्छ भने चम्किलो सुनौलो रङका फल औसतमा एक सय ३६ ग्रामसम्मका हुन्छन् । बिउरहित १०–१२ केस्रो हुने फलको नौ प्रतिशतसम्म गुलियो तथा ०.९ प्रतिशतसम्म अमिलो हुन्छ । यो जातको व्यावसायिक खेती समुद्री सतहबाट आठ सयदेखि १४ सय मिटरको उचाइमा उपयुक्त हुने बताइएको छ । तापक्रम पाँचदेखि ३५ डिग्रीसम्म भएको तुसारो नपर्ने क्षेत्रमा राम्रो हुने प्राविधिक बताउँछन् । यसको बिजु बिरुवाभन्दा कलमी बिरुवा प्रयोग गर्नु उत्तम मानिन्छ ।

तीनपाते, सिट्रेज आदि स्टकमा स्पलाइस वा भिनियर तरिकाबाट पुस–माघ महिनामा वा जेठ-साउन महिनामा कलमी गरी बिरुवा उत्पादन गरिन्छ । पारिपात्ले अगौटे जातको बिरुवालाई समथर जमिनमा वर्गाकार र भिरालो गरामा कान्ला बनाई कन्टुर तरिकाबाट रोपण गरिन्छ । सुन्तलाको बोट तीन मिटर दूरीमा रोप्नुपर्छ । बिरुवा रोपेको तीन-चार वर्षसम्म लहरा नजाने कोसे तरकारी बाली प्याज, लसुन, रायो आदि खेती गर्न सकिने तर बहुवर्षे र धेरै खाद्यतत्व लिने बाली(मकै, कोदो, गहुँ) लगाउन नहुने वैज्ञानिकहरू सुझाउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?