प्रकृति साझा हो । प्रकृति सबैको सम्पत्ति हो । प्रकृति कसैको बसमा छैन । प्रकृृतिलाई माया गरेर नै संसार गतिशील छ । प्रकृतिले नियमित काम गरिरहेको हुन्छ । प्रकृतिमाथि शासन गर्न खोजियो भने प्रकृति बिद्रुप बनेर पनि आउने गरेको हुन्छ । प्रकृतिका माध्यमबाट संसार बाँचिरहेको छ । प्रकृतिले आफ्नो जिम्मेवारी पूर्णरूपमा पालन गरेको हुन्छ । हामी प्रकृतिका पूजक हौँ । प्रकृतिलाई पुज्नु हाम्रो दायित्व र कर्तव्य पनि हो । यदि प्रकृतिलाई पुज्न छोडेर प्रकृतिलाई विनाश गर्नेतर्फ लाग्यौँ भने प्रकृतिले मानिसको जीवनलाई मात्र होइन प्राकृतिक सम्पदालाई पनि नष्ट गर्ने गर्दछ । सचेत बनौँ र प्रकृतिलाई पुजौँ ।
मानिस कर्ममा समर्पित प्राणी हो । उसलाई कर्मले नै मानिस बनाएको हुन्छ । त्यसैले कर्ममा विश्वास गरौँ । हामी कर्मप्रति सचेत बनौँ । यही हो भाव कृष्णको । कृष्णले कर्मलाई सबैभन्दा महत्वको विषय मानेका छन् ।
कृष्ण प्रकृतिका उपासक थिए । उनले प्रकृतिलाई पुज्ने सल्लाह गोलोकवासीलाई दिए । उनले इन्द्रको पूजा गरिरहने वृन्दावनका मुखिया नन्द (कृष्णलाई पाल्ने पिता) लाई इन्द्रको होइन गोबर्धन पर्वतको पूजा गर्न सल्लाह दिए । मानिस कर्ममा विश्वास गर्ने प्राणी हो । कर्मप्रति विश्वास हुने हामी मानिसले प्रकृतिको पूजा गर्नुपर्दछ भन्ने आशय उनले आफ्ना पिताका सामु राखे । पितालाई आफ्नो कुरामा सहमत समेत गराए । कृष्ण प्रकृतिप्रेमी हुन् भन्ने तथ्यलाई उनी र उनको अभिव्यक्तिका माध्यमबाट बुझ्न सकिन्छ । प्रकृतिलाई पूजा गरे मात्र हामी र हाम्रो जीवन सफल हुने कुरा कृष्णले सरल तरिकाले पितालाई बताए ।
कर्मको प्रधानता
कर्म नै मानिसको कर्तव्य हो । कर्मले मानिसलाई जीवन्त बनाउँछ । कर्मका माधयमबाट उसले आफूलाई संसारभर चिनाएको हुन्छ । संसारमा कर्मभन्दा ठूलो कुनै पनि वस्तु वा मान्यता मानिसका लागि छैन । कर्म गर । कर्ममा निरत रहेर आफू र आफ्नो जीवनलाई सफल बनाएर संसारमा गतिशील बन । यो मानिसको कर्तव्य र पहिचान पनि हो । कर्मप्रतिको आस्था र विश्वासले मानिसलाई सबल बनाउने तथ्यलाई नर्कान सकिँदैन पनि । वृन्दावनका सबैले वर्षाका लागि सदा इन्द्रको पूजा गर्ने परम्परालाई कृष्णले अस्वीकार गरिदिए । कृष्णले भने
कर्मणा जायते जन्तुः कर्मणैव विलीयते
सुखं दुःखं भयं क्षेमं कर्मणैवाभिपद्यते ।।
कृष्ण पितालाई सम्बोधन गर्दै भन्छन् ‘पिता ! प्राणी आफ्नो कर्मबाट जन्मन्छ र कर्मका कारण नै मृत्युलाई वरण गर्ने गरेको हुन्छ । मानिसलाई उसका कर्मले नै सुख, दुःख, भय र मङ्गल प्राप्त हुने गरेको हुन्छ । मानिसका लागि कर्म सबैभन्दा उत्तम उपाय हो । त्यसैले हामीले कर्ममा विश्वास गर्नु अनिवार्य मानिन्छ । कर्म नगर्ने र फलमा आश्रित रहनु मानिसको कर्म मानवीय धर्म र मर्म होइन ।’ कृष्णको कर्मप्रतिको आस्था र विश्वास दृढ थियो । कर्मका माध्यमबाट सबै प्राणीले आफ्नो जीवन भोगेका छन् भने हामीले इन्द्रको उपासना किन गर्ने ?
किमिन्द्रेणेह भूतानां स्वस्वकर्मानुवर्तिनाम्
अनीशेनान्यथा कर्तुं स्वभावविहितं नृणाम्
सबै प्राणीले आआफ्नो कर्मको फल भोगिरहेका छन् । हामीलाई इन्द्रको आवश्यकता किन ? पिता ! हामी कर्म र आफ्नो कामप्रति विश्वासमा छौँ भने इन्द्र आदि देवताको पूजा किन ? कर्मका माध्यमबाट मानिसको जीवनचर्या गतिशील हुन्छ भने हामीले इन्द्रको पूजा गर्नु आवश्यक छैन । मानिस कर्ममा समर्पित प्राणी हो । उसलाई कर्मले नै मानिस बनाएको हुन्छ । त्यसैले कर्ममा विश्वास गरौँ । हामी कर्मप्रति सचेत बनौँ । यही हो भाव कृष्णको । कृष्णले कर्मलाई सबैभन्दा महत्वको विषय माने । यदि कर्म नै नगर्ने र कर्मप्रति सचेत नहुने हो भने जेजति देवताको पूजा गरे पनि केही नहुने सन्दर्भलाई कृष्णले बताएको देखियो ।
कृष्ण आस्था हुन् । कृष्ण विश्वास हुन् । कृष्ण ईश्वरीय चिन्तन हुन् । उनी हाम्रा लागि भगवान् हुन् । उनको भनाइ कर्मप्रति आस्थावान थियो । उनले कर्मलाई सदा आफ्नो जीवनको आधार माने । कर्मबाट भागेका अर्जुनलाई गीताको ज्ञान दिए र कर्ममा लाग्न सिकाए । कर्मवादी भएका कारण कृष्णले जहिले पनि आफूलाई कर्ममा नै समर्पित गरे । उनले गरेको कर्मप्रतिको विश्वास र आस्था आजका हामीलाई जीवनमार्गको आधार बनेको छ ।
कृष्ण प्रकृतिप्रेमी थिए । उनले कर्ममा विश्वास गरे । प्रकृतिको पूजा हाम्रो कर्तव्य ठाने र गोलोकवासीलाई प्रकृतिको पूजा गर्न प्रेरित गरे । यो उनको प्रकृतिप्रतिको मोह र कर्मप्रतिको विश्वास हो । हामी कर्मप्रति पनि असचेत र प्रकृतिप्रति पनि निरङ्कुश बन्यौँ ।
यदि कर्म नै नगर्ने हो र कर्मप्रतिको आस्थामा आफू समर्पित नहुने हो भने कसरी संसार चल्छ भन्ने धारलाई कृष्णले बताएका छन् । हामीले विश्वास र आस्थालाई जीवन मानेका छौँ । यदि हामी कर्मप्रति समर्पित छौँ भने हामीले प्रकृतिलाई पुज्नुपर्दछ । हामी वनवासी हौँ । हामी वनवासी भएकाले हामीले पुज्ने प्रकृति हो । प्रकृति, गाई र ब्राहृमण हाम्रा पूजनीय हुन् ।
न नः पुरो जनपदा न ग्रामा न गृहा वयम्
नित्यं वनौकसस्तात वनशैलनिवासिनः ।।
तस्माद् गवां ब्राहृमणानामद्रेश्चारभ्यतांँ मखः।
‘पिता ! हामीसित कुनै देशको राज्य पनि छैन । हामीसित कुनै ठूला नगर पनि छैनन् । हामीसित घर पनि छैन । हामी वनवासी हौँ । वन, पहाड हाम्रा घर हुन् । हामीले कुनै देवता होइन गाई, ब्राहृमण र पर्वतको पूजा गर्नु आवश्यक छ । यो कृष्णको प्रकृतिलाई पूजा गर्ने वचन हो । हामी प्रकृतिका पूजक हौँ । प्रकृतिले हामीलाई सबै दिएको छ भने हामीले अरूको पूजा किन गर्ने र अरूका पूजक किन बन्ने । प्रकृतिबाट सबै प्राप्त हाम्रा जीवनका आधारलाई हामीले पूजा गर्नु पर्दछ ।’ यो कृष्णको अभिव्यक्ति प्रकृतिको पूजनसित आएको थियो । प्रकृतिको पूजा गर्नु उपयोगी हो । प्रकृतिलाई समाप्त पार्ने र प्रकृतिका सबै पक्षलाई नष्ट पार्नु उपयोगी होइन । यो कृष्णको अभिव्यक्ति हो ।
प्रकृति सत्य हो
प्रकृति सत्य हो । प्रकृतिलाई असत्य सावित गर्ने कुनै पनि विज्ञान आज संसारमा देखिएको छैन । प्रकृतिले जे दिन्छ त्यसमा निर्भर रहनु आजको आवश्यकता पनि हो । प्रकृतिबाट पाइने सबै वस्तु प्राकृतिक हुन् । कृतिमताले त्यहाँ बास गरेको हुँदैन । प्रकृतिबाट पाइने वस्तुमा जीवन छ । जीवनको मर्म छ । जीवनलाई चलाउने आधार छ ।
सत्यां क्षितौ किं कशिपोः प्रयासै र्बाहौ स्वसिद्धे हुपबर्हणैः किम् ।
सत्यञ्जलौ किं पुरुधान्नपात्र्या दिग्वल्कलादौ सति किं दुकुलैः।।
जमिनमा सुतेर काम चल्छ भने पलङको आवश्यकता छ र ? हातको नै काम चलाउन सकिन्छ भने सिरानीको आवश्कता किन ? अजुलीबाट काम चल्छ भने विविध प्रकारका भाँडा किन ? रूखका बोक्रा छन् भने विभिन्न कपडाको आवश्यकता पर्छ र ? यो जीवन जिउने आधार हो । जीवनलाई सादा र सभ्य तरिकाले बाँच्ने भाव पनि । यही भावमा रमेको छ हाम्रो आर्ष परम्परा । हामी आज विकसित भयौँ । विकासका माध्यमबाट हामीले संसारमा आफ्नो प्रभुत्व कायम गरेका छौँ । माथिको परम्परा आर्ष र ऋषि परम्परा हो । यो परम्परासित सहमत आजको मानिस हुन सक्दैन । प्रकृतिबाट पाएका वस्तुले मानिस मात्र होइन संसारका सबै प्राणीको जीवन निर्वाह भइरहेको छ ।
आजको आवश्यता त्यो होइन । आजको आवश्यकता सुख हो । भौतिक सम्पन्नता हो । भौतिकताले दिएको साधन हो । उक्त साधनबाट हामीले पाएको जीवनको आधार हो । त्यो आधार विज्ञानसम्मत छ । प्रकृतिले दिएको वस्तु उपभोग गर र बाँच भन्छ हाम्रो शास्त्र । हामीले शास्त्र र शास्त्रका वचनलाई त सेलायौँ । शास्त्रमात्र होइन हामी त विज्ञानको औधी चमत्कारबाट प्रकृतिलाई पनि सेलाउन थालिसक्यौँ । प्रकृति आफैँमा पूर्ण छ । प्रकृतिबाट पाएका सबै वस्तु पूर्ण छन् । त्यो पूर्णतामा हाम्रो विज्ञान र विकास अपूर्ण बनेर पस्यो । त्यो अपूर्णताको फल आजको विश्वले भोगिरहरेको छ । विकासका माध्यमबाट जीवनलाई सरल बनाउने उद्देश्यमा हामी गतिशील नै बन्यौँ तर बनेनौँ प्रकृतिका पूजक ।
प्रकृतिलाई मासेर जीवनका सबै कुरामा हामीले आफूलाई अब्बल सावित गरिरहेका छौँ । आजको विश्वसमेत प्रकृतिको बदलिँदो रूपबाट त्रसित देखिएको छ । विज्ञानमात्र होइन विकसित देशसमेत चिन्ता गर्दैछन् प्रकृतिको संरक्षण गरौँ भनेर । तर, तिनै देश विभिन्न रासायनिक हतियार निर्माण गर्दछन् र मानवतालाई त्रसित पारिरहेका छन् । पृथ्वीका सबै प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित गर भन्छन् विकसित मुलुक । तिनीहरू नै प्रकृतिलाई समाप्त पार्ने उद्देश्य लिएर दौरिडहेका छन् । प्रकृतिमा रहेका सबै वस्तुको बाँच्ने अधिकार छैन र ? प्रकृतिका सबै वनस्पतिको जिउने अधिकार हुन्न र ? बाँच्ने अधिकार मानिसको मात्र हो र ?
कृष्ण प्रकृतिप्रेमी थिए । उनले कर्ममा विश्वास गरे । प्रकृतिको पूजा हाम्रो कर्तव्य ठाने र गोलोकवासीलाई प्रकृतिको पूजा गर्न प्रेरित गरे । यो उनको प्रकृतिप्रतिको मोह र कर्मप्रतिको विश्वास हो । हामी कर्मप्रति पनि असचेत र प्रकृतिप्रति पनि निरङ्कुश बन्यौँ । विकासका नाममा गरिने प्रकृतिविरोधी कामलाई हामीले प्राथमिकताको सूचीमा राख्यौँ । प्रकृतिमा धनी थियौँ हामी । प्रकृतिमा धनी भएकाले नै हामीले विभिन्न देशलाई हाती, गैँडा आदि उपहार दिइरहेका छौँ ।
आजको विकास प्रकृतिविरोधी भयो । आजको उन्नति मानिसको जीवनलाई सुख दिए पनि प्रकृतिको पूजक हुन सकेन । त्यसैले बेलैमा सोचौँ । प्रकृतिलाई मासेर गरिने विकासलाई हामीले बन्द गर्नु आवश्यक छ । आजको मानिस कमजोर भयो । कमजोर भएकै कारण आफ्नो शरीरलाई चाहिने सुखको खोजीमा भौँतारिन खोज्यो । सुख पाउने उद्देश्यमा लागेको मानिसलाई प्रकृति र प्रकृतिबाट प्रदत्त वस्तु वा वनस्पति कमजोर मानिए । आजको मानिसका सबै कर्म र क्रिया प्रकृतिपरक हुन सकेनन् । कृष्ण जत्ति प्रकृतिका उपासक नबने पनि प्रकृतिलाई नमासौँ र प्रकृतिलाई माया गरौँ । प्रकृतिका विरुद्ध हुने सबै कर्मलाई रोकौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच